प्याकेजमा समाधान खोज्ने प्रयास
सहयोगी लिङ्कहरू
काठमाडौ, वैशाख १८ - राजनीतिक गतिरोध अन्तका लागि प्रमुख तीन दलले प्याकेजमा सहमति खोज्ने प्रयास सुरु गरेका छन् । माओवादी प्रदर्शन सुरु हुनु एक दिनअघि शुक्रबार ऊसमेतका दलहरूले सहमतिबाट गतिरोध हटाउन गरिएको प्रयास सकारात्मक भएको जनाएका छन् ।
माओवादी, एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच राति अबेरसम्म लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको बैठकमा राष्ट्रिय सहमतिका लागि प्याकेजमा समाधान खोज्ने छलफल भएको हो । सहमतिको प्रस्ताव तयार गर्न उनीहरूले ६ सदस्यीय कार्यदल बनाएका छन् ।
कार्यदलमा माओवादी नेता भट्टराई र वर्षमान पुन, कांग्रेस सहमहामन्त्री रामशरण महत र कृष्ण सिटौला, एमाले महासचिव ईश्वर पोखरेल र प्रदीप ज्ञवाली छन् । कार्यदलले लडाकु समायोजनको विषय र संविधान निर्माण कार्यतालिकामा सहमति खोज्ने छ । साथै माओवादीले कब्जा गरेको घर-जग्गा फिर्ता र द्वन्द्वकालमा बेपत्ता भएका नागरिक खोजीका लागि आयोग बनाउनेबारे छलफल गर्नेछ । 'यसको ढाँचा र कार्यतालिका कार्यदलले नै तयार गर्नेछ,' स्रोतले भन्यो, 'यी विषयमा सहमति भएपछि राष्ट्रिय सरकार निर्माण प्रक्रिया अघि बढ्ने छ ।'
छलफलमा सहभागी तीनवटै दलका शीर्ष नेताहरूले आफूहरू सहमतिनजिक पुगेको उल्लेख गर्दै शनिबार बिहान पुनः छलफल गरी निष्कर्षमा पुग्ने बताएका छन् । शान्ति प्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिको संयुक्त सरकार निर्माणको विषयमा छलफल केन्दि्रत भएको थियो । मे दिवसको कार्यक्रमका बीच पनि शनिबार बिहानैबाट छलफलमा बस्न तीन दलका शीर्ष नेताहरू तयार भएका छन् ।
माओवादी नेता बाबुराम भट्टराईले र्याडिसन बैठक गम्भीर र सकारात्मक रूपमा अघि बढेको उल्लेख गर्दै शनिबारसम्म सहमति जुटाएर आन्दोलन फिर्ता हुन सकोस् भन्ने पक्षमा माओवादी रहेको बताए ।
'छलफलबाटै सहमति निकाल्ने सहमति भएको छ,' बैठकपछि उनले कान्तिपुरसँग भने, 'प्याकेजमा सहमति खोज्ने प्रयास भइरहेको छ ।' प्याकेजमा राष्ट्रिय सहमतिको सरकार र आन्दोलन फिर्ता पनि पर्ने उनले बताए । 'एउटा/दुइटा विषयमा मात्र सहमति खोज्दा कसैले हारेको, कसैले जितेकोजस्तो देखिने भएकाले पनि प्याकेजमा सहमति खोज्न लागिएको हो,' उनले भने ।
बैठक स्रोतका अनुसार शुक्रबार बिहानको सांगि्रला बैठकका तुलनामा साँझ माओवादी नरम रूपमा प्रस्तुत भएको थियो । दुवै बैठकमा सहभागी एक सदस्यका अनुसार बिहानसम्म माओवादीले प्रधानमन्त्रीको राजीनामा र आफ्नो नेतृत्वको सरकारमा सहमतिबिना अन्य विषयमा छलफल गर्न इन्कार गरेको थियो । साँझको बैठकमा भने सबै विषयमा छलफल गर्न माओवादी तयार भएको थियो । बिहानको बैठक स्थगित गरी भएका छुट्टाछुट्टै आन्तरिक बैठकमा कांग्रेस र एमालेले सडकबाट सरकार बनाउने र फेर्ने काम हुन नसक्ने अडान लिएका थिए । त्यसैबीचमा बसेको सुरक्षा परिषद्को बैठकले आन्दोलन हिंसात्मक भए सबै सुरक्षा निकाय परिचालन गरी सामना गर्ने निर्णय गरेको थियो ।
बैठक स्रोतका अनुसार तीन दलबीच शनिबार बिहान कार्यदलस्तरमा छलफल गरी सहमति भएपछि शीर्ष नेताहरूको बैठक बस्छ । कांग्रेस र एमाले नेताहरूले शनिबारको छलफलमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने विषय पहिलो एजेन्डा हुने बताए ।
'लडाकु समायोजनको कार्यतालिकामा सहमति जुटेमा अन्य विषयमा अघि बढ्न समस्या पर्दैन,' बैठकका ती सहभागीले भने, 'हामीले माओवादीलाई आमहडताल फिर्ता लिन आग्रह गरेका छौं । आमहडताल फिर्ता नलिए त्यसबाट सबैभन्दा बढी माओवादीलाई नै क्षति हुनेछ ।'
बैठक स्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीको राजीनामा र आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठनलाई पहिलो सर्तका रूपमा प्रस्तुत गरेको थियो । प्रतिपक्षसँग सर्त राख्न नहुने उल्लेख गर्दै उसले यी दुई विषयमा सहमति भएमात्र अन्य मुद्दालाई प्याकेजमा छलफल गर्ने उसको धारणा थियो ।
कांग्रेस-एमालेले भने प्रधानमन्त्रीको राजीनामा पूर्वसर्त हुन नसक्ने उल्लेख गर्दै ६ बुँदे एजेन्डामा छलफल गरी प्याकेजमा सहमति खोज्नुपर्ने बताएका थिए । सडक आन्दोलनबाट निकास ननिस्कने उल्लेख गर्दै उनीहरूले लोकतान्त्रिक विधि र प्रक्रियाबाट गतिरोध अन्त्य गर्नुपर्ने अडान राखेका थिए । उनीहरूले मे दिवसको कार्यक्रम शान्तिपूर्ण बनाउन र आन्दोलनका अन्य कार्यक्रम फिर्ता गर्न माओवादीलाई आग्रह गरेका थिए ।
साँझको बैठकपछि तीनै दलका नेताहरू केही उत्साहित देखिन्थे । 'जिम्मेवारीपूर्वक सहमति निकाल्न लागेका छौं,' र्याडिसन बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले भने, 'बैठक एकदमै सकारात्मक दिशामा बैठक अघि बढेको छ । हामी थप छलफल भोलि नै टुंग्याउँछौं ।' बैठकमा ६ बुँदे एजेन्डामा छलफल भएको उल्लेख गर्दै उनले भने, 'सरकारको कुरा त्यसैमा पर्छ ।'
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल बैठकमा खुलेर कुराकानी भएको बताए । 'शान्ति सम्झौतादेखि हालसम्मको समीक्षा भयो,' उनले भने, 'छलफल सकारात्मक छ ।'
तीन दलबीच शुक्रबार बिहान होटल सांगि्रलामा छलफल भएको थियो । उक्त बैठकमा तीन दलका नेताहरू अन्नपूर्ण होटलको पूर्वसहमतिअनुसारको ६ बुँदे एजेन्डामा छलफलमा र्फकन तयार भएका थिए । आ-आफ्नो दलमा छलफल गरी पुनः बस्ने गरी स्थगित भएको बैठक साँझ र्याडिसनमा भएको हो । ६ बुँदे एजेन्डामा १२ बुँदे समझदारीयताका सबै सहमति कार्यान्वयन समीक्षा, विश्वासको वातावरण निर्माण, राष्ट्रपति कदमबारे समान धारणा, शान्ति प्रक्रिया, संविधान निर्माण, राष्ट्रिय सहमतिको सरकारका विषय छन् ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई र मोहन वैद्य, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, पूर्ववार्ताकार कृष्ण सिटौला, एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव पोखरेल र स्थायी कमिटी सदस्य भरतमोहन अधिकारी सहभागी थिए ।
प्रकाशित मिति: २०६७ वैशाख १८ ०८:१८
















तपाईंको प्रतिकृया