विराटनगर शीर्षस्थानमा

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, जेष्ठ १८ - डिफेन्डिङ च्याम्पियन काठमाडौंलाई पराजित गर्दै विराटनगर पेप्सी ट्वान्टी-ट्वान्टी राष्ट्रिय क्रिकेट लिगको शीर्ष स्थानमा उक्लेको छ । दुई खेलबाट ४ अंक जोडेको क्षेत्र नम्बर, १ विराटनगरले क्षेत्र नम्बर-३, काठमाडौंमाथि ४ रनको रोमाञ्चक जित दर्ता गर्‍यो ।

विराटनगरले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको काठमाडौंले नौ विकेट क्षतिमा १ सय ९ रनमात्र बनायो ।

काठमाडौंले १२ रन जोड्दा सुरुआती ३ विकेट गुमायो । परेश लोहनी ७ रन जोड्दा मञ्जित श्रेष्ठको बलमा एलबीडब्लूको सिकार बने । त्यस्तै, ४ रन जोडेका सञ्जय श्रेष्ठ सन्तोष बरालको हातबाट समातिए भने खाता नखोल्दै दीपेन्द्र चौधरी कट एन्ड बोल्ड भए ।

त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ४९ रनको साझेदारी गर्दै टिमलाई केही उकासे । कप्तान पारसले ३१ तथा ज्ञानेन्द्रले १८ रन जोडे ।

काठमाडौं ६९ रन जोड्दा ५ विकेट गुमाएर दबाबमा थियो । तर रिकेश लामाले १३ र सुनम गौतमले २१ रन जोड्दै टिमलाई अघि बढाएका थिए ।

अन्तिम ओभरमा आवश्यक १० रन बनाउन नसकेपछि काठमाडौंले हार बेहोरेको थियो । विराटनगरका अजय राजवंशीले अन्तिम ओभरमा ६ रनमात्र खर्चे । अन्तिम ओभरको पहिलो बलमा सुनाम गौतमले छक्का प्रहार गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । तर त्यसपछि काठमाडौंले सुनामको विकेट गुमायो भने कुनै रन जोड्न सकेन । विराटनगरका लागि 'प्लेयर अफ द म्याच' मञ्जितले चार विकेट लिए ।

यसअघि विराटनगरले ७ विकेट क्षतिमा १ सय १३ रन बनाएको थियो । उसका लागि अजय राजवंशीले ३२ तथा पुष्प थापाले २९ रन जोेडे । मञ्जितले १४ रनको योगदान दिए भने महबुब आलमले १० रन जोडे ।

अर्को खेलमा विनोद दासको अलराउन्ड प्रदर्शन मदतले क्षेत्र नम्बर-२, वीरगन्जले क्षेत्र नम्बर- ५, नेपालगन्जमाथि ४ विकेटको जित हात पार्‍यो ।

विजयी टिमका कप्तान विनोदले २ विकेट लिनुका साथै नटआउट ३२ रन जोडेका थिए । पहिले ब्याटिङ गरेको नेपालगन्जले १६ ओभर २ बलमा अलआउट हुँदै ८१ रनमात्र बनायो । उसका सन्दीप श्रेष्ठले १५ तथा रूपेश शर्माले १३ रन जोडे ।

वीरगन्जका लागि विनोदबाहेक, सञ्जम रेग्मी, राज मोहम्मद र राहुलप्रताप सिंहले दुई/दुई विकेट बाँडे ।

प्रत्युत्तरमा वीरगन्जले १७ ओभर ५ बलमा जित हात पार्‍यो । सामान्य सुरुआत गरेको वीरगन्जले २७ रन जोड्दा ४ विकेट गुमाएको थियो । तर विनोद र सञ्जमले ५३ रनको साझेदारी गर्दै टिमलाई जितनजिक पुर्‍याए ।

टिमले ८० रन जोड्दा सञ्जम व्यक्तिगत १४ रनमा आउट भए । त्यसपछि दुई रन जोड्न वीरगन्जले अर्को विकेट पनि गुमायो । विनोदले २२ बलमा ४ छक्का तथा एक चौका प्रहार गरे । नेपालगन्जका सन्दीप र निर्मल केसीले २/२ विकेट बाँडे । अब, मंगलबार भैरहवा र बैतडी तथा विराटनगर र वीरगन्जबीच खेल हुँदैछ ।

 

प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०८:४१

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।