सरकारद्वारा सेना परिचालनको तयारी

(2 Votes)
सरोजराज अधिकारी

काठमाडौ, वैशाख १८ - सरकारले माओवादीको आन्दोलन हिंसात्मक हुने निष्कर्ष निकाल्दै सेना परिचालन गर्ने नीतिगत निर्णय गरेको छ । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले आन्दोलनले हिंसात्मक रूप लिए सेना परिचालन गर्नुपर्ने भएकाले तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएको हो ।

परिषद्ले महत्त्वपूर्ण निकाय र क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आन्दोलनमा सार्वजनिक सुरक्षाका लागि परिचालित गर्ने र ती स्थानमा सेनालाई खटाउनसमेत सरकारलाई सिफारिस गरेको छ ।

'माओवादीले जनविद्रोहबाट सत्ताकब्जाको घोषणा गरेको छ । माओवादी मुठभेडको मनस्थितिमा देखिएकाले शान्तिपूर्ण भनिए पनि आन्दोलनमा हिंसा हुने अवस्था प्रस्टै देखिएको छ,' रक्षामन्त्री विद्या भण्डारीले भनिन्, 'माओवादीले असंवैधानिक तरिकाबाट बल प्रयोग गरी सत्ताकब्जा गर्न खोजे शान्ति सम्झौता उल्लंघन हुन्छ । त्यस अवस्थामा सेना परिचालन हुन्छ ।'

आसन्न आमहडताल र सुरक्षा स्थितिको मूल्यांकन गर्न बसेको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखहरू (प्रधानसेनापति छत्रमानसिंह गुरुङ, प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेत र राष्ट्रिय अनुसन्धान प्रमुख अशोकदेव भट्ट) ले सुरक्षा अवस्थाबारे बि्रफिङ गरेका थिए ।

आन्दोलनपूर्व विस्फोटक सामग्री, हतियार, खुकुरी, लाठीको बरामदीले माओवादी मुठभेडको मनस्थितिमा रहेको निष्कर्ष परिषद्ले निकालेको छ । 'सेना परिचालन गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले जुनसुकै बेला बैठक बसेर आवश्यक निर्णय लिने तयारीमा बस्ने सहमति भएको' बैठकमा सहभागी एक सदस्यले बताए ।

सैनिक स्रोतअनुसार सेनाले आफूलाई बन्दोबस्तीसहित तयारी अवस्थामा राखिसकेको छ । जंगीअड्डाले बिदा स्वीकृति नदिने र बिदामा गएकालाई चाँडो फर्काउन आन्तरिक परिपत्र गरिसकेको छ । राजधानीबाहिरबाट थप जनशक्ति नल्याइए पनि सेना पूर्ण तयारीमा रहेको जानकारी दिँदै एक उपरथीले भने, 'सेनाको क्षमता म्यानपावरमा होइन, फायर पावरमा हुन्छ । त्यस हिसाबले हामी सक्षम छौं ।'

सेनाका प्रवक्ता तथा सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक रमीन्द्र छेत्रीले सेना सदैव उच्च सतर्कतामा रहने बताए । 'सुरक्षा अवस्था प्रहरी नियन्त्रणबाहिर

गएको खण्डमा संविधानअनुरूप सरकारले निर्णय गरे सेना परिचालित हुन्छ,' कुन अवस्थामा सेना परिचालन हुन्छ भन्ने प्रश्नको उत्तरमा उनले भने । जलविद्युत् उत्पादन केन्द्रलगायत अधिकांश महत्त्वपूर्ण स्थलको सुरक्षा पहिलेदेखि नै सेनाले गर्दै आएको र सरकारले निर्देशन दिए अन्य स्थलको सुरक्षामा पनि परिचालन गरिने उनले बताए ।

गृहमन्त्री भीम रावलले आमहडतालका कारण सार्वजनिक सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको अत्यधिक संख्या आवश्यक परेकाले महत्त्वपूर्ण स्थलको सुरक्षामा सेना परिचालन गर्न सरकारलाई सिफारिस गरिएको जनाए । विद्युत्, खानेपानी, टेलिकम, विमानस्थल, कारागारलगायतको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीका राजधानीमा ५/६ सयसहित एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित छन् ।

 

प्रकाशित मिति: २०६७ वैशाख १८ ०८:२४

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।