चार वर्षमा स्वस्थ भयो लुम्बिनी बैंक

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, जेष्ठ १८ - वित्तीय अवस्था नाजुक भएर समस्याग्रस्त बनेको लुम्बिनी बैंकले चार वर्षको अवधिमै सबै वित्तीय परिसूचकमा उल्लेख सुधार गरेको छ । बैंकमा देखिएको सुधार पछि केन्द्रीय बैंकले लगाएको सम्पूर्ण प्रतिबन्धसमेत फुकुवा गरेको छ ।

अधिकांश कर्जा नउठ्ने अवस्थामा पुगेको यस बैंकमा नयाँ व्यवस्थापनले १ खर्ब २० करोड रुपैयाँ नगद असुल गरेको जनाएको छ । सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै बैंकको खराब कर्जा अनुपात झन्डै ४ प्रतिशतमा झरेको प्रमुख कार्यकारी अधिकृत सोहनदेव पन्तले जानकारी दिए । 'हामीले व्यवस्थापन लिँदा ४० प्रतिशत रहेको खराब कर्जा अनुपात ४ दशमलव ६६ प्रतिशतमा झरेको छ,' उनले भने । पन्तसहितको नयाँ व्यवस्थापनले चार वर्षअघि बैंक सम्हालेको थियो ।

खराब कर्जा असुलीका क्रममा तत्कालीन कर्जा लिएर नतिर्ने प्रवर्द्धकहरूको सेयर कब्जा गरेर बिक्रीसमेत गरिएको जानकारी उनले दिए । पन्तका अनुसार मल्ल प्रेस र माउन्ट एभरेस्ट ब्रुअरीको नाममा रहेको सेयर बिक्री गरिएको थियो । 'सेयर बिक्री गरेरै भए पनि असुल गर्‍यौं,' उनले भने, 'संस्थागत सुशासन कायम राख्न सके स्वदेशी व्यवस्थापनले पनि सुधार गर्न सकिने उदाहरण दिन सकेका छौं ।'

लुम्बिनी बैंकजस्तै समस्यामा रहेका दुई सरकारी बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको विश्व बैंकबाट ऋण लिई सुधार प्रक्रिया सुरु गरिएको छ । यी बैंकलाई सुरुमा विदेशी व्यवस्थापनले सम्हालेको थियो ।

लुम्बिनी बैंकले पुँजी पर्याप्तता अनुपातलाई पनि राम्रो सुधार गरेको दाबी बैंकको छ । २०६३ मा १३ दशमलव ९३ प्रतिशत ऋणात्मक रहेकामा यस वर्षको चैतमा २४ दशमलव २३ प्रतिशतले धनात्मक भएको छ । यसले बैंकको जोखिम बहन गर्न सक्ने क्षमता देखाउँछ । राष्ट्र बैंकका अनुसार यो अनुपात १० प्रतिशत भए पुग्छ । 'पुराना वाणिज्य बैंकमा हाम्रो सबैभन्दा धेरै हो,' पन्तले भने ।

यसैगरी बैंकको नेटवर्थ पनि १ अर्ब ४४ करोड रुपैयाँले धनात्मक भएको छ । २०६३ मा नेटवर्थ ७० करोड रुपैयाँले ऋणात्मक थियो । नयाँ व्यवस्थापनको पहलमा १ अर्ब २२ करोड रुपैयाँले ऋणात्मक रहेको जगेडा कोष पनि १५ करोड रुपैयाँले धनात्मक भएको छ ।

बैंकले ३० प्रतिशत तरलता कायम गरेको जनाएको छ । राष्ट्र बैंकका अनुसार यो अनुपात कम्तीमा २० प्रतिशत हुनुपर्छ । 'तरलताको यस्तो अभाव हुँदा पनि ३० प्रतिशत कायम राख्नसक्नु उपलब्धि हो,' पन्तले भने ।

कार्यक्रममा सुरुमा बैंक सुधार हुनेमा आफू धेरै आशावादी नभए पनि हालको प्रगतिले उत्साहित बनेको अध्यक्ष प्रकाश श्रेष्ठले बताए । 'त्यतिबेला हामीसँग गर वा मरको अवस्था थियो,' उनले भने, 'अहिले राम्रो प्रगति भएको छ ।'

 

प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०८:३३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।