तीन दलको बैठक बिना निष्कर्ष सकियो/सहमति नजिक पुगेको नेताहरुको दावी
सहयोगी लिङ्कहरू
काठमाडौ, वैशाख १७ - तीन प्रमुख दलका शीर्ष नेताहरुले आफुहरु सहमतिको नजिक पुगेको दावी गरेका छन् । शुक्रबार राती पौने ११ बजेसम्म बसेको बैठक पछि नेताहरुले आफुहरुले राष्ट्रिय सहमतिको लागि प्रयास जारी राखेको र शनिबार सांझसम्ममा सहमति जुट्ने बताएका छन् ।
'हामीले गम्भीरताका साथ सबै विषयहरुमा छलफल गर्यौ,' एमाले अध्यक्ष झलनाथ खनालले संवाददाताहरुसंग भने, 'हामीले भोलीसम्ममा सहमतिमा पुग्ने आशा राखेका छौं '
उनले गत फागुनमा तीन दलबीच सहमतिको लागि तयार गरेको ६ बुंदे एजेण्डा, माओवादीले घोषणा गरेको आम हड्ताललगायतका विषयमा छलफल भएको र सहमति गरेर गतिरोधको निकास दिनुपर्छ भन्ने कुरामा सबै स्पष्ट रहेकोसमेत उल्लेख गरे ।
छ बुंदे एजेण्डामा विगतका सबै सम्झौता र सहमतिको समिक्षा र कार्यन्वयन, विश्वासको वातावरण निर्माण, राष्ट्र्रपतिको कदम बारे बुझाइमा एक रुपता, माओवादी लडाकुको व्यवस्थापन, संविधान निर्माणमा देखिएको असहमति र सत्तासाझेदारी रहेका छन् ।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पनि तीनै दलका नेताहरु मुलुकलाई मुठभेडतिर लैजान नहुनेमा एक मत रहेको उल्लेख गरे । उनले सहमतिका लागि थप केही समय चाहिएकोले शनिबार बिहानैदेखि बैठक बस्नेपनि उल्लेख गरे । माओवादी नेताहरुले भने कुनै प्रतिक्रिया दिएनन् ।
माओवादीले शनिबार मे दिवसको दिन पारेर बृहत प्रदर्शन गर्ने र आइतवारदेखि अनिश्चिकालिन आम हड्तालको आयोजना गरिएको छ ।
प्रकाशित मिति: २०६७ वैशाख १७ ०९:१७
















तपाईंको प्रतिकृया