नेपालगन्जमा पौडी पोखरी बन्ने

(0 Votes)
महेश चौरसिया

बाँके, मंसिर १२ - युवा तथा खेलकुद मन्त्रालयले नेपालगन्जस्थित महेन्द्र रंगशालामा ठूलो आकारको पौडी पोखरी बनाउने भएको छ । पोखरी निर्माणका लागि मन्त्रालयले आर्थिक वर्ष ०६५/०६६ मा चार करोड रकम स्वीकृत गरिसकेको खेलकुद विकास समिति बाँकेका प्रमुख विरोधविक्रम जिसीले जानकारी दिए । ठूलो आकारको पोखरी नेपालगन्जमा पहिलोपटक बन्न लागेको हो ।

निकट भविष्यमै बन्न लागेको पौडी पोखरीको लम्बाइ एक सय ६४ फिट, चौडाइ ८२ फिट र गहिराई १२ फिटसम्म हुने गरी नक्सा तयार भएको छ । 'पोखरीको निर्माण कहिलेदेखि हुने भन्ने कुराको कुनै औपचारिक जानकारी छैन तर डिजाइनको नक्सा मन्त्रालयबाट खेलकुद समितिको कार्यालयमा आइसकेको छ', खेलकुद समितिका प्रमुख जिसीले भने ।  

एकीकृत माओवादीको सदन अवरोधका कारण बजेट पारित हुन नसक्दा समयमा रकम निकासा हुन नसकेको प्रमुख जिसीले बताए । उनले भने, 'भदौसम्ममा पोखरीको शिलान्यास भइसक्नुपर्ने हो तर सदनबाट बजेट पारित नभएकाले रकमको अभावमा पोखरी निर्माणको थालनी हुन नसकेको हो ।'

यस क्षेत्रका खेलाडीले नियमित अभ्यास गर्ने थलोका रूपमा विकास गर्नुका साथै पौडी पोखरीलाई व्यावसायिक रूपमा पनि सञ्चालन गरिनेछ । 'पौडी पोखरीलाई व्यावसायिक रूपमा विकास गर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्छ,' प्रमुख जिसीले भने । पोखरी निर्माणका लागि रंगशालाको जग्गासमेत छुट्याइसकिएको छ । खेलकुद समितिका प्रमुख जिसीका अनुसार रंगशालाको बाहिरी मैदानमा खेलिने बास्केटबलको कोर्ट नजिकै पौडी पोखरी बनाउने निर्णय भएको छ ।

दसैंताका युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशीलजंग राणाले रंगशालाको निरीक्षण पनि गरिसकेका छन् । स्थलगत निरीक्षणका क्रममा उनले बजेट पारित हुनेबित्तिकै स्वीकृत रकम निकासाको पहल गरिने आश्वासन दिएका थिए ।

पौडी खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुपरे खेलाडी अभ्यासका लागि राजधानी जानुपर्ने बाध्यता छ । नेपालमै सबैभन्दा बढी गर्मी हुने स्थान नेपालगन्ज भएकाले पौडी पोखरीबाट राम्रो आम्दानी गर्न सकिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०६६ मंसिर १२ ०९:०२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।