शृङ्खलाबद्ध गैंडा मारिँदै

  • महिना नबित्दै चार मरे, एक घाइते

(11 Votes)
अब्दुल्लाह मियाँ/दीपेन्द्र बडुवाल

५५

काठमाडौं/नारायणगढ, वैशाख २६ - शुक्रबार बेलुकी ६ बजेर ४० मिनेट जाँदा निकुञ्जको घड्गाई पोस्टनजिकै बन्दुकको आवाज सुनियो । लगत्तै घड्काई पोस्टबाट साढे दुई किलोमिटर दूरीमा रहेको सेनाको टोली घटनास्थल पुग्यो ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसराबाट पाँच किलोमिटर दूरीको भालुखोलामा बन्दुकको आवाज सुनिएपछि त्यहाँबाट पनि सेनासहित ६० जनाको टोली घटनास्थलतिर लम्कियो । चार दिनअघि सिकारीले निकुञ्जको चरहरा क्षेत्रमा हानेको गोली लागेर एक गैंडा घाइते भएको थियो । खुट्टामा गोली लागेको उक्त गैंडाको उपचार भइरहेका बेला शुक्रबार बेलुकी अर्को गैंडालाई गोली हानिएको थियो ।

१५ मिनेटभित्रै घटनास्थल भालुखोलानजिक सेना र निकुञ्जको टोली पुग्दा तस्कर गैंडाको खाग काटेर भागिसकेका थिए । वयस्क पोथी गैंडा तस्करको निशानामा परेको थियो । घटना भएकै समयमा निकुञ्जका विभिन्न भागमा सेना र निकुञ्जको सातवटा टोली गस्तीमै थिए ।

'गैंडा तातै थियो खाग थिएन,' निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नरेन्द्रमानबाबु प्रधानले शनिबार कान्तिपुरसित भने, 'उनीहरू तस्कर १०/१५ मिनेटमै काम सकेर भागिसकेका थिए ।'

'एउटा गैंडाको उपचार भइरहँदा अर्कोलाई गोली हानियो, वार्डेन प्रधानले भने, 'युद्ध नै चलेजस्तो लागिराछ ।' सेनासहित निकुञ्जका अधिकारीको टोलीले शुक्रबार राति तीन बजेसम्म निकुञ्ज 'सर्च' गर्नुका साथै गैंडाहरू कुरे पनि तस्करलाई भेट्न नसकेको प्रधानले सुनाए । शनिबार दिउँसो पनि सेना र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले निकुञ्जका विभिन्न भागको गस्ती गरेको थियो ।

वार्डेन प्रधानले २४ अै घन्टा सेना र निकुञ्जका कर्मचारीले निकुञ्जमा गस्ती गरिरहेको दाबी गरे पनि वैशाखमा मात्रै चार गैंडा मारिएका छन् । एक कालगतिले मरेको हो । एक घाइते छ । 'हामी गस्ती गरिरहेका छौं,' उनले थपे, 'गैंडा जोगाउन सकिएन ।'

चितवन निकुञ्जमा शृङ्खलाबद्ध गैंडा मारिरहादा निकुञ्जहरूको व्यवस्थापनको मुख्य जिम्मेवार वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रसाद उपाध्याय र उपमहानिर्देशक मेघबहादुर पाण्डे दुवैजना सातादेखि बिदामा छन् । उपाध्याय 'ससुरा बिरामी भएको' र पाण्डे 'घर बनाउने' बहाना बनाएर बिदामा छन् ।

तस्करहरू साधनस्रोत सम्पन्न भइसकेकाले उनीहरूलाई समात्न नसकिएको निकुञ्जका संरक्षणकर्मीहरूको विश्लेषण छ । 'उनीहरू योजनाबद्ध ढंगले आएर गैंडा मारिरहेका छन्,' वार्डेन प्रधानले भने, 'यसबाट उनीहरू ट्रेन भइसकेको पुष्टि हुन्छ ।' चितवन निकुञ्जमा सहायक वार्डेन भइसकेका संरक्षणकर्मी कमलजंग कुँवर पनि 'परम्परागत ढंगको गस्ती र कारबाही प्रक्रिया' ले तस्करी नियन्त्रण गर्न नसकिने टिप्पणी गर्छन् । 'तस्करहरू साधनस्रोत सम्पन्न भइसके' कँुवरले शनिबार कान्तिपुरसित भने, 'नयाा रणनीति नअपनाउने हो भने गैंडा जोगाउन सकिन्न ।' सेनाको गस्तीलाई प्रभावकारी बनाउन सकिए र चोरी/सिकारी प्रतिरोध टोलीलाई सक्रिय बनाइए केही हदसम्म नियन्त्रण हुने उनको सुझाव छ ।  

शुक्रबार तस्करले मारेको पोथी गैंडा शनिबार दिउँसो निकुञ्जका स्वास्थ्यकर्मीले पोस्टमार्टम गरेका थिए । वन्यजन्तु सप्ताह समापनको भोलिपल्टै वैशाख ८ मा पनि कसराबाट ३ किलोमिटर दूरीमा वयस्क भाले गैंडा मारिएको थियो ।

वार्डेन प्रधानले गैंडा सुरक्षाका लागि छड्के क्याम्प, नियमित गस्ती, सुराकी परिचालन गरेको दाबी गरे पनि सैनिक पोस्ट र कार्यालयनजिकै गैंडालाई गोली हान्ने क्रम रोकिएको छैन । प्रधानले मुलुकमा आन्दोलन, आमहडताल जस्ता अस्थिरताका बेला तस्कर बढी सल्बलाउने गरेको बताए ।

 

प्रकाशित मिति: २०६७ वैशाख २६ ०८:४५

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।