संघाई एक्स्पोको समुदघाटन

(0 Votes)
निर्मल श्रेष्ठ

हङकङ, वैशाख १८ - 'राम्रो सहर, राम्रो जीवन' शीर्षकसहितको विश्व चर्चित सांघाई वल्र्ड एक्स्पो शुक्रबारदेखि शुभारम्भ भएको छ । चीनका राष्ट्रपति हु जिन्ताओले शुक्रबार साँझ एक भव्य समारोहका बीच विकासोन्मुख मुलुकमा पहिलोपटक आयोजित विश्व एक्स्पो सुरुवात भएको घोषणा गरेका हुन् ।

हाङ फु नदीको किनारमा अवस्थित एक्स्पो स्थल शुक्रबार साँझ रंगीबिरंगी बत्तीले झकिझकाउ थियो । रंगारंग प्रस्तुतिहरूसहितको समारोह स्थानीय समय साँझ ८ बजेदेखि करिब दुई घन्टा चलेको थियो । उद्घाटन समारोहको सुरुमै हङकङका प्रसिद्ध नायक जेकी चेन र चिनियाँ गायिका सुङ चु यिङले विश्व मेलमिलापसम्बन्धी गीत प्रस्तुत गरेकी थिइन् । समारोहमा विभिन्न मुलुकका राष्ट्र प्रमुखलगायत हजारौंको सहभागिता थियो ।

चीनका क्षेत्रीय र प्रान्तीयलगायत विभिन्न मुलुकका सांगीतिक प्रस्तुतिपछि हाङ फु नदीमा सन्देश प्रवाहसहितका  आतिसबाजी र रंगीबिरंगी प्रकाशमा पानीका फोहरा देखाइए । फोहराबाटै अतिथिहरूलाई स्वागत मात्र गरिएन । 'एउटै संसार, एउटै घरबार', 'राम्रो सहर, राम्रो जीवन', 'जीवनका लागि पानी' लगायत सन्देशसमेत पोखिए । समारोहमा पुरानो र नयाँ सांघाई सहरलाई जोड्ने झकिझकाउ पारिएको नाम्फु पुलले समेत बेग्लै आकर्षण थपेको थियो । १८४ दिनसम्म चल्ने एक्स्पोमा १ सय ९२ मुलुकले सहभागिता जनाएका छन् । एक्स्पोलाई सफल पार्न ५७ अन्तराष्ट्रिय संगठन पनि सहभागी छन् । प्रत्येक दिन छ लाखसम्मका दरले करिब ७ करोड दर्शकले एक्स्पो अवलोकन गर्ने अनुमान गरिएको छ ।

विभिन्न मुलुकका अतिथिहरूको स्वागतमा शुक्रबारै एक भोजको समेत आयोजना गरियो । 'वल्र्ड एक्स्पो मानवीय सभ्यता र विश्व उपलब्धि प्रस्तुत गर्ने भव्य समारोह हो,' स्वागत समारोहमा राष्ट्रपति हु जिन्ताओले भने, 'यसलाई चीनले संसारभरका मानिसहरूबीच खुसी र सद्भाव बाँड्ने राम्रो अवसरका रूपमा पनि लिएको

छ ।' विकासोन्मुख मुलुकमा पहिलोपटक आयोजित एक्स्पोले चीनलाई विश्व हेर्ने अवसर र विश्वलाई चीन हेर्ने अवसर प्रदान गरेको उनले बताए । 'सांघाई एक्स्पोले चीनको पाँच हजार वर्ष पुरानो इतिहास झल्काउनेछ,' राष्ट्रपति जिन्ताओले भने, 'साथै चीनले गरेको द्रुत विकास र वर्तमान वास्तविक स्थितिसमेत उजागर गर्नेछ ।' एक्स्पोमा नेपाल, चीन, भारत, पाकिस्तान, थाइल्यान्ड, सिंगापुर, अमेरिका, लन्डन, कतार, अस्ट्रेलिया, कोरिया, क्यानडा, ब्राजिल, इटली, नर्वे, रसियालगायत ४५ मुलुकले वैज्ञानिक प्रविधि, संस्कृति, भौगोलिक वनावटलगायत विशेषता समेटिएका मण्डला बनाएका छन् । नेपालले प्राचीन वास्तुकलाको सम्मिश्रणसहित काठमाडौं वसन्तपुरको झल्को दिने कलात्मक मण्डला बनाएको छ । 'नेपाल अरनिको सेन्टर' नाम दिइएको मण्डलाले ३ हजार ६ सय वर्गमिटर ओगटेको छ । ४ जोनमा  विभाजित एक्स्पो स्थलमध्ये नेपाली मण्डला पुदुङ क्षेत्रमा चिनियाँ मण्डला सँगै जोन 'ए' मा अवस्थित छ ।

एक्स्पोसम्बन्धी समाचार संकलनका लागि विश्वभरका ५ सय ८९ सञ्चारमाध्यमका १४ हजारभन्दा बढी सञ्चारकर्मी दर्ता भएका छन् । एक्स्पो स्थलको पूर्वाधार निर्माण र व्यवस्थापनका लागि चीनले करिब ४० खर्ब युआन लगानी भएको बताएको छ । १ सय ५८ वर्ष लामो इतिहास बोकेको वल्र्ड एक्स्पोको यो एकचालीसौं संस्करण हो । सन् १८५१ मा बेलायतमा पहिलोपटक वल्र्ड एक्स्पो आयोजना भएको थियो । आगामी वल्र्ड एक्स्पो दक्षिण कोरियाको युसुमा हुनेछ ।

 

प्रकाशित मिति: २०६७ वैशाख १८ ०८:५८

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।