च्याब्रुङपछि पूर्वलाहुरे

(1 Vote)
प्रदीप मेन्याङ्बो

धरान, जेष्ठ १८ - नयाँ पुस्ता पाश्चात्य संगीतमा झुम्न थालिरहेका बेला एक लाहुरेले भने मौलिक बाजाको संवर्द्धनमा दिलोज्यान दिएका छन् । धरान-१५ बाँझगराका मोहन हुक्पाचोङवाङ लिम्बू जातिको लोकबाजा च्याब्रुङलाई युवापुस्तामा चिनाउन क्लबै खोलेर लागिपरेका छन् ।

'आजकालका केटाकेटी हिपहप, र्‍याप र पपमा हराउन थालेका छन्,' ५४ वर्षेले भने, 'च्याब्रुङ संगीत सिकाउन उनीहरूलाई भेला गरेर बाजा बनाउन, बजाउन र यसको तालमा नाच्न पनि सिकाउने गर्दै छु ।' यसका लागि उनले पूर्व तिनजुरे च्याब्रुङ क्लब खोलेका छन् । च्याब्रुङ नृत्यलाई व्यावसायिक बनाएर आन्तरिक र बाह्य पर्यटनमा सघाउने उनको मनसुबा छ । 'भएको सीप र कला उपयोग गर्दा सांस्कृतिक पर्यटनमा परिवर्तन ल्याउन सकिन्छ,' उनले सुनाए, जसमा असहमत हुन सकिन्न ।

हुक्पाचोङवाङ विदेशमा समेत च्याब्रुङको विस्तारमा लागिपरेका छन् । आफूले बनाएका च्याबु्रङ बाजा सिंगापुरको लिम्बू सांस्कृतिक समारोहदेखि बेलायत, क्यानाडा, हङकङ र अमेरिकाका नेपाली बस्तीमा समेत बज्ने गरेको उनले सगर्व सुनाए ।  लिम्बू जातिका विवाह, चाडपर्व, चारकलम वा गृहप्रवेश जस्ता शुभकार्यमा च्याबु्रङको विशेष महत्त्व हुन्छ ।

आजकाल च्याब्रुङ बनाउने लिम्बूहरू फेला पार्न मुस्किल भइरहेका बेला हुक्पाचोङवाङले दुर्लभ कालिगढ भएका छन् । 'एक दशकदेखि यो काममा लागेको

छु,' उनले भने । उनी काम नपाएर यता लागेका भने होइनन् । उनी दर्जन संघसंस्थामा संलग्न छन्, बि्रटिस गोर्खा भर्तीको पूर्वाञ्चल गल्ला संयोजक पनि हुन् । यो व्यस्तताले उनलाई मौलिक बाजा संवर्द्धनमा बाधा पुर्‍याएको छैन । 'पाएको फुर्सद च्याब्रुङलाई दिने गरेको छु,' आफूले बनाएका आधा दर्जन च्याब्रुङ देखाउँदै उनले भने, 'बेलायती सेनामा भर्ना भएकाले बैंसमा आफ्नो मुलुक र जातिका लागि खासै केही गर्न नसके पनि रिटायर्ड लाइफ सांस्कृतिक संरक्षणमा लगाएको हुँ ।'  

लिम्बू जातिले परम्परागत रूपमा बजाउँदै आएको च्याब्रुङको बनावट पाश्चात्य र पूर्वीय शास्त्रीय वाद्यवादनसँग मिले पनि धुन पृथक् हुने उनको ठम्याइ छ । च्याब्रुङ बनाउन पनि सजिलो छैन ।

'यसको बनावट बाहिरबाट हेर्दा ड्रमसेट र ढोलसँग मिल्छ,' उनी गुरु बने, 'तर धुन निकाल्न दुुवै पाटाको सम्बन्ध जोड्ने गरी च्याब्रुङभित्र छालाको डोरी र चाबी हालिएको हुन्छ ।'  

च्याब्रुङको धुन लिम्बू संस्कृतिमा आधारित हाक्पारे, पालाम, ख्याली गायनका लागि अत्यावश्यक हुन्छ । पछिल्लो समयमा गिटार र अन्य आधुनिक वाद्यवादनसँग मिलाउन प्रयास भइरहेको उनले बताए ।

मुन्धुम अनुसार हङसङ (खमारी), आङसङ (सल्ला) र साङसङको काठलाई खोपेर दुईतिर ढ्वाङ बनाउने गरिन्छ । दुईतिरको खुल्ला भागलाई गाई-गोरु र बाख्राको छालाले विशेष रूपले मोडेर च्याब्रुङ बन्ने हुक्पाचोङवाङले जानकारी दिए ।

अवकाश पाउनुअघि उनी बेलायतको रोयल मिलिटरी एकेडेमीमा आयोजित प्रतियोगितामा च्याब्रुङ बजाउँदै छालाको ढोलबाट विभिन्न आवाज निकाल्दै नाच्थे रे । 'बि्रटिस हलमा च्याब्रुङ ध्वनि सुनेर विदेशीहरू अचम्म मात्रै मान्दैनथे, मनलाई आकषिर्त गरिरहन सक्ने बाजा भनेर प्रशंसा पनि गर्थे ।'

आधुनिक सभ्यतामा रमाउनेहरूबाटै यस्तो सकारात्मक प्रतिक्रिया सुनेपछि उनी च्याब्रुङ संरक्षणमा लागिपरेको बुझ्न गार्‍हो छैन । यसको फाइदा आखिर आफ्नै संस्कृतिलाई मिलिरहेको छ ।

प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०८:४६

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।