बसाइँ सर्ने घटेनन्

(1 Vote)
सुरज कुँवर

काठमाडौ, जेष्ठ १८ - बढ्दो सामाजिक असुरक्षा, आर्थिक मन्दीको प्रभाव, बालबालिकाको भविष्य र रोजगारको अवसर खोज्दै काठमाडौं महानगर र वरिपरिका गाविस सर्नेको संख्या यो वर्ष पनि घटेन ।

महानगरको पन्जिका शाखाका अनुसार अघिल्लो वर्ष (०६६) मा काठमाडौं महानगरमा २ हजार २ सय ३६ परिवारले बसाई-सराइ दर्ता गरेका छन् । त्यसमा ७ हजार १ सय ६४ व्यक्ति काठमाडौं सरेका हुन् । काठमाडौं सर्नेमा पूर्वी तराईमा व्यापार गरिरहेका नेवार समुदाय बढी छन् ।

शाखाका पन्जिकाधिकारी धुव्रबहादुर कार्कीका अनुसार राजधानीबाट करिब दुई पुस्ताअघि व्यापार, जागिर र खेतीपातीको सिलसिलामा तराई लगायत केही पहाडी सदरमुकाम सरेका यतिबेला सुरक्षित हुन 'थातथलो' राजधानी फर्किरहेका छन् ।

व्यापार, व्यवसाय, घर जग्गा बेचबिखन गरी फर्किने अधिकांश नेवार समुदाय काठमाडौं महानगर लगायत ललितपुर, भक्तपुर, बेनेपा, साँखु आदि स्थानबाट मोफसलतिर लागेका थिए ।

कार्कीका अनुसार बसाइँ सर्नेमा अधिकांश नेवार समुदाय तराई र पूर्वी पहाडतिरबाट पछिल्लोपटक जातीय पहिचानको संघर्षबाट उम्किँदै उपत्यका फर्किरहेका हुन् । तीन महिनाअघि मध्यतराईबाट सशस्त्र समूहको त्रासका कारण पहाडी मूलका बाहुन, खस क्षेत्री र जनजाति राजधानी सर्दै आएका थिए ।

शान्ति प्रक्रियाअघि राजधानी सर्नेमा माओवादीद्वन्द्वको प्रभावमा परेका मोफसलका राजनीतिज्ञ, व्यवसायी, व्यापारी लगायतका हुन्थे । अघिल्लो वर्ष (०६५) मा ८ हजार ३ सय २७ र त्यसअघि ०६४ मा ७ हजार १ सय ४८ व्यक्ति काठमाडौं महानगरभित्र बसाइँ सरेका थिए । यतिबेला पूर्वी, मध्य र सुदूरपश्चिमी पहाडबाट बसाइँ सर्ने त्यहीका रैथानेको संख्या भने न्यून छ ।

द्वन्द्वबाहेक केही आर्थिक तथा भौतिक दृष्टिले मुलुकको ठूलो सहर भएको, सरकार, विभिन्न मन्त्रालय/निकायसँग सीधै पहुँच राख्न सकिने अवसर र अन्य सहरमा भन्दा स्रोत साधनको उपलब्धता भएका कारणले पनि बसाइँ सरिरहेका छन् ।

महानगरको नाता प्रमाणित इकाईका अधिकृत सुमन अधिकारीका अनुसार काठमाडौंमा घर बनाउनेमा अधिकांश सरकारका उच्चतहका पदाधिकारी, सचिव, राजस्व अधिकृत, सेना र प्रहरी उच्चतहका कर्मचारी, मोफसलका व्यापारी, बेलायती अवकास प्राप्त सेना, जापान, अमेरिका, बेलायत लगायतका विकसित मुलकमा कार्यरत नेपाली अधिक छन् ।

तर, खाडी लगायतका मुलुकमा मजदुरी गरिरहेका अधिकांश नेपाली र पूर्व भारतीय सेना प्रायः काठमाडौंमा बस्दैनन् । उनीहरूको आर्थिक क्षमताले काठमाडौं सहरभित्र घरजम गर्न जटिल भएकाले थातथलोबाट सदरमुकाम, नजिकैको सहर वा राजमार्ग छेउमा बसाइँ सरिरहेका छन् ।

त्यसैगरी शान्ति प्रक्रियापछि राजधानीमा रहेका मोफसलका नेता र कार्यकर्ता गाउँ फर्किने क्रम जारी छ । महानगरका अनुसार पछिल्लोपटक गाउँगाउँमा खुलेका उच्च माविका कारण पनि राजधानीमा अध्ययनका लागि सर्ने विद्यार्थी घट्दै गएका छन् । तर राजधानीमा केन्दि्रत बैंकिङ, डिर्पाटमेन्ट स्टोर, अधिकृत तयारी लगायतका सीपमूलक तालिम केन्द्र रहेकाले रोजागारको खोजीमा मोफसलबाट सहर आउनेको संख्या भने घटेको छैन ।

अधिकारीको अध्ययनअनुसार पछिल्लो वर्ष काठमाडौं सहरको घना बस्तीबाट उपत्यका वरिपरिका गाविस सर्नेको संख्या भने बढेको छ । सहरभित्रको सवारी जाम, खानेपानी र फोहोरको समस्याबाट छुटकारा पाउन हरियाली खोज्दै डाँडा र वन भएका मातातीर्थ, सीतापाइला, गंगोबु, धापासी, बुढानीलकण्ठ, साँखु, ललितपुरको सैंबु, धापाखेल लगायतका गाविसमा सर्नेको संख्या २०६६ सालमा करिब ५ सय परिवारको हाराहारीमा छ ।

महानगरका अनुसार 'भूमिगत पानीका मुहान सुक्दै गएको र भूकम्पको जोखिममा रहेको काठमाडौंबाट ललितपुर र वरिपरिका गाविसतिर बसाइँ सर्नेको संख्या बढेको छ ।

'सहर बाहिर जानेहरू सौखिन घरानाका छन्,' अधिकारीले भने, 'प्रायः साँधुरा गल्लीमा रहेका महँगा घर बिक्री गरी कम्पाउन्ड भएको खुला आँगन, बगैंचा खोज्दै उनीहरू सर्छन् । स्थानीय विकास मन्त्रालयका अनुसार अघिल्लो वर्ष देशभर २१ हजार ३ सय ४० परिवारले एक जिल्लाबाट अर्को जिल्ला बसाइँ सरेका थिए । त्यसमा राजधानी र मोफसलका सहर सर्नेहरूको बाहुल्य छ ।

 

प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०८:२३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।