भुटान-नेपाल सम्बन्धको अर्को पाटो

(0 Votes)
दीपक अधिकारी

लगभग उस्तै भौगोलिक बनावट भएका दक्षिण एसियाका भूपरिवेष्टित मुलुक नेपाल र भुटानबीच शरणार्थी मामिला बर्षौदेखि दुई देशको सम्बन्धमा चिसोपन ल्याउने विषयका रूपमा रहिआएको

छ । तर दुई दसकदेखिको शरणार्थी मामिलाबाहेक दुई देशबीचको सम्बन्धमा कैयौं यस्ता आयाम छन्, जसको उजागर भएको छैन ।

विगत एक शताब्दीदेखि भुटान अविच्छिन्न राजतन्त्र रहिआएको छ भने नेपाल झन्डै अढाई शताब्दी लामो शाहवंशीय राजतन्त्रबाट दुई वर्ष अघिमात्र मुक्त भयो । पश्चिमा र भारतीय अनुसन्धाता र प्राज्ञले एकमुष्ठ अध्ययन गर्ने गरेका तीन हिमाली अधिराज्यमध्ये सिक्किमको सन् १९७५ मा भारतमा भएको विलयले यस क्षेत्रमा दुईमात्र राजतन्त्र रहन पुगेका थिए । सन् १९७० र '८० को दसकमा नेपाल र भुटानका राजतन्त्र बीचको सम्बन्ध अत्यन्त सुमधुर थियो । सिक्किममा राजतन्त्रको पतनपछि त्यतिखेर नेपालको शाहवंशसँग भुटानी वाङचुक वंशले वैवाहिक सम्बन्धसमेत गाँस्ने इच्छा व्यक्त गरेको कतिपय जानकारको भनाइ छ ।

ती दुई दसकमा नेपाल-भुटान बीचको सम्बन्ध कुन स्तरमा थियो भन्ने खुलासा हालका भुटानी राजा ३० वषर्ीय जिग्मे खेसर नामग्याल आफंैले गरे । थिम्पुमा गत वैशाखमा सम्पन्न १६ औं सार्क शिखर सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री माधवकुमार नेपाललाई उनले आफू नेपालमा जन्मिएको बताएका थिए । प्रोटोकल विपरीत प्रधानमन्त्री नेपाल वासस्थानमै पुगेका पाँचौं राजाले काठमाडौंको एक अस्पतालमा जन्मिएको बताएका थिए । उनी जन्मिँदा उनकी आमा रानी थिइनन् । उनका बाबु चौथा राजा जिग्मे सिङ्गे वाङचुकले उनी जन्मिएको आठ वर्षपछि मात्र उनकी आमा छिरिङ योङदोनसहित उग्येन दोर्जीका चार छोरीलाई विवाह गरेका थिए । त्यतिखेर भारतसँग उसको सम्बन्ध त्यति समधुर नभएकाले राजाले आफ्नो उत्तराधिकारीलाई काठमाडौंको अस्पतालमा जन्माउने व्यवस्था मिलाएको हुनसक्ने अनुमान छ । तर यो तथ्य राजा आफैंले मुख नखोलुन्जेल नेपाल र भुटान दुवैतिर गुपचुप राखिएको थियो ।

तर भुटान-नेपाल सम्बन्धको सुरुवात गर्ने श्रेय जान्छ, त्यस देशका एकीकरणकर्ता साब्डुङ नवाङ नामग्येललाई । 'न्याय नपाए गोर्खा जानु' भन्ने उक्तिका प्रवर्तक गोर्खाली राजा राम शाहको पालामा भुटानका पहिलो धर्म राजा -साब्डुङ) नामग्येल गोर्खा आएका थिए । त्यतिखेर भर्खर एक राज्यको रूप लिनथालेको भुटानको रक्षाका लागि उनको अनुरोधमा झन्डै चालीस परिवार नेपाली त्यस देश पठाइएको इतिहासमा उल्लेख छ -अहिले पनि कति शरणार्थी नेताले यसलाई नेपालीको भुटानमा बसोबास साब्डुङकै पालादेखि भएको भन्ने प्रमाणका रूपमा पेस गर्छन्) । त्यस्तै तत्कालीन स्वर्णकालबाट गुजि्ररहेको काठमाडौं उपत्यकाको वास्तुकलाबाट प्रभावित भई उनले नेवार वास्तुकर्मीहरू भुटान लगेको समेत उल्लेख छ । यसले तत्कालीन नेपाली मूर्तिकार अरनिकोको तिब्बत प्रस्थान, त्यहाँ उनले बनाएका पगोडा शैलीका भवन र उनले त्यसैलाई आफ्नो कर्मथलो बनाएको तथ्य स्मरण गराउँछ । नेपाली चेली भृकुटी विवाह गर्ने स्रोङचङ गम्पोको प्रभाव त्यतिखेर भुटानमा समेत थियो ।

भुटान-नेपाल मैत्रीको अर्को मुख्य आधार भुटानको शासक वर्ग ङालोङले अपनाएको बौद्धधर्मको महायान अन्तर्गत ड्रुक्पा काग्यु सम्प्रदायका धार्मिकस्थल नेपालमा हुनु हो । भुटानको सरकारी दैनिक 'क्युन्सेल'को वैशाख २७ को अंकमा काठमाडौंको ड्रुक अमिताभ बौद्ध गुम्बास्थित भिक्षुणी घरमा कुङ्फु सिक्दैगरेकी एक भुटानी भिक्षुणीको कथा प्रकाशित छ । थिम्पुकी १२ वर्षे भिक्षुणी जिग्मे वाङ्चुक ल्हामोले ६ महिनादेखि उक्त गुम्बामा भियतनामी गुरुबाट कुङ्फु सिकिरहेकी छन् । त्यसबाहेक स्वयम्भुमा समेत उक्त सम्प्रदायसँग सम्बन्धित गुम्बा छ ।

तर नागरिक तहको यो आवत-जावत केवल धार्मिक क्रियाकलापमा मात्र केन्दि्रत छैन । भुटानी विद्यार्थीहरू भक्तपुर सानोठिमीस्थित प्राविधिक प्रशिक्षण प्रतिष्ठान -टीआईटीआई) मा शिक्षा हासिल गर्न आउँछन् । हालैमात्र १० जना भुटानीले उक्त संस्थाबाट एक वर्षे प्राविधिक तालिम -डिप्लोमा) लिएका छन् । ती भुटानीहरू आफ्नो देशको विभिन्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम संस्थामा प्रशिक्षकका रूपमा कार्यरत छन् ।

त्यस्तै नेपालबाट कलाकारहरू र विभिन्न एनजीओ/आईएनजीओमा कार्यरत नेपाली त्यस देशको खासगरी राजधानी थिम्पुको भ्रमण गरेर र्फकन्छन् । भुटानकी रानी आमा दोर्जी वाङ्मो वाङचुक र त्यहाँका लागि भारतीय राजदूत लेखक पवनकुमार बर्माको अग्रसरतमा भएको पहिलो साहित्यिक महोत्सव 'माउन्टेन इकोज'मा भाग लिएर फर्किएका एक अंग्रेजी साप्ताहिकका स्तम्भकारले केही अघि प्रकाशित आफ्नो स्तम्भमा शरणार्थी मामिला उल्लेख नगरी त्यस अधिराज्यको प्रगतिको प्रशंसा गरेका छन् । 

जलस्रोतका धनी दुवै देशले आर्थिक क्षेत्रमा धेरै सम्भावना बोकेका छन् । भुटानले आफ्नो जलविद्युत भारतलाई बेचेर उल्लेख्य प्रगति गरिसकेको छ, तर यो कुरा हामीकहाँ केवल नारामा सीमित छ । कतिपय नेपाली हाइड्रो पावरसम्बद्ध संस्थाले आफ्ना जनशक्तिलाई भुटानका आयोजनामा समेत लगाएका छन् । तर दुई देशबीचको व्यापारको सम्भावनाबारे पर्याप्त खोजबिन हुनसकेको छैन । गत वैशाखको सोह्रौं सार्क सम्मेलनका दौरान नेपाल र भुटानबीच भएको पहिलो द्विपक्षीय व्यापार वार्तालाई यस क्षेत्रमा अघि बढ्ने पहिलो कदमका रूपमा लिन सकिन्छ ।

नेपाल-भुटान सम्बन्धको आधार प्राचीन भएपनि दुई देश बीचको कूटनीतिक सम्बन्ध सन् १९८३ को जून महिनामा मात्र स्थापित भएको थियो । चौथा राजा वाङचुकले सन् १९८७ मा नेपालको भ्रमण गरेका थिए भने त्यसको एक वर्षपछि अक्टोबर महिनामा स्वर्गीय राजा वीरेन्द्रले भुटानको औपचारिक भ्रमण गरेका थिए । तर त्यसयता अधिकांश दुईपक्षीय भ्रमणको केन्द्रमा शरणार्थी मामिला रहने गरेको छ । शरणार्थी समस्या गम्भीर छ, त्यसको समाधानका लागि भुटानको भूमिका अहम् हुन्छ । तर यही मुद्दाका कारण द्विपक्षीय सम्बन्धका अन्य विषयलाई गौण बनाइनु हुन्न । deepak.adhikari@gmail.com

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।