एभरेस्ट म्याराथन हुने

(0 Votes)

काठमाडौ, वैशाख १८ - तेन्जिङ हिलारी एभरेस्ट म्याराथनले यस वर्ष पनि निरन्तरता पाउने भएको छ ।म्याराथनको आठौं संस्करण यस वर्ष पनि मे २९ का दिन हुने भएको छ । प्रतियोगिता आयोजक हिमालय एक्सपिडिसनले शुक्रबार यसबारे जानकारी दिएको हो ।

'यस वर्ष पनि हामीले म्याराथनलाई नियमितता दिँदै छौं,' आयोजक कमिटीका अध्यक्ष विक्रम पाण्डेले भने । सगरमाथा आधार शिविरबाट सुरु भएर नाम्चेमा टुङ्गिने प्रतियोगितामा यस वर्ष पनि विभिन्न देशका करिब ५५ खेलाडीको सहभागिता रहने जानकारी उनले दिए । त्यसमा भारतका १० देखि १५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा हुने प्रतियोगिताको प्रमुख अतिथिका रूपमा नेपालका लागि फ्रान्सका राजदूत जिल अरी गारो रहने छन् ।

त्यस्तै नेपाल पर्यटन वर्षको अवसर पारेर अर्को वर्षको जुन ३ देखि अन्नपूर्ण म्याराथन सञ्चालन गरिने जानकारी दिए ।

'पहिलो अन्नपूर्ण आरोही मौरिस हर्जकको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागेका हौं, यसले नेपालको 'एडभेन्चर स्पोर्टस' बारे अझ धेरै जानकारी दिन सकिन्छ,' पाण्डेले भने । उनले जुन ३ का दिन उदघाटन गरिने म्याराथनलाई हाल दुई छुट्टा-छुट्टै नाममा सम्पन्न गरिने बताए ।

मौरिसको नाममा उदघाटन हुने प्र्रतियोगिता नेपालका पर्यटन विज्ञ हर्कबहादुर गुरुङको नाममा सम्पन्न हुने छ । पछि यी दुवै नामलाई एउटै छरितो नाममा परिणत गरिने जानकारी त्यस अवसरमा दिइयो ।

त्यस अवसरमा पाण्डेले नेपाल पर्यटन वर्षको अवसरमा खुम्बुमा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको सम्झनामा पूर्णकदको सालिक निर्माण गर्ने जानकारी दिए ।

सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बुका स्थानीय क्लबसँग यसबारे छलफल चलिरहेको र अर्को वर्षको मे २९ मा निर्माण भइसक्ने उनले बताए ।

यस्तै एभरेस्ट म्याराथनको समाचार सम्प्र्रेसणमा उत्कृष्ट ठहरिएका पत्रकार शुक्रबार सम्मानित भएका छन् । प्रतियोगिताको छैटौं संस्करणमा उत्कृष्ट समाचार सम्प्रेषण गरेवापत कान्तिपुर दैनिकका अजय हमाल र काठमाडौं पोस्टका आयुष खड्का सम्मानित भए । त्यस्तै अर्का पत्रकार चक्र कार्कीलाई पनि सम्मान गरियो ।

 

प्रकाशित मिति: २०६७ वैशाख १८ ०९:०८

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।