अमेरिकामा घन्कियो सेलो
न्युर्योक, फाल्गुन २४ - पृष्टभूमिमा बौद्धनाथ र बुद्ध प्रतिमूर्ति । मनमनमा बुद्धको सन्देश । डम्फुको तालमा तामाङ सेलो घन्किरहँदा अमेरिकावासी नेपालीहरू स्वदेश पुगेका अनुभव गरिरहेका थिए ।
'गाउँको निकै याद आयो' डम्फु साँझमा आएकी विमल तामाङले भने, 'हामी त्यही बौद्धनाथलाई पूजा गरी ढोगेपछि तिमाल जात्रामा यसरी नै गीत गाउँथ्यौं ।' विमल जस्ता प्रवासीलाई ल्होछारको अवसरमा न्युयोर्कस्थित तामाङ सोसाइटी अफ अमेरिकाले एकै थलोमा भेला गराएको थियो ।
कार्यक्रमको सुरुवात सन्देशमूलक नाटकबाट भएको थियो । न्युयोर्क लगायत छिमेकी राज्यबाट आएका तामाङ बालबालिकाको आकर्षक नृत्यसँगै काठमाडौंबाट आएका चर्चित गायक रोज मोक्तान र प्रेम लोप्चनले दर्शक तताए । लोप्चनले हिमाली बस्तीको भेडीगोठ र तिमाल जात्राको मौलिक तामाङ सेलोको स्मरण गराएका थिए भने आकर्षक धामी नाच पनि देखाएका थिए । रोजको 'कलकत्ते काइयो..' 'हिउ पर्यो फुरुरु...' लगायतका गतिले मध्यरातसम्म नचाए ।
'जहाँ रहे पनि संस्कृति नभुलौं भन्ने ध्येयले हरेक वर्ष यसो गर्दै आएका छौं' सोसाइटीका अध्यक्ष इन्द्र तामाङले भने । कार्यक्रममा प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य र विशिष्ठ अतिथिहरूमा न्युयोर्क राज्यको कम्पट्रोलर जोन लि र काउन्सिलर डानियल ड्रम थिए ।
किदुगलाई न्युयोर्कको सम्मान ल्होछारकै अवसरमा शेर्पा किदुगले न्युयोर्कले पनि विशेष कार्यक्रम गर्यो । खचाखच भरिएको हलमा सहाभागी नेपाली तथा विदेशीहरूको पहिलो आँखा स्टेजको पृष्ठभूमिमा पर्यो, जहाँ सगरमाथा, तेङबोचे गुम्बा र बौद्धनाथको आकृति थियो । 'यो दृष्यले नेपाल फेरि जाउँ जाउँ लाग्यो' पूर्व अमेरिकी सिनेटर ओमर एल रेन्सले भने, 'विश्वमा ख्याति कमाएका शेर्पाहरूले यहाँसम्म आएर पनि आफ्नो संस्कृति जगेर्ना गरी विदेशी माझ आफ्नो परिचय दिनु भनेको गौरव कुरा हो ।'
किदुगको ल्होसार कार्यक्रममा उनी विशेष अतिथि थिए । नेपाल र नेपालीको हितमा विशेष क्रियाशील उनलाई किदुगले सम्मान गर्यो । पहिलोपटक अतिथि बनेका न्युयोर्क राज्यका कम्पट्रोलर जोन सि लिउले पनि शेर्पा समुदायले जगेर्ना गरेको मौलिक संस्कृतिको तारिफ गरे । किदुगले गरेको कार्यका लागि कम्पट्रोलरले प्रशंसा पत्र समेत दिए । न्युयोर्क राज्यका तर्फबाट पनि मेयर व्लुम्बर्गले किदुगलाई अभिनन्दन गर्यो, किदुगका तर्फबाट अध्यक्ष छोङबा शेर्पाले ग्रहण गरे ।
२१३७ औं ताक ल्होसारको अवसरमा आयोजित कार्यक्रमको बिहानीपख धर्मगुरुको साङसारकिम पूजा गरिएको थियो भने दिउँसो शेर्पा विद्यार्थीहरू बीच चित्रकला, निबन्ध र नेपालसम्बन्धी हाजिरिजवाफ । शेर्पा लोक गायक देण्डी शेर्पा र शेर्वी रिक्स्युङ लोप्टकका कलाकारलगायत न्युयोर्कका स्थानीय कलाकारहरूले आकर्षक शेर्पा लोकनृत्य पस्के । काठमाडौंबाट आएका रोज मोक्तान र प्रेम लोप्चनले अवेरसम्म नचाए ।
प्रकाशित मिति: २०६६ फाल्गुन २४ ०९:५६

















तपाईंको प्रतिकृया