गर्भवतीको पूर्वसूचनाले रोजगारी गुम्यो

(3 Votes)
होम कार्की

काठमाडौ, जेष्ठ १८ - ब्रिटिस स्कुलकी एक शिक्षिकाले आफू गर्भवती भएको पूर्वसूचना दिँदा रोजगारी गुमाउनु परेको छ । ३२ वर्षीया बेलायती शिक्षिका रोलयान्डस् हाइडीले आफू १० हप्ताको गर्भवती रहेको पूर्वसूचना विद्यालय व्यवस्थापनलाई दिएकी थिइन् ।

उनले जानकारी दिएको दुई दिनपछि वैशाख २९ गते विद्यालय व्यवस्थापनले आगामी असोज २१ बाट हटाउने निर्णय गरेको हो । उक्त महिनामा उनी सुुत्केरी हुने समय हो ।

तीन वर्षे करारमा नियुक्ति पाएकी उनले उक्त विद्यालयमा एक वर्षदेखि गणित विषय पढाउँदै आएको जनाएकी छन् । बेलायती राजदूत संरक्षक रहेको उक्त विद्यालयको व्यवस्थापनलाई श्रम अदालत काठमाडौंले हाइडीलाई सेवाबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । श्रम अदालतका न्यायाधीश अग्निप्रसाद थपलियाको इजालासले 'स्कुल व्यवस्थापनबाट गर्भवती भएकै कारणले उनलाई हटाएको' स्पष्ट पारेको छ ।

ती शिक्षिकाले 'आईएलओ महासन्धि-१८३ को मातृत्व संरक्षण महासन्धि, नेपालले अनुमोदन गरेको महिलाविरुद्ध सबै प्रकारको भेदभाव उन्मूलन महासन्धि र वर्तमान नेपालको श्रम ऐनलाई टेकेर' रोजगारीको पुनर्बहालीको माग गर्दै श्रम अदालतमा मुद्दा हालेकी हुन् । उनलाई नेपालको श्रम कानुनअनुसार रोजगार पत्रमा सम्झौता गराइएको हुँदा यहाँको श्रम अदातलमा जान बाटो खुलेको हो ।

अदालतले स्कुललाई नेपालको श्रम कानुनसमेत लागू हुने आदेश दिएको छ । अदालतद्वारा जारी अन्तरिम आदेशमा भनिएको छ, 'महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन महासन्धि-१९७९, आईएलओको महासन्धि-१८३ विपरीत भएकाले मुद्दाको टुंगो नलागेसम्मका लागि सुत्केरी बिदाको अवधिमा अस्थायी पदपूर्ति गर्नेबाहेक निवेदिकाको करार अवधिमा स्थायी पदपूर्ति नगर्नु र नगराउनु ।'

अदालतको निर्णयपछि हाइडीले भनिन्, 'म र मेरो बच्चाको सुरक्षाका लागि अदालतले जुन निर्णय गरेको छ, त्यसप्रति निकै खुसी छु ।'

कानुनी व्यवसायी तथा टे्रड युनियनहरूले स्कुलको यो कार्य 'युरोपियन चार्टट' विपरीत भएको प्रतिक्रिया दिएका छन् । 'स्कुलले युरोपियन चार्टटविपरीत गई गर्भवती महिला भएकै कारण सेवाबाट हटाउनु निकै लज्जास्पद हो,' श्रमसम्बन्धी वकालत गर्दै आएका जिफन्टका सचिव रमेश बडालले भने ।

अध्यापन भिसामा ढेड वर्षअघि बिटि्रस विद्यालयमा आएकी हाइडीले वाषिर्क २५ हजार पाउन्ड तलबमा तीन वर्षे करार सेवामा रोजगारी पाएकी थिइन् । करारपत्रमा गर्भवती भएमा रोजगारीबाट बर्खास्ती नहुने, नियमानुसार बिदा र सेवा पाइने उल्लेख छ । विद्यालयकी पि्रन्सिपल स्यान्ड वाइल्र्डस्पिनले हाइडीलाई अहिलेसम्म कामबाट नहटाएको दाबी गरिन् ।

'हाइडी अहिलेसम्म पढाउने काम गरिरहेकी छन्,' उनले कान्तिपुरसँग भनिन्, 'उनलाई रोजगारबाट हटाइएको छैन ।' हाइडीलाई असोज २१ बाट लागू हुने गरी हटाउने निर्णय गरिएको थियो ।

 

प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०८:२६

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।