राखेप कर्मचारी संघमा फेरि राणा
काठमाडौ, वैशाख १८ - राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघको अध्यक्षमा नारायणदेव राणा पुनः ३ वर्षका लागि शुक्रबार निर्वाचित भएका छन् । संघको तेस्रो महाधिवेशनले राणालाई निर्वाचित गरेको हो । उनले नोर्बु लामालाई पराजित गरे ।
उपाध्यक्षमा गंगाराम महर्जन ५४ मतसहित विजयी भए । एक उपाध्यक्ष पदमा गंगारामलगायत तीनले उम्मेदवारी दिएका थिए । २५ मतमा ऋषिराम पौडेल दोस्रो तथा २१ मतमा दीपक श्रेष्ठ तेस्रो स्थानमा रहे ।
महासचिवमा फणिन्द्र पौडेल निर्वाचित भए । उनले ७२ मत प्राप्त गरे । यो पदका अर्का प्रत्याशी सुजन खतिवडा २७ मतमा सीमित भए । यसअघि सुजन कार्यसमितिमा सदस्य थिए । कोषाध्यक्षमा सरस्वती केसी भण्डारीले जितिन् । सरस्वतीले ६८ मत हासिल गरेकी थिइन् । अर्की उम्मेदवार ज्ञानु घिमिरेले ३० मत ल्याइन् ।
सदस्यमा भोजानन्द राई अत्यधिक ६० मतसाथ विजयी भए । सदस्यमै अन्य विजेतामा कर्मबहादुर सिंह, विजयन्त शर्मा, रामकृष्ण घिमिरे तथा राजु महर्जन । ५ सदस्य पदकका लागि १५ जना चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।
सचिव र आरक्षणतर्फ श्रेणिविहीनको सदस्य पदमा बाहेक अन्य सबैमा निर्वाचन भएको थियो । सचिवमा प्रकाश बराल निर्विरोध भए । यसमा अन्य तीन जनाले उम्मेदवारी दिएका थिए । कुमार बस्नेत, हरिहर लामिछाने तथा वासुदेव निरौलाले उम्मेदवारी फिर्ता लिएपछि प्रकाश निर्विरोध भएका हुन् । श्रेणीविहीनतर्फ सानुकृष्ण महर्जन निर्विरोध चयन भए । यसमा अरू कसैले उम्मेदवारी दिएनन् । अराक्षणकै महिलातर्फ सरस्वती कोइराला र याञ्जुदेवी दाहाल विजयी भए । सरस्वतीले ६५ तथा याञ्जुले ५६ मत प्राप्त गरे । उक्त पदमा तीनले उम्मेदवारी दिएका थिए । अर्की उम्मेदवार जीवना प्रजापतिले २३ मत पाइन् ।
संघको तेस्रो महाधिवेशनका लागि केन्द्र, विभिन्न जिल्ला तथा क्षेत्रबाट १ सय ८ प्रतिनिधि चुनिएका थिए । त्यसमा १ सय २ जनाले मतदान गरेका थिए । चुनाव त्रिपुरेश्वरस्थित परिषद्को भिजन २०२० को सचिवालयमा भएको थियो ।
प्रकाशित मिति: २०६७ वैशाख १८ ०९:०७

















तपाईंको प्रतिकृया