विशेष सम्पादकीय
मुलुकलाई युद्धमा नहोम
यसबेला हामी यतिमात्र भन्न सक्छौं, कृपया मुलुकमा अर्को युद्ध थोपर्ने महागल्ती नगरौं । अहिले हामी यो वा त्यो ध्रुवमा बसेर अर्को पक्षलाई मात्र दोषी देखिरहेका छौं । तर इतिहासले सत्य लुकाउन सक्दैन । मुलुकलाई भिडन्ततर्फ धकेल्ने वास्तविक दोषी को हुन्, त्यसबारे भोलि छर्लङ्ग हुनेछ । आज नायकजस्तो देखिएका भोलि खलनायक र खलनायक भनिएका नायकका रूपमा देखापर्न सक्छन् । कसले युद्ध रोक्ने प्रयास गर्यो, अनि कसले राष्ट्रलाई रक्तपातको दलदलमा धकेल्यो, त्यसबेला त्यसबारे पनि यथार्थ समीक्षा हुनेछ ।
हिजो माओवादी र अन्य राजनीतिक दलहरू एक ठाउँमा उभिँदा जनआन्दोलन, गणतन्त्र, संविधानसभा आदि सम्भव भएका हुन् । तर शान्ति र संविधानको मुख्य उद्देश्य प्राप्त नहुँदै उनीहरू यसरी भिड्न थाल्ने हो भने मुलुक पुनः पुरानै चक्रमा र्फकने छ । हालसम्मका मुख्य उपलब्धि गुम्नेछन् । यो कुरा बुझेका शान्तिवादी स्वर अहिलेको अतिवादी माहौलमा सुस्ताउँदै गएका छन् । मध्यमार्गी धारलाई असान्दर्भिकजस्तो मान्न थालिएको छ । तर फेरि पनि राजनीतिक शक्तिहरूबीच सम्झौताको विकल्प छैन । अन्तिम घडीसम्म पनि उनीहरूले संवाद र सहमतिबाट समाधान खोज्ने प्रयास छाड्नु हुन्न । किनभने यसबेला शान्ति प्रक्रिया भंग हुनु भनेको मुलुक बहुआयामिक द्वन्द्वमा फस्नु हो, जसको सिकार तपाईं, हामी जो कोही हुनसक्छौं ।

















तपाईंको प्रतिकृया