डेटलाइन फू
फू (मनाङ), वैशाख १७ - फू । वैशाख ४ । हिमालपारी मनाङ्गको सवैभन्दा विकट उत्तरी गाउँ । फू भनेको कुनाकाप्चा भन्ने स्थानीय अर्थ लाग्छ । ठाउँ रहेछ त्यस्तै । करिव ४१०० मिटर उचाईमा यो गाउँ छ । चामेबाट दुई दिनको हिडाइपछि दिउसो ३ बजे हामी फू प्रवेश गरेका थियौं । कहालीलाग्दा भीर, कहिले नदेखेको चट्टानयुक्त डाँडाको बाटो पार गरेपछि बल्ल फू आइपुगेको थियो । पहाडै पहाडबीचको एउटा थुम्कोमा गुचुमुच्च घरहरु देखिए बेग्लै खालका । ढुंगाको पर्खालै पर्खाल लगाएजस्ता देखिने घर । एक आपसमा जोडिएका । छेउछाउमा पहिरो गएर ओभानो भए जस्ता भीरहरु देखिए । बीचको खोंचमा अग्लो ढिस्को छ । त्यही ढिस्कोलाई घेरेका छन् फू बासीले । एकपछि अर्को र एउटामाथि अर्को बनाएजस्ता छन् घरहरु । न झ्याल, न बार्दली । न घर वरिपरि खुला ठाउँ । फू गाविसभर जम्मा ३९ घर छन् ।
'नाम के हो दिदी ?'
'आबुई । नाम सोध्दो रहेछ, हेरन ।' -नाम भनिन् बरु उनी छक्क मान्दै साथीतिर फर्किइन)
'किन नी ? नाम भन्नु हुदैन र ?' मैले सोधे ।
'हुदैन ।' उनले ठाडै भनिन्-'के हो, के हो, नचिनेको मान्छेलाई नाम दिंदा ।'
'हाम्रा अध्यक्षसँग कुरा नगरी कहाँ नाम दिनु', डुब्न लागेको घाम ताप्दै मूल बाटैमा बसेकी ती महिलाले भनिन्- 'अस्ति नै हाम्रो नाममा को, कसले सहीछाप गरे रे ।' उनीहरुले कुरा गर्न पटक्कै मानेनन् ।
फूमा प्राय सबै घर एकै आकारका छन् । माटाको छाना । त्यसमाथि लहरै दाउरा र घाँस राखेका देखिन्छन् । अनकन्टार भीर बीचका ओढार जस्ता लाग्ने घरमा चहलपहल खासै देखिदैन । भित्रभित्रै मान्छे जति पनि बसेका छन् । बाहिर चाहिं ढुंगाको थुप्रो जस्तो मात्र लाग्छ । केही घरका तला र झ्यालबाट बच्चा निस्केर प्लाकपुलक हेरिरहेका थिए ।
पर्यटन व्यवसायी समिति मनाङ्गद्वारा आयोजित 'गन्तव्य मनाङ्ग' का सिलसिलामा नार र फूको जनजीवन बुझ्नु म सहित राजधानीबाट गएको पत्रकारहरुको टोली थियो । जहाँ पत्रकारहरु पर्शुराम काफ्ले, दिनेश कार्की, टिकाराम प्रधान थिए । चामेबाट साथ लागेका थिए एक्यापका गेम्जो गुरुङ्ग, मानवाधिकारकर्मी एवं शिक्षक कमान गुरुङ्ग, फू गाविस सचिव कुलबहादुर बस्नेत र फूकी स्वास्थ्य सेविका लक्ष्मी लामा । राजधानीबाटै गएका पत्रकार सन्तोष आचार्य र मनाङ्ग कार्यथलो बनाई पत्रकारितामा जमेका प्रदिप पोखरेल भने पिसाङ्ग, हुम्दे हुदै फरक बाटो तताएका थिए । नार, फू यात्रामा भने बाँकी हामी ८ जना थियौं । पहिलो अनुभव हुदा फू कस्तो होला भन्ने कौतुहलता सबैमा थियो । त्यसैका लागि भोक, निन्द्रा नभनी हामीले ५ दिनको पैदल यात्रा पार गरिसकेका थियौं । पहिला भेटिएका पात्रसँग केही जिज्ञासा हुने नै भयो ।
फू प्रवेश गरेपछि ओखलखोलाको पुल तर्नेवित्तिकै एक अधवैंशे भेटिएका थिए । साना एक छोरा र छोरी सहित भेटिएका धावादेण्डु लामासँग म एकैछिन् अल्मलिएँ । उनी पारिपट्टकिो घरका लागि पानी ओसार्दै थिए । फू टेकेपछि पहिला भेटिएका वासिन्दा उनै हुन् ।
मैले क्यामेरा निकाल्नेवित्तिकै धावादेण्डुका अघि अघि हिंडेका दुवै बच्चाले मुन्टो फर्काए । 'भो नखिच' ४० वषर्ीय ती अधवैंशेले अप्ठ्यारो मान्दै भने । गर्मी महिनामा समेत बाक्ला, लामा ड्रेस लगाएका बच्चाहरु टोलाउदै थिए । उच्च लेक भएकाले वैशाखमा पनि पुस-माघकै जस्तो चिसो छ त्यहाँ । चिसो र धुलोले फुस्रो भएपनि सबैका अनुहार निर्दोष र मलिन थिए । 'भारी कहाँ पुर्याउने होला ?', मैले सोधे । उनी टक्क अडिए । बच्चाहरु अल्मलिए । 'उ पारी', उनले जवाफ दिए-'के गर्नु, पानी छैन । सधै यत्रो लामो बाटो भारीबाट ओसार्नुपर्छ ।'
जाडो याममा त खोलाकै पानीको भर हो । नजिकै ओखल र भाल्देखोला छन् । वषर्ामा खोला धमिलो हुन्छ । 'न पानी छ, न बत्ती', उनले भने । भारीमै भएकाले मैले धेरै अड्याउन चाहिन । उनी घरतिर लागे । बच्चाहरु फर्केर हेर्दै थिए । बाइ बाई भन्दै अघि बढें । बल्ल उनीहरुले हात हल्लाए ।
त्यसपछि थुम्कोतिर लाग्दा चौतारीजस्तो लाग्ने चोकमा तीन जना उमेर ढल्केका महिला भेटें । जो परिचय दिन मानिरहेका थिएनन् ।
'सबै अध्यक्षलाई सोध्नुस्' ती मध्येकी दोस्री च्याँठि्इन । छेउमा अलि बुढी महिला थिइन् जो नेपाली भाषा बुझि्दरहेनछिन् । अरु दुईलाई उनी लामा भाषामै खासखुस गरिरहेकी थिइन् । सायद नचिनेका सँग नबोल भनेर आफ्नै भाषामा सम्झाइरहेकी थिइन् ।
'अस्ति नै जिल्लामा गएर गुम्बो सबैले टिप्न पाउने भनी हामी सबका नाममा सही गरेछन्' पहिला बोल्ने महिलाले थपिन्-'अब कसको विश्वास गर्ने ?'
चामे हुदा यार्सागुम्बो टिप्ने नयाँ नियम सुनेका थियौं । नार र फू मा यसपटक मनाङ्गभरीका मान्छेले टिप्न पाउने भएछ । जुन पहिले थिएन । त्यसैमा महिलाहरु विरोध गर्दै थिए । सायद हामीलाई पनि त्यही मेसोमा आएको हो कि भनेर पनि सोच्दैथिए । त्यसो त फू को जनजीवनबारे चामेमा 'गन्तव्य मनाङ्ग'का संयोजक विनोद गुरुङ्ग, व्यवसायी स्याङ्गदो लामा र हिमालयन उद्धार संघका गोविन्द बस्यालसहितले विविध जानकारी दिई उत्साह जगाइदिएका थिए । यार्सागुम्बाका विषयमा पनि थोरबहुत जानकारी मिलेको थियो ।
'हामी अर्कै कामले, आमा', ती वृद्धालाई मैले सम्झाउन खोजे ।
'गाउको आम्दानी अरु छैन । यही वन हो । त्यही पनि यो वर्ष अरुले टिप्ने रे', दोस्रीले गुनासो गरिन् ।
'करु मात्र हुन्छ । तल जिल्लातिर त फापर, मकै त हुन्छ,' उनले भनिन् ।
'गुम्बो पनि टिप्न पाइएन भने त भोकमरी नै लाग्ला', दोस्रोले थपिन् ।
नाम नभन्दै उनीहरुले मुश्किलले गाउका समस्या चाहिँ राखे । ढुक्कैले भने बोलेनन् ।
.........
३२ वर्षे छिरिङ्गडेण्डु घले अध्यक्ष हुन् जसलाई स्थानीय भाषामा 'मिथेवा' भनिदोरहेछ । उनलाई गाउलेले ३ वर्षका लागि चुनेका हुन् । लामा, गुरुङ्ग र घले जाती बसेका यो गाउका समस्यालाई उनले गाविस र जिविसमा पुर्याउनुपर्छ । उनको टिममा ५ जना मुखिया पनि छन् । 'सरकारको चुनाव होस्, नहोस्', हाम्रै टोलीमा चामेबाट मिसिएका फू गाविस सचिव कुलबहादुर बस्नेतले सुनाए-'यतातिर चाहिँ निश्चित समयमा गाउलेले आफै पदाधिकारी चुन्छन् ।'
'समस्या धेरै छन् सर, कसैले सुन्दैन', मिथेवा स्वयं भन्छन् । खानेपानी, अन्नपात, घास दाउरा, शिक्षा, स्वास्थ्य, टेलिफोन...........। सबै समस्या एक-एक सुनाए । चौंरी, याक, भेडा, बाख्रा पालन मुख्य पेशा र बाच्ने आधार हो । करु, तोरी, जिम्बु र आलु बाहेक केही फल्दैन । पशुपालन र यार्सागुम्बोबाट पैसा बचाउन सके २ दिन टाढा चामेबाट खच्चरमा सामान ढुवानी गर्नुपर्छ । जुन कम्तीमा तेब्बर महंगो पर्छ । बाक्लो बस्तीमा शौचालय छैन । त्यसले पनि छेउछाउमा फोहोर बढाएको छ ।
..........
भोलिपल्ट बिहानै झिसमिसेमा ५८ वर्षे स्वीस नागरिक जोसेफ वाङ्गलर भेटिए । पर्यटन व्यवसायी समितिले सुरु गरेको 'गन्तव्य मनाङ्ग' पछि जिल्लाभर पर्यटकको चहलपहल बढेको रहेछ । बाटामा पनि पर्यटक प्रशस्तै भेटिए । फूमा भने वाङ्गलर खोलातिर झर्ने चोकैमा टहलिएका अवस्थामा थिए । फुलेका कपाल र चुस्स दारीले त्यसै रुप बिगारेको थियो । विहानी कर्मका लागि उनी पक्कै नजिकैको भाल्देखोलाबाट उक्लिएका थिए, हाम्रो पनि त्यही नियती थियो ।
'फू कस्तो लाग्यो ?'
'प्राकृतिक रुपमा राम्रो हुदा पनि', उनी भावुक भए । टोलाउदै भने-'मलाई लाग्छ, यो गाउ सय वर्ष पछाडि छ ।'
अघिल्लो दिन फू नपुग्दै क्याङ्गमा भेटिएका पर्यटक सम्झें । फू घुमेका अष्ट्रेलियन रेण्डा हमेरीलाई यही सोधेका थियौं । 'यस्तो अप्ठेरो र विचित्र ठाउ,' आश्चर्य मानेकी थिइन । 'यति पीडादायीक अवस्था हुदा पनि', छोटो बसाईमा उनले आफूले देखेको फू सुनाईन-'यो गाउका मान्छे कसरी बाँचेका होलान् । कसरी हाँसेका होलान् ।'
..........
तिब्बती नाकाको सीमा नजिकै रहेको फूमा बोट विरुवा कतै देखिदैन । घरैपिच्छे धाच्र्यु -लामा झण्डा) फहरिएका बाहेक हरियाली छैन । अलि पर उकालोमा रहेको टासीलाकाङ्ग गुम्बा बौद्ध समुदायमा नामी छ । ल्होसार, देर्ची, याक्चा र यार्तुङ्गजस्ता पर्वमा फूवासी नाच्छन् । जस्तै दुख खेप्नुपरेपनि, अरुलाई आश्चर्य लागेपनि चारैतिर चम्किएका हिमाल जसरी उनीहरु हासेकै हुन्छन् ।
कस्तो संयोग ? छुट्टनिे बेलामा अघिल्लो दिन नाम नबताउने दुई महिला भेटिए । लजाउदै मुस्कुराए र नमस्ते गरे । अनि बोल्न थाले ।
'अध्यक्षले हामीलाई भन्यो नी', अब त नाम भन्छौं ।
पहिलोले भनिन्-'म धावा छिटेन ।'
दोस्री खुलिन-'म निमा डोल्मा'
हामीले अभिवादन फर्कायौं । खुशी प्रकट गर्र्यौं । र, मौका मिले फेरी फू आउने र भेट्ने वाचा गर्दै लाग्यौं नार गाउँतिर ।
basnet.charikot@gmail.com
प्रकाशित मिति: २०६७ वैशाख १७ ०७:१६

















तपाईंको प्रतिकृया