भारतले कोसीको धार फर्कायो
सहयोगी लिङ्कहरू
काठमाडौ, जेष्ठ १८ - नेपाललाई थाहै नदिई नेपाली भूमिमा भारतले कोसीको धार बदल्न सुरु गरेको पाइलट च्यानलिङ कार्य अन्ततः पूरा गरेको छ । यसबाट दक्षिण पूर्वी सप्तरीका झन्डै एक दर्जन गाउँ वर्षायाममा डुबानको उच्च जोखिममा परेका छन् । यसबारे स्थलगत अध्ययन गर्न सिँचाइ विभागका उपमहानिर्देशक शिवकुमार शर्माको टोलीले तयार पारेको प्रतिवेदनमा पाइलट च्यानलिङ कार्य पूर्णरूपमा सम्पन्न भएको उल्लेख छ ।
उपमहानिर्देशक शर्मासहितको उच्च प्राविधिक टोली गत शुक्रबार कोसी क्षेत्र गई आइतबार र्फकेको थियो । सिँचाइ विभाग स्रोतका अनुसार भारतले नेपालको पूर्वसहमति नलिइकन कोसी ब्यारेजको ढोका नं. २८ (मध्य भाग) देखि पाइलट च्यानल बनाएको छ । ब्यारेजदेखि कोसीको मध्यभागमा पर्ने नेपाली भूभाग गोबरगाढा गाविसम्म सीधा र त्यसबाट पश्चिमतर्फ नेपाली भूभागमा उक्त च्यानल सोझ्याएको प्रतिवेदनमा उल्लेख छ ।
भारतले ब्यारेजदेखि करिब साढे चार किलोमिटर लामो कोसीको पानी डोर्याउने च्यानल बनाएको हो । यसबाट कोसीमा आउने पानी सोही च्यानलमार्फत बगेर थप बाटो बनाएमा नेपालतर्फका सीमा क्षेत्रमा बाढी पस्ने निश्चित छ ।
तीन महिनादेखि भारतले एकलौटी रूपमा कोसीको मध्यभागमा काम गर्दा पनि नेपाल सरकारका सम्बद्ध अधिकारीलाई थाहा दिइएको थिएन, न त नेपाल सरकारले थाहा पाएको थियो । अघिल्लो साता कान्तिपुरमा यसबारे समाचार प्रकाशित भएपछि सिँचाइ मन्त्रालयले भारतीय दूतावासलाई उक्त कार्यप्रति आपत्ति जनाएको थियो ।
सरकारले दूतावासलाई पत्राचार गर्दा भारतको केन्द्रीय सरकारले उक्त कार्य पूरा गरिसकेको भ्रमण टोलीका एक सदस्यले कान्तिपुरलाई जानकारी दिए । सरकारले नेपालको सहमतिबेगर भएको, नेपाली भूभागमा खनेको र यसले नेपाली भूभागलाई डुबानमा पार्ने सम्भावना देखिएकाले उक्त कार्य तत्काल रोक्न पत्राचार गरेको थियो ।
विभागका एक अधिकारीका अनुसार नेपाल सरकारले आपत्ति जनाएर पत्र लेखेपछि दूतावासले कुनै जवाफ दिएको छैन । उसले एक पाना नक्साको फोटोकपी उपलब्ध गराएको छ, जसलाई उसले 'मोडलिङ टेस्ट रिपोर्ट' भनेको छ । कोसी र गण्डकको संयुक्त समितिका विभिन्न बैठकमा भारतले कोसीमा पाइलट च्यानल बनाउने इच्छा नेपाली पक्षलाई जाहेर गरेपछि नेपाली अधिकारीले मोडलिङ टेस्टको रिपोर्ट हेरिसकेपछि आवश्यक परेमा गर्न दिने सहमति जनाएका थिए ।
तर मोडलिङ टेस्ट नगरिकन भारतले एक पाना कागज उपलब्ध गराएर त्यसलाई रिपोर्ट हो भन्ने आशयको फोटोकपी पठाएकोमा सिँचाइका अधिकारीहरू आश्चर्यचकित भएका छन् । 'मानौं हामीलाई मोडलिङ टेस्ट भनेको थाहै छैन जस्तो गरी उसले -दूतावास) ले एक पाना कागज पठाएको छ,' विभागका एक अधिकारीले सोमबार कान्तिपुरसित भने ।
कोसीमा रहेको कति क्युसेक पानीको दिशा बदल्दा कटान तथा डुबान समस्या कस्तो हुन्छ भन्ने परिणाम देखाउने परीक्षण नै मोडलिङ टेस्ट हो ।
भारतले दुई वर्षअघि कोसी फुट्दा यसको धार बदल्न त्यतिखेरै नेपाली भूभागमा पाइलट च्यानल बनाउन प्रस्ताव गरेको थियो । उसको प्रस्तावलाई नेपालले ठाडै अस्वीकार गरिदिएको थियो । बिहारमा पर्ने कोसी संरचनाका सबै मर्मत, सम्भार तथा नयाँ निर्माण कार्य केन्द्र सरकारले गर्दै आएको छ । सन् २००२ को नोभेम्बरमा चर्चित पृथ्वीको नक्सा देखाउने गुगलको तस्बिरमा कोसीको धार पूर्व -भारत) तर्फ सोरिएर बगेको र पश्चिम -नेपाल) तर्फ बालुवाको थुप्रो रहेको देखिन्छ । उक्त पाइलट च्यानल बनेपछि कोसीको अधिकांश पानीको धार नेपालतर्फ र बालुवाको ढिको भारततर्फ हुने निश्चित छ ।
करिब १० किलोमिटर लामो दुवैतिरका तटबन्धमध्ये जता बालुवा थुपि्रन्छ उतैको भाग कोसीको बाढीबाट सुरक्षित हुन्छ । अहिले ब्यारेजदेखि गोबरगाढासम्म मध्यभाग र गोबरगाढाबाट पश्चिम (नेपाल) तर्फ पाइलट च्यानल बनेकाले तटबन्ध वरपरका सप्तरीका सीमावर्ती अधिकांश गाउँ डुबानमा पर्ने टोलीका सदस्यले जानकारी दिए ।
भारतले पाइलट च्यानल बनाउँदा दायाँबायाँ बगेको पानीलाई समेत थुनेर च्यानलमै छिराएको छ । यसबाट सप्तरीको भारदह, जोगनिया, हनुमाननगर, इनरुवा, रम्पुरामल्हानिया, सकरपुरा, गोबरगाढा, तिलाठी, लौनियालगायतका एक दर्जन गाउँ डुबानमा पर्ने उच्च जोखिम छ ।
दुई देशबीच सीमावर्ती क्षेत्रमा कुनै एक पक्षले निर्माण कार्य गर्नुपर्दा पूर्वअनुमति लिनुपर्ने सामान्य अन्तर्राष्ट्रिय मान्यतालाई समेत बेवास्ता गर्दै भारतले नेपालमा तरल राजनीतिक स्थिति रहेका बेला उक्त कार्य गरेको सिँचाइ मन्त्रालयका अधिकारीहरूले टिप्पणी गरेका छन् । 'पाइलट च्यानलबाट के असर पर्छ भन्ने अर्काे पक्ष हो,' सिँचाइ विभागका उपमहानिर्देशक शिवकुमार शर्माले प्रतिक्रिया दिँदै सोमबार कान्तिपुरसित भने, 'प्रक्रियागत हिसाबले भारतले गरेको यो कार्य गलत छ, दुई देशबीचको विषय भएका हुनाले छलफल हुनुपथ्र्याे ।'
प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०८:१७
















तपाईंको प्रतिकृया