मैले जानेका किसुनजी



arjun
गत शुक्रबारको मध्यरात साढे बाह्र बजे, जब म नर्भिक अस्पतालबाट किसुनजीको पार्थिव शरीरको दर्शन र श्रद्धाञ्जली अर्पण गर्न वाणेगाउँ पुगेको थिएँ, भर्खरै चीरनिद्रामा गइसक्नुभएका किसुनजीका लागि त्यहाँ शैया तयार गर्दैरहँदा अन्तःस्करणमा स्तव्धताबीच एउटा प्रश्न जागृत भइरहेथ्यो, के किसुनजीको देहान्त भएकै हो ? कतै त्यो देहमा चामत्कारिक रूपले फेरि प्राण सञ्चार हुन्छ कि जस्तो यसअघि एकपटक भएकै हो, यस्तै प्रतीयमान भ्रामक आशा पनि त्यो बेला मेरो मानसपटलमा खेलिरहेको थियो । मृत्यु अन्तिम सत्य हो भन्ने जान्दाजान्दै पनि मलाई उहाँको निधनको विश्वास भइरहेको थिएन ।

नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा प्रेरक शक्ति तथा जिउँदो इतिहासको अध्याय बन्द भयो । पोहोर चैत सात गते गिरिजाबाबुको, त्यसपछि नेता बलबहादुर राईको र अहिले किसुनजीको देहान्तसँगै नेपाली कांग्रेसको संस्थापक तथा २००७ कालीन पुस्ताको अब अन्त्य भयो । शोकमग्न हामी कांग्रेसका कार्यकर्ताहरूलाई यो कटु यथार्थले संवेदनशील तथा गम्भीर बनाएको छ । हाम्रा अग्रज राजनेताहरूको पालैपालो महाप्रस्थानले एउटा साझा प्रश्न हामीलाई छोडेको छ, हाम्रो आगामी बाटो, यात्रा र गन्तव्य कता हो ? समग्र पार्टी एकता, लोकतन्त्र, शान्ति, सादा जीवन उच्च विचारजस्ता उहाँले राजनीतिमा अमल गर्नुभएका सद्गुणहरूको निरन्तरता उहाँले हाम्रो जिम्मामा छोडेर जानुभएको अमूल्य विरासत भएको छ ।  

२०२९ सालमा राजकाज अपराधको अभियोगमा पक्राउ परेपछि सेन्ट्रल जेलमा राखिएका हामी स्व. शङ्कर घिमिरे, वीरेन्द्रभक्त श्रेष्ठ, माथवरसिंह बस्नेत, रामराजाप्रसाद सिंह आदि सयौं कांग्रेस कार्यकर्ताहरू र त्यहीं राखिनुभएका किसुनजीसँग बढी नजिकिने अवसर मिलेको थियो । 'भुटीभात'को खाजा खाएर जेलका चार दिवारीभित्र निरस जीवन बिताउनुपर्दा पनि कत्ति पनि निराश र दिकदार नभएका बन्दी किसुनजीलाई म यतिखेर सम्झिरहेको छु ।

कर्मयोगी किसुनजी, जसको समग्र जीवन गीता-ज्ञानबाट ओतप्रोत थियो, कर्ममा विश्वास तर फलबाट लोभमुक्त चेष्टा थियो, धेरैवटा उदाहरण र प्रेरणाका सङ्गम व्यक्तित्व हुनुहुन्थ्यो उहाँ । सबै किसिमका हिंसाविरोधी उहाँ अहिंसालाई लोकतन्त्रसँगै मिलाएर व्यवहारमा उतार्ने चेष्टा गरिरहनुहुन्थ्यो । शान्ति प्रक्रियाको प्रारम्भका रूपमा माओवादीसँग शान्तिवार्ताको श्रीगणेश उहाँकै प्रधानमन्त्रीत्वकालमा भएको हो ।

घरबारविहीन र अविवाहित एक्लो जीवन उहाँको थियो । तर लाखौं अनुयायी, कार्यकर्ता, शुभेच्छुक र मित्र उहाँसँगै थिए । सिङ्गो नेपाली कांग्रेस पार्टीलाई परिवारका रूपमा नेतृत्व, पितृवात्सल्य एवं अभिभावकीय भूमिका उहाँले आफ्नो सक्रिय राजनीतिक जीवनमा दिइरहनुभयो । उहाँको निजी सम्पत्ति केही थिएन, पुस्तकहरू राख्ने एउटा ट्याङ्का, एउटा पुरानो सुटकेस, 'मर्फी' ब्रान्डको पुरानो रेडियो, छाता, सुराही र ओड्ने-ओछ्याउने र लगाउने लुगाफाटो, बस् । तर उहाँ धेरै अनमोल गुणका धनी हुनुहुन्थ्यो । उहाँको कर्मयोगी जीवन सबैका लागि सन्देश थियो- करिया र रैती स्वतन्त्र नागरिक बनुन्, नागरिकहरू सज्जन बनुन्, सज्जनहरू सङ्गठित बनुन् र सङ्गठितहरू सक्रिय तथा निणर्ायक बनुन् । तब यो राष्ट्रका सम्पूर्ण रोग र सङ्कट समाप्त हुनेछन् । तबमात्र यो राष्ट्रका सम्पूर्ण जनता सुखी, स्वाभिमानी र पूर्णरूपले मुक्त हुनेछन् । यो कुनै दिवास्वप्न वा सुखद कल्पना थिएन, किसुनजीको जीवन-चेष्टाको मूल लक्ष्य थियो ।  उहाँका सम्पूर्ण अनवरत चेष्टाको यो सारलाई हामीले आफ्नो आदर्शका रूपमा समवेत् स्वरले उच्चारण र व्यवहारमा अनुवाद गरिरहनुपरेको छ ।  

त्यो मान्छे सामान्य महान हो, जो ठूलठूला काम गर्छ, तर असाधारण रूपले महान त्यो हो, जसले सबैलाई ठूलठूला काम गर्न अभिप्रेरित गर्छ । किसुनजी त्यो असाधारण तथा महान व्यक्तित्व हुनुहुन्थ्यो, जसले पार्टीका सबैलाई ठूलठूला कर्म गर्न सधैं आँट, साहस र प्रेरणा दिइरहनुभयो । नागरिकहरू अधिकार र शक्तिको खोजीमा हुन्छन्, तर नेताहरू कर्तव्यको जिम्मेवारीबाट निर्देशित हुनुपर्छ । अधिकारको लडाइँ सँगसँगै कर्तव्यको संघर्ष भयो भने त्यो नै सर्वउपयोगी प्रजातन्त्र हुन्छ । उहाँको सान्निध्यबाट मैले पाएको शिक्षा यही हो ।

पञ्चायतका विरुद्ध पहराको सतीसालझैं आत्मविश्वासका साथ खडा भएको त्यो व्यक्तित्वले तत्कालीन हामी विद्यार्थीहरूलाई असाधारण प्रेरणा दिने गथ्र्यो । पञ्चायतकालमा उहाँ बारम्बार भन्नुहुन्थ्यो, "म निर्वासनमा जान्न, नत म हतियार नै उठाउँला । हतियारभन्दा कैयन् शक्तिशाली बर्कत र बुता मलाई भगवानबाट सत्याग्रहको आशिर्वाद मिलेको छ । म यस देशका पचास हजार मानिस ल्याएर नारायणहिटी दरबार घेराउँछु र राजाले ०१७ सालमा बलात् खोसेको शक्ति जनतामा ल्याइछाड्छु.....।" त्यही बेला हामीले ०२७ सालमा लोकतन्त्रको जिउँदो-जाग्दो ऊर्जा सङ्गठनका रूपमा नेपाल विद्यार्थी संघको स्थापना गर्‍यौं, जसको स्थापनाको उद्घाटन लामो बन्दी जीवनबाट भर्खरै रिहा हुनुभएका किसुनजीले गर्नुभएको थियो ।

२०४६ सालको जनआन्दोलनलाई सुरक्षित अवतरण गर्न, तीस वर्षको पञ्चायत ढालेपछि आएको जटिल संक्रमणकालको नेतृत्व गर्न, ०४७ को संविधान तयार तथा लागू गर्न र पहिलो आमचुनाव गर्नमा अद्वितीय भूमिका निर्वाह गर्नुभएका किसुनजी आमनिर्वाचनबाट नेपाली कांग्रेसलाई पूर्ण बहुमत दिलाउन सफल हुनुभयो, तर स्वयम्चाहिँ पराजित हुनुभयो । तर त्यो पराजयबाट उहाँले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा असाधारण श्रद्धा, सम्मान र सहानुभूति जित्नुभयो । पराजयको समाचार सुन्नासाथ सरकारका एक उपसचिवको हृदयाघात भएर तत्काल निधन भएको थियो । त्यो पराजयसँगै खुलेको सादा जीवन उच्च विचारयुक्त उहाँको महानतालाई बीबीसी दक्षिण एसिया ब्युरोका प्रमुख मार्क टलीले यसरी चित्रण गरे कि सो रिपोर्टिङ बीबीसीका वर्षभरिका रिपोर्टिङमध्ये उत्कृष्ट र लोकपि्रय रिपोर्टिङका रूपमा संसारभरि तहल्का मच्चायो र उत्कृष्ट रिपोर्टिङहरूको वाषिर्क पुस्तकमा त्यसले स्थान पाएको थियो ।

कम्युनिष्टहरू, जो आफूलाई 'सर्वहारा नेतृत्व'को हिमायती दाबी गर्छन्, सर्वहारा नेताको छवि र जीवनशैलीको उदाहरण किसुनजी नै हुनुहुन्थ्यो, परिवारविहीन, घरबारविहीन, निजी सम्पत्तिविहीन यस्तो सन्त व्यक्तित्व, जोसँग त्यागैत्यागमात्र थियो, तर माग थिएन । जसले सदा दियो मात्र, तर लिन मानेन । धेरैवटा कीर्तिमान स्थापित गरेका राजनेता हुनुहुन्थ्यो किसुनजी, जसले पञ्चायती शासनले गर्दा अन्धकारमा परेको लोकतन्त्रलाई प्रकाशवान दीयोका रूपमा आफूलाई समर्पित गर्नुभयो । त्यो कालमा पार्टी प्रतिबन्धित तथा दमनमा पर्दा नेपाली कांग्रेसका अधिकांश नेता तथा कार्यकर्तालाई जेल वा निर्वासनमा लखेटिएको थियो, लामो जेल जीवनपछि रिहा भए पनि उहाँ थकित, भयभीत र निष्त्रिmय हुनुभएन, झन् प्रखर चिन्तन र निष्ठासाथ प्रस्तुत हुनुभयो । पार्टीका अन्य मूर्धन्य नेताहरूभन्दा एक वर्ष बढी जेलजीवन बिताउनुभएका किसुनजी जेलबाट रिहा भएपछि पार्टी सङ्गठन र गतिविधिमा पूर्ववत् खट्नुभयो । लोकतन्त्रका पक्षमा काम गर्न शुभसाइत वा जोखाना हेर्नुभएन, आफूलाई हरबखत समर्पण गरिरहनुभयो । गुटबन्दी र पक्षपातजस्ता राजनीतिक विकारबाट कहिल्यै निर्देशित हुनुभएन । धेरैपटक अपमान र घात सहनुभयो, तर पार्टी फुट्न दिनुभएन । ०४७ उत्तर प्रधानमन्त्री भएका सबै नेताहरूले राजनीतिक विवादलाई मध्यावधि निर्वाचनमा लगे, तर उहाँ मध्यावधि निर्वाचनको घोषणा नगरेर पदबाट राजिनामा दिने प्रधानमन्त्री हुनुहुन्थ्यो ।

जीवनमा उहाँले पत्रकारिता पनि गर्नुभयो । नेपाली, अंग्रेजी, संस्कृत, हिन्दी र बङ्गला पाँचै भाषामा उहाँको विशेष दखल थियो । अंग्रेजी लेख्दा वा बोल्दा उहाँले शब्द चयन गरेको सुनेर विदेशीहरू पनि चकित हुन्थे । ०१२ चैतमा नेपाल पत्रकार संघको संस्थापक अध्यक्ष किसुनजी तत्कालीन महाशक्ति सोभियत संघका महासचिव निकिता ख्रुस्चोभसँग प्रेस-अन्तर्वार्ता गर्ने पहिलो विदेशी पत्रकार हुनुहुन्थ्यो ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादका सबै चरित्र उहाँ आफ्ना गतिविधिबाट प्रकट गर्न सक्नुहुन्थ्यो । पार्टीका निष्ठावान कार्यकर्ताको कदर गर्न, उनीहरूका दुःखकष्टमा उहाँ सधैं सहयोगी र प्रेरक हुनुहुन्थ्यो । जतिसुकै ठूलठूला विपत्ति र सङ्कट आए पनि उहाँ तनावग्रस्त र विचलित हुनुभएन, सदा बालशुलभ मुस्कान र विनोदी स्वभाव उहाँको थियो । कतिपय राजनीतिक समस्या समयले आफैं निको बनाउँछ, किनकि कालक्रम आफैं एउटा चिकित्सक हो भन्ने उहाँको मान्यता थियो । तर यस्ता महामानवलाई पनि कहिलेकहीं राजनीतिक समस्याले दुःखी भने बनाएकै हुन्छ । ०४८ सालको पराजयलाई सहज रूपमा लिनुभएका किसुनजीका लागि ०५० सालको उपचुनावका परिणामलाई सहज रूपमा लिनसक्ने अवस्था भएन । विरोधीले हानेकोले भन्दा मित्रले ताकेकोले दुख्छ ।

२०५० सालको उपचुनावपछि तत्कालीन संसदमा प्रतिपक्ष एमालेले ल्याएको अविश्वास प्रस्तावलाई परास्त गर्न दौडधुप गरेपछि उत्पन्न बिरामीका कारण म महाराजगन्ज अस्पतालमा केही दिनका लागि भर्ना भएको थिएँ । चुनावको 'दुःखद परिणाम'बाट आहत भएका कारणबाट कतै नहिँड्नुभएका किसुनजी पहिलोपटक मलाई हेर्न अस्पताल आउनुभएको

थियो । 'हाम्रा साथीहरूलाई अदालत र अस्पताल जानुनपरोस् भनी मैले आशिर्वचन दिएको थिएँ, तपाईंलाई दिएनछु कि कसो, तपाईं त यहाँ भर्ना हुनुभएछ...." भन्दै उही विनोदी शैलीका साथ उहाँले कुरा थाल्नुभयो । करिब डेढ घन्टासम्मको बसाइमा उहाँले पार्टीभित्रका अनेक रहस्यमय र गोप्य कुराहरूसमेत खुलाउनुभयो । आफ्नो पराजयभन्दा पनि पार्टीको भविष्यबारे उहाँमा बढी चिन्ता र संवेदनशीलता थियो ।

किसुनजी अनेक विशेषताबाट सुसज्जित विराट व्यक्तित्वका धनी राजनेता हुनुहुन्थ्यो । आकांक्षालाई आदर्शले जितेर अगाडि बढेको गतिशील व्यक्तित्व उहाँको थियो । सत्ता र शक्तिलाई आफू र आफ्ना वरिपरिकाहरूको सीमित स्वार्थमा केन्दि्रत राख्ने बेजोड 'संस्कृति', जसलाई म 'क्लेप्टोक्रेसी' भन्न रूचाउँछु, यस्तो परिवेशमा शक्ति र सत्ता देश, जनता र समग्र राष्ट्रको लागि हुनुपर्छ भन्ने अनुपम उदाहरण नै किसुनजीको हामी सबैलाई मार्गदर्शन हो । बाहिरबाट देखिने ठट्यौलो र बोलैया किसुनजीभित्र अर्को गम्भीर, अविचलित, न्यायमना र सन्त व्यक्तित्व एकनासले रहेको थियो । उहाँलाई मान्न सहज छ, तर जान्न धेरै गाह्रो । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन, लोकतन्त्रको सुदृढीकरण तथा लोकतान्त्रिक संविधानको निर्माण, भौतिक बलको होइन, चिन्तन र वाणीको, हतियारको बल होइन, विचार र नैतिक बल नै लोकतान्त्रिक पद्धतिको विकल्पहीन एकमात्र साधन हो भन्ने उहाँले आफ्नो सक्रिय राजनीतिक जीवनमा देखाउनुभएको व्यावहारिक विश्वास, मान्यता र कार्यशैलीलाई निरन्तरता दिनुपर्ने हामीमाथि जिम्मेवारी आएको छ ।  त्यसकारण वृथा प्रशंसामात्र नगरेर उहाँको खास आदर्श र लक्ष्यलाई व्यवहारमा अनुसरण गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

लेखक कांग्रेस केन्द्रीय सदस्य हुन् ।

 

 

 


तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा
[ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]