युनिटी प्रकरण:सर्भर खोल्न नसकेको बहाना
सहयोगी लिङ्कहरू
काठमाडौ, जेष्ठ १८ - सरकारी अधिकारीहरूले नियतवश तीन सातासम्म युनिटीको सर्भर नखोलेको आशंका जानकारहरूले गरेका छन् । सूचना प्रविधि क्षेत्रका विज्ञहरू सर्भरको पासवर्ड नभए पनि सजिलै खोल्न सकिने बताउँछन् ।
'नेपालमा धेरै ह्याकर छन्,' राष्ट्रिय सूचना केन्द्रका पूर्वकार्यकारी निर्देशक सुवर्ण शाक्यले भने, 'तर उनीहरू आफू ह्याकर हुँ भनेर बाहिर आउन चाहँदैनन् । सुरक्षाको अवस्था सिर्जना गरिदिए उनीहरूले सजिलैसँग काम गर्न सक्छन् ।' राजस्व अनुसन्धान विभागले सर्भर नियन्त्रणमा राखे पनि खोल्न खासै पहल नगरेको ललितपुरको स्थानीयस्तरमा
गठित छानबिन टोलीका एक सदस्यले बताए ।
सर्भर खुलेर पारदर्शी ढंगले छानबिन भए युनिटीका सदस्य भएका उच्च राजनीतिक नेतृत्व, कर्मचारी, प्रहरी, समाजमा प्रतिष्ठित भनेर चिनिएकाहरूको नाम बाहिर आउने छ । ँत्यही भएर सर्भर खोल्ने प्रयास नभएको हुनसक्छ,’ समिति सम्बद्ध स्रोतले भन्यो ।
सरकारले नियन्त्रणमा लिएका युनिटीको मुख्य सर्भर विभिन्न तरिकाबाट ह्याक गरी त्यसको डाटामा पहुँच पुर्याउन सकिने उनीहरूको भनाइ छ । सर्भर ह्याकका लागि सरकारलाई प्रविधि समस्या आउँदा सहयोग गर्न खडा गरिएको प्रमाणीकरण नियन्त्रकको कार्यालयले पनि काम गर्न सक्छ ।
नेपालका प्रायः सर्भरले धेरै सुरक्षात्मक उपाय अवलम्बन नगरेकाले सजिलै ह्याक हुन्छन् । धेरै सुरक्षित बनाइएका सर्भर पनि विभिन्न तरिकाबाट ह्याक गर्न सकिन्छ । शाक्य नेपालका ह्याकर बाहिर देखिन नचाहने भए पनि भारतमा धेरै जानकार ह्याकर भएको बताउँछन् । 'उनीहरूलाई ल्याएर पनि छिट्टै यो काम गर्न सकिन्छ,' उनले भने ।
'कति सहजै ह्याक हुन्छ भन्ने कुरा डाटा कसरी स्टोर गरिएको छ भन्नेमा भर पर्छ,' इन्टरनेट सुरक्षाविज्ञ सरोज लामिछाने भन्छन्, 'यो गाह्रो काम होइन ।'
सरकारी वा संस्थागत वेबसाइट कसैले ह्याक गरेमा तत्काल मोबाइल टोली खटाएर सहयोग गर्ने घोषणा गरेको प्रमाणीकरण नियन्त्रण कार्यालयलाई छानबिन अधिकारीले जानकारीसम्म गराएका छ्रैनन् ।
'जानकारी दिए अध्ययन गरेर तथ्यांकमा पहुँच पुर्याउन हामी काम गर्छौं,' विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीले भने, 'विभिन्न ह्याक गर्ने सफ्टवेयरको सहायता पनि लिन सकिन्छ ।'
युनिटीले पिरामिड शैलीको नेटवर्किङ व्यापारमार्फत सदस्य बनाउने भन्दै जनही १५ हजार रुपैयाँ उठाउने गरेको थियो । स्वदेश र विदेशमा गरी ६ लाख ५० हजार सदस्य रहेको कम्पनीका पदाधिकारीले बताउने गरेका छन् । पक्राउ परेका पदाधिकारीले ३ लाख ६४ हजार सदस्य रहेको बताउँदै आएका छन् । यस आधारमा पनि सवा पाँच अर्ब रुपैयाँ संकलन भएको छ । युनिटीले हिसाब डलरमा राख्ने गरेको सार्वजनिक भइसकेको छ ।
प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०८:१५
















तपाईंको प्रतिकृया