शान्ति प्रक्रियाको लगानी खेर नफालः अमेरिका
काठमाडौं, वैशाख १७ - अमेरिकाले नेपालको शान्ति प्रक्रियामा अहिलेसम्म भएका लगानी खेर नफाल्न आग्रह गरेको छ । उसले शान्ति प्रक्रियामा लगानी भएका परिश्रमलाई फलदायी निष्कर्षमा पुर्याउन आव्हान गरेको छ ।
'सहमतिले संवैधानिक सङ्कट रोक्छ र शान्ति प्रक्रियामा लगानी भएका परिश्रमलाई फलदायी निष्कर्षमा पुर्याउन सुनिश्चित गर्दछ,' शुक्रबार विज्ञप्ती जारी गर्दै अमेरिकी राजदूत स्कट एच् डेलिसीले भनेका छन्, 'सन् २००६ मा वृहत शान्ति सम्झौतामा हस्ताक्षर भएपश्चात् नेपाल धेरै अगाडि बढी सकेको छ । यी उपलब्धिलाई खेर जान दिनुहुँदैन ।' माओवादीको शनिबार हुने प्रदर्शन र आइतबारदेखि हुने अनिश्तिकालीन हड्तालको पूर्व सन्ध्यामा अमेरिकाको यस्तो धारणा सार्वजनिक भएको हो ।
डेलिसीले संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनेजस्ता राष्ट्रले सामना गरिरहेका जटिल विषयहरूमा मिलेर अघि बढ्न माओवादी, कांग्रेस र एमालेलाई आग्रह गरेका छन् ।
अमेरिकाले जनप्रदर्शनहरूमा आत्मसंयम अपनाउन पनि अपिल गरेको छ । 'मैले आज माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुराकानी गरेँ र उहाँ तथा माओवादी नेतृत्वलाई मे दिवसका र्यालीहरू शान्तिपूर्ण ढङ्गले सञ्चालन गराउन आफ्ना तर्फबाट सक्दो प्रयास गर्न आग्रह गरेँ,' डेलिसीले आफ्नो विज्ञप्तीमा लेखेका छन्, 'विगत हप्तामा मैले सुरक्षा निकायका वरिष्ठ सरकारी अधिकृत तथा प्रतिनिधिहरूसँग पनि कुराकानी गर्ने मौका पाएको थिएँ । मैले उहाँहरूलाई प्रदर्शनको सामना गर्ने क्रममा आत्मसंयम र सही विवेक प्रयोग गर्न आग्रह गरेको छु ।'
प्रकाशित मिति: २०६७ वैशाख १७ ०७:००

















तपाईंको प्रतिकृया