कोइरालाको स्वास्थ्यमा फेरि समस्या

कोइरालाले प्रधानमन्त्रीलाई भने- 'सबैलाई मिलाएर अघि बढ्नुहोस्'

(2 Votes)
कुलचन्द्र न्यौपाने

काठमाडौ, चैत्र ७ -  'मैले कहिल्यै उहाँलाई यस्तो गलेको देखेको थिइनँ,' कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ मन्डिखाटार भेट्न पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिक्रिया दिँदै भने, 'पहिलोपटक मैले उहाँ (कोइराला) थकित र गलेको देखें । नत्र बिरामी अवस्थामा पनि उहाँको अनुहारमा चमक पाउँथें ।'

बिहीबार राति एकाएक पखाला चलेपछि कोइरालाको स्वास्थ्यमा समस्या बढेको छ । अस्पताल नलगी चिकित्सकहरूले मन्डिखाटारस्थित निवासमै विशेष सुविधासहित उपचार गरेका छन् । प्रधानमन्त्री नेपाल मन्त्रिपरिषदका २३  सदस्यहरूसहित साँझ साढे ५ बजे कोइरालालाई भेट्न पुगेका थिए । प्रधानमन्त्रीले छोटो कुराकानी गरे पनि अन्य मन्त्रीहरू कोइरालालाई हेरेर मात्रै फर्किए ।

'प्रधानमन्त्री जाँदा गिरिजाबाबु सुतिरहनुभएको थियो । स्वास्थ्य अवस्थाबारे चिकित्सक अर्जुन कार्कीले 'बि्रफिङ' गर्नुभयो,' प्रधानमन्त्रीका प्रेस सल्लाहार विष्णु रिजालले भने, 'करिब पन्ध्र मिनेट बसाइमा गिरिजाबाबुले धेरै बोल्ने प्रयत्न गर्नुभयो तर सक्नु भएन । र्फकने बेलामा दुई वाक्य मात्रै बोल्नु भयो । उनका अनुसार गिरिजाबाबुले प्रधानमन्त्रीलाई 'राष्ट्र हितमा काम गर्नुहोस्, राष्ट्रको समस्या सहमतिका साथ अघि बढाउनुहोस्' भन्ने सुझाव दिएका थिए । दुई दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई

पनि कोइरालाले 'तपाईं जिम्मेवार भएर स्थितिलाई सम्हालेर लैजानु होस् । तपाईंमा जिम्मेवारी छ' भनेका थिए ।८७ वर्षीय कोइरालाले बुधबार सहिद गंगालाल हृदय केन्द्रको शय्याबाट समेत शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अघि नबढेकोप्रति चिन्ता व्यक्त गरेका थिए । 'मुखले मात्रै होइन, उहाँको आँखा र अनुहारले समेत शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने हो कि होइन, संविधान बन्ने हो कि होइन भन्ने चिन्ता व्यक्त गरेको म अनुभव गर्छु,' कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले भने । बिहीबार राति १२ बजे कोइरालालाई अचानक पखाला चल्न थालेको थियो । पखालाले च्यापेपछि शिथिल कोइरालालाई १ बजे श्वासप्रश्वासको समस्या पनि थपियो । चिकित्सकले त्यतिबेला उनको स्वास्थ्य जोखिममा रहेको बताएका थिए । पखालाले शुक्रबार दिउँसोसम्म सताएको थियो । अस्पताल लाने छलफल भए पनि कोइरालाकै इच्छामा निवासमै विशेष सुविधासहित उपचार थालिएको छ । स्लाइनबाट एन्टिबायोटिक दिइएको छ भने अक्सिजने मात्रा बढाइएको छ । प्रतिमिनेट दुई लिटर अक्सिजन दिइँदै आएकामा शुक्रबार चार लिटर पुर्‍याइएको छ । कोइरालाको स्वास्थ्यमा निरन्तर उतारचढाब आउन थालेपछि चिकित्सकले 'पूर्ण जोखिमको अवस्थामा पनि नरहेको र बुढौली उमेरका कारण जोखिममुक्त पनि नरहेको' बताएका छन् ।

उपचारमा चिकित्सकहरु जगदीश अग्रवाल, मनबहादुर केसी, अर्जुन कार्की,  आनन्द शर्मा र जेजुनाथको टोली संलग्न छ । चिकित्सकले छाती, आँखा, मस्तिष्क र होमोग्लोबिन परीक्षण गरेका थिए । अग्रवालका अनुसार कोइरालामा रक्तअल्पता देखिएको छैन र रगतमा पनि कुनै खराबी छैन । उनको स्वास्थ्य अवस्था बुझ्न दिउँसैदेखि बाहिर प्रतीक्षारत सञ्चारकर्मीलाई साँझ मात्रै अग्रवालले जानकारी गराएका थिए । 'पखाला नियन्त्रणमा आएको छ, स्वास्थ्य स्थिर छ,' उनले भने, 'रक्तअल्पताको समस्या भने देखिएको

छैन ।' कोइरालालाई गत आइतबार रक्तअल्पता (होमोग्लोबिन) देखिएका कारण सहिद गंगालाल हृदय केन्द्रमा चार दिन भर्ना गरिएको थियो । चिकित्सकहरूले बुढौली उमेरमा रगत दिएका कारण पनि शिथिलता बढेको हुन सक्ने बताएका छन् । 'बुढौली उमेरका कारण जोखिममुक्त भनेर भन्न सकिँदैन तर उच्च जोखिममा पनि छैन,' अग्रवालले भने ।

जुनसुकै बेला पनि उच्च जोखिम आउन सक्ने भन्दै कोइरालालाई कडा निगरानीमा राखिएको छ । सहयोगीका अनुसार दुई/तीन जनाको टोली चौबीसै घन्टा निगरानीमा बस्न थालेको छ । पछिल्लो समय छोरी सुजाताको मन्डिखाटारस्थित निवासमा बस्दै आएका कोइरालाको स्वास्थ्य बुझ्न कार्यकर्ता र सञ्चारकर्मीको भीड छ । संविधानसभा निर्वाचन र शान्ति प्रक्रियाको नेतृत्व लिएका कोइराला पछिल्लोपटक राजनीतिक अभिभावकको भूमिकामा छन् । उनले सबै दलका नेताहरूलाई सहमति, सहकार्य र एकताको बाटोबाट अघि बढ्न आग्रह गर्दै आएका छन् ।

 

 

प्रकाशित मिति: २०६६ चैत्र ७ १२:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।