अनुशासित हुन आग्रह
सहयोगी लिङ्कहरू
काठमाडौ, वैशाख १८ - बैंकका प्रमुखलगायत उच्च व्यवस्थापनको तलब निर्धारण सम्बन्धित कम्पनीले नै अनुशासित भई कायम गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । टेलिभिजन कार्यक्रम अर्थको अर्थ प्रसारण सुरु भएको १७ वर्ष पुगेको अवसरमा कार्यक्रम उत्पादक इन्डिपेन्डेन्ट बिजनेस न्युजले आयोजना गरेको वित्तीय क्षेत्रमा सुशासन कार्यक्रममा बोल्दै गभर्नर युवराज खतिवडाले उक्त कुरा बताएका हुन् ।
'राष्ट्र बैंकको भावना बुझी बैंक वित्तीय संस्थाले आपै+m निर्धारण गर्न आग्रह गर्छु,' उनले भने । वित्तीय संस्थामा सुशासनको विषयमा उच्च व्यवस्थापनको सुविधा प्रमुख रूपमा उठेको थियो । अमेरिकी बैंकका प्रमुखहरूको बढी तलब र सोहीअनुसार जोखिम लिएर लगानी गर्दा समस्या आएकाले नेपालमा पनि सजग हुनुपर्ने राय सहभागीहरूको थियो । भारतमा पनि उच्च व्यवस्थापनको तलब केन्द्रीय बैंक वा सरकारले नै तोक्न सकिने/नसकिने विषयमा चर्चा भइरहेको छ ।
राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले यसलाई व्यवस्थित गर्नुपर्ने धारणा राखेका थिए । 'धेरै सुविधा लिँदा धेरै जोखिम लिने कारणले समस्या हुन नदिनेतर्फ सचेत हुनुपर्छ,' कार्यपत्र प्रस्तुत गर्दै उनले भने । पूर्वगभर्नर दीपेन्द्रबहादुर छेत्रीले पनि उच्च सुविधा र त्यसका कारण लिइने जोखिमबाट समस्या बढ्नेतर्फ सजग हुनुपर्ने बताएका थिए ।
बैंकर्स संघका अध्यक्ष ससिन जोशीले सुविधा तोक्ने निर्णय हतारमा नगर्न आग्रह गरे । 'विदेशतिर औसत कर्मचारीको निश्चित गुणा बढी प्रमुखको तलब हुने व्यवस्था पनि गरिएको पाइन्छ,' उनले भने, 'यसलाई छलफल गरेर मात्र कार्यान्वयन गर्नुपर्छ ।'
प्रवर्द्धक र व्यवस्थापनबीचको सम्बन्धलाई पनि सुशासनको विषयमा सम्बोधन गर्नुपर्ने राय सहभागीहरूको थियो । '१२/१४ सय प्रवर्द्धक रहेका बैंकहरू पनि खुल्दै छन्,' गभर्नर खतिवडाले भने, 'यसलाई कसरी व्यवस्थित गर्ने हो यसबारे संस्थाहरूले सोच्नुपर्छ ।' राष्ट बैंकले वित्तीय संस्थाहरूलाई सर्वसाधारणको बचत सुरक्षाका लागि सुशासनका विषयमा जोड दिने गरेको उनले बताए । '७ अर्ब रुपैयाँको बचत सुरक्षाको प्राथमिक दायित्व बैंक वित्तीय संस्थाको र दोस्रो राष्ट्र बैंकको हो,' उनले भने, 'त्यसैले बारम्बार सुशासनमा जोड दिन भनिएको हो ।'
प्रवर्द्धक र व्यवस्थापनबीचको सम्बन्धका सुधारका लागि बैंकर्स एसोसिएसनले पनि पहल गर्नुपर्नेमा पनि उनले जोड दिए । 'लगानीकर्ता र व्यवस्थापन दुवैको विषयलाई एसोसिएसनले समेट्न सके हामीलाई पनि सजिलो हुन्छ,' उनले भने ।
केही समयअघि एसोसिएसनले लगानीकर्ताको विषय नसमेटेको भन्दै बैंकका लगानीकर्ताहरूले फोरम फर नेपलिज बैंकर्स भन्ने संस्था खोलेका छन् । एसोसिएसनमा बैंकका प्रमुख कार्यकारी अधिकृतले प्रतिनिधित्व गर्छन् । बैंकका लगानीकर्ताहरू उद्योगी व्यवसायी कि बैंकर भन्ने विषयमा प्रस्ट हुनुपर्ने कुरा उनले पुनः दोहोर्याएका थिए । यसअघि पनि विभिन्न कार्यक्रममा यी दुवै छुट्टाछुट्टै हुनुपर्ने धारणा गभर्नर खतिवडाले राख्दै आएका छन् ।
विदेशी बैंकहरूमा व्यवस्थापन र प्रमुख कार्यकारीबीचको सम्बन्ध र सुविधाबारे कार्यपत्र प्रस्तुत गर्दै बैंकर्स संघका पूर्वअध्यक्ष राधेश पन्तले उपयुक्त नीति लिनुपर्ने बताए । इन्डिपेन्डेन्ट बिजनेस न्युजका प्रबन्ध निर्देशक हृदयराज गौतमले बैंक तथा वित्तीय संस्थाहरू अनुशासित हुन सके तरलताको अवस्थामा सुधार आउन सक्ने र भविष्यमा यस्ता समस्या कम हुने बताए ।
प्रकाशित मिति: २०६७ वैशाख १८ ०८:५७
















तपाईंको प्रतिकृया