एनआरटीको जित
सहयोगी लिङ्कहरू
काठमाडौ, वैशाख १८ - दुई दिनको खेल, पहिलो दिन दुई गोलको अग्रता भए पनि दोस्रो दिन खेल जित्न करिब अन्तिमसम्म कुनुपर्ने स्थिति । सानमिगल सहिद स्मारक 'ए' डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) शुक्रबार यस्तै परिस्थितिबाट गुज्रियो ।
फ्रेन्डसविरुद्धको खेल पहिलो दिन वर्षाको कारण ३७ मिनेटमात्र खेल सम्भव भएको थियो । पहिलो दिन पूरा समय खेल हुन नसकेपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता नियमअनुसार भोलिपल्ट बाँकी खेल सञ्चालन गरेको थियो ।
दोस्रो दिन ५३ मिनेटको खेल सम्पन्न भएको थियो । खेलमा एनआरटीले ३-२ को जित हात पार्यो । जितपछि एनआरटी लिगको दोस्रो स्थानमा कायम रह्यो भने फ्रेन्डस नवौं स्थानमा छ ।
पहिलो दिन निराजन रायमाझी र जीवन सिन्केमानको गोलसँगै २-० को अग्रता लिएको एनआरटीले लामो समय अगाडि रहन सकेन । पहिलो हाफ आठ मिनेटमात्र सञ्चालन भएको थियो । खेलको ४२ औं मिनेटमा एनआरटीका जीवनले डी बक्स नजिकैबाट गरेको प्रहार बार माथिबाट गएको थियो ।
खेलको ६५ मिनेटमा सब्टिच्युड पुकार गहतराजले सन्तोष तामाङको पासमा गोल गर्दै खेलको अग्रता कम गरे । पुकार ५१ औं मिनेटमा मैदान छिरेका थिए ।
त्यसपछि निराजन खड्काले अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले ७७ औं मिनेटमा आजाद प्रधानले प्रहार गरेको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए । आजादको प्रहार बाउन्स भएर फर्केकोमा निराजनले त्यसलाई जाली चुमाएका थिए ।
खेल बराबरीमा आएपछि एनआरटी दबाबमा देखिएको थियो । एनआरटीका सुवास गुरुङले ८१ औं मिनेटमा गरेको प्रहार बारमा लागेपछि उसले अग्रताको अवसर गुमायो । तर त्यसको एक मिनेटपछि एनआरटीले फ्रिकिकको अवसर
पायो । रञ्जित श्रेष्ठले त्यसको उपयोग गर्दै एनआरटीका लागि निर्णायक गोल गरे । फ्रेन्ड्सका गोल रक्षक सागर थापाले कुनै प्रतिक्रिया नै देखाएनन् ।
'महत्त्वपूर्ण अंक लिएकोमा खुसी छु,' एनआरटी प्रशिक्षक डिकेन सुवालले भने, 'उपाधिको होडमा कायम छौं ।' उनले बराबरीमा आएपछि दबाबमा देखिएको बताए । पाएको मौकाको सदुपयोग गर्न नसकेको उनको गुनासो थियो ।
फ्रेन्डस प्रशिक्षक मृगेन्द्र मिश्रले भने आफ्नो टिमको रेलिगेसन सम्भावना नटरिसकेको बताए । '२१ अंकले रेलिगेसन टर्दैन,' उनले भने, 'जित्ने लक्ष्यका साथ खेलेका थियौं, त्यसमा सफल पनि हँुदै थियौं तर डिफेन्डरको गल्तीका कारण फ्रि-किकका कारण गोल भयो ।'
प्रकाशित मिति: २०६७ वैशाख १८ ०९:०६
















तपाईंको प्रतिकृया