उच्च शिक्षामा छात्रा दुईतिहाइ
'हाम्रोमा भएका विद्यार्थीमध्ये दुईतिहाइ छात्रा छन्,' सहायक प्राचार्य टंकप्रसाद दाहालले सुनाए, 'उच्च शिक्षाको अवसर छोराले भन्दा छोरीले धेरै उपयोग गरेका छन् ।'
मन्थली, मंसिर २६ - मन्थली उच्च माविमा छुट्टी भएपछि बजारमा विद्यार्थीको चापले पाइला राख्ने ठाउँ हुँदैन । त्यसमा पनि नीलो सुरुवालमा सजिएका युवतीको संख्या ज्यादा ।
केही वर्ष अघिसम्म धेरै प्रयोगमा आउने छोरीलाई शिक्षा भन्ने नारालाई सुधार गरी अब छोरालाई शिक्षा भन्नुपर्ने हो कि भन्ने छनक उक्त उच्च मावि छुट्टीमा देखिने युवतीहरूको संख्याले देखाउँछ । 'यो संख्या ज्यादै उत्साहजनक हो,' उच्च माविका प्राचार्य गुञ्जबहादुर श्रेष्ठले भने ।
पढाइ राम्रो भएकाले अन्यत्रबाट डेरा लिएर भए पनि मन्थलीको उच्च माविमा अध्ययन गर्न आउने युवती हरेक वर्ष बढेका छन् । 'आसपासका अरू विद्यालयमा अध्ययनको अवसर पाए पनि डेरै लिनु परेपछि राम्रै पढाइ हुने विद्यालय रोजेका हौं,' गेलुकी एक छात्राले भनिन् । गेलुबाट नजिक पर्ने खिम्ती र चिसापानी उच्च मावि छोडेर उनी यसै वर्ष मन्थली उच्च माविमा भर्ना भएकी हुन् ।
'हाम्रोमा भएका विद्यार्थीमध्ये दुईतिहाइ छात्रा छन्,' सहायक प्राचार्य टंकप्रसाद दाहालले सुनाए, 'उच्च शिक्षाको अवसर छोराले भन्दा छोरीले धेरै उपयोग गरेका छन् ।' उनका अनुसार यो उच्च मावि र क्याम्पसमा मात्र करिब १ हजार २ सय छात्रा छन् । ती दुवै तहमा जम्मा १ हजार ८ सय विद्यार्थी छन् ।
'गाउँमै उच्च शिक्षाको अवसर पाएकोमा अधिकांश युवतीहरू हषिर्त छन् । अभिभावकहरूको संरक्षण र घरकै खाएर अध्ययन गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छौं,' कक्षा ११ कि सुजना सुवेदीले भनिन्, 'केही वर्षअघिको जस्तै जिल्लामा उच्च शिक्षाको अवसर नभएको भए यत्तिका छोरीले अध्ययन बीचमै छोड्नुपर्ने हुन्थ्यो ।'
बीएड प्रथम वर्षमा अध्ययन गर्ने बबिता महतको अनुभवमा गाउँमा अध्ययनको अवसरले छोरीमात्र होइन बुहारीले पनि उच्च शिक्षा आर्जनमा उत्तिकै अवसर लिएका छन् । सिंदुर पोते लगाएका कतिपय बुहारी दैलो पोत्ने काम छोडेर एकाबिहानै क्याम्पस पुग्ने गरेका छन् । महतका अनुसार महिलाहरूलाई छात्रावासको व्यवस्था हुन सके यो संख्या अझै बढन सक्छ ।
दुर्गममा पनि उच्च शिक्षाको अवसरले बीचमा पढाइ छोडेर बसेका महिलाहरूले पढने अवसर पाएका छन् । एसएलसी सकेर शिक्षण पेसामा लागेका अधिकांश महिला शिक्षकले समेत हाल उच्च शिक्षा अध्ययनको अवसर पाएका छन् । अध्यापनमा सजिलो र पदोन्नतिका लागि ४० कटेका महिला शिक्षिकाहरूले पनि आफ्नो पढाइलाई जोडेको अनुभव दाहालको छ ।
'उच्च मावि र क्याम्पस तहको अध्ययनका लागि भर्ना भएका छोरीहरूमध्ये अधिकांशको रोजाई शिक्षा संकाय हुने गरेको छ,' सहायक प्राचार्य दाहालले भने, 'अध्यापनको अवसर पाउने भएकाले धेरैले शिक्षा संकायलाई रोज्ने गरेका हुन् ।' गाउँका विद्यालयमा महिला शिीक्षकाको संख्यामा वृद्धि गराउन पनि यो विषयले राम्रै काम गरेको उनको अनुमान छ ।
उच्च शिक्षा अध्ययनमात्रै होइन, उत्तीर्ण प्रतिशत पनि छोराहरूको तुलनामा छोरीहरूकै धेरै हुने गरेको छ । 'छोरीहरूले अवसर पाए भने अध्ययनलाई मुख्य ध्यान दिन्छन् भन्ने हाम्रो परिणामले देखाएको छ,' दाहालले भने । उच्च मावि र क्याम्पस तहमा लगभग ६१ प्रतिशत छात्राले नियमित परीक्षा उत्तीर्ण गर्ने गरेको उनले बताए ।
जिल्लामा उच्च मावि २८ वटा पुगेका छन् । ठोेसे, साँघुटार, मन्थली, रामेछाप, पकरवास र खिम्तीमा स्नातक तहको पठनपाठन सञ्चालन हुँदै आएको छ । जिल्लाका केही उच्च माविले आउँदो सत्रदेखि स्नातक तहको पठनपाठन सञ्चालनका लागि अनुमति लिने तयारी गरिरहेको रामेछाप जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २०६६ मंसिर २६ ११:३२

















तपाईंको प्रतिकृया