बैठकमै मन्त्रीले बोले अश्लील

विवाद बढ्दै गएपछि चौधरीले रावललाई अश्लील शब्द प्रयोग गरे, त्यो शब्द लेख्नै मिल्दैन

(2 Votes)
बलराम बानियाँ/राजेन्द्र फुयाल

४२

काठमाडौ, चैत्र ७ - उमाकान्त चौधरी: तैंले एमआरपीमा अनावश्यक बखेडा गर्न खोजेको ?

भीम रावल: तँ चैं कुरै नबुझी विरोध गर्ने ?

मुलुकको सर्वोच्च कार्यकारी र मर्यादित मन्त्रिपरिषदको बैठकमा भनाभन र गालीगलौज हुनु सामान्य भइसक्यो, शुक्रबार एक मन्त्रीले अर्का मन्त्रीलाई अश्लील शब्द प्रयोग नै गरे ।

'मेसिन रिडेवल पासपोर्ट (एमआरपी)' छपाइका विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र गृहमन्त्री भीम रावलबीच विवाद चलिरहेको थियो । बीचमा स्वास्थ्यमन्त्री उमाकान्त चौधरी सुजाताको पक्ष लिई रावलविरुद्ध जाइलागे । उनीहरूबीच भनाभन चल्यो । विवाद चर्कंदै गएपछि चौधरीले रावललाई अश्लील शब्द प्रयोग गरे । त्यो शब्द यति अश्लील थियो जुन कसैले उच्चारण गर्न र पत्रिकामा लेख्न सकिँदैन ।

बैठक स्रोतका अनुसार चौधरीले अपशब्द प्रयोग गरेपछि बैठकमा उत्पन्न तनाव कम गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई हम्मे पर्‍यो । लगत्तै उनले अश्लील शब्द बोलेकामा माफी मागी अनुशासनमा बस्न र भनाभन नगर्न मन्त्रीहरूलाई 'रुलिङ' गरे । 

प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्यमन्त्री चौधरीले गल्ती स्वीकार्दै क्षमायाचना गरे । एक मन्त्रीका अनुसार चौधरीले गृहमन्त्रीको एमआरपीबारे राखेको धारणाको आशय नबुझेर आफू आक्रोशित भएको उल्लेख गर्दै सजिलैसँग शब्द फिर्ता लिएका थिए । मन्त्रिपरिषदका एक अनुभवी सदस्यले यसअघि क्याबिनेटमा यति ठूलो भनाभन र अश्लील शब्दले गालीगलौज कहिल्यै नभएको बताए ।

बैठक स्रोतका अनुसार परराष्ट्रमन्त्रीले भारतबाट ४० लाख थान एमआरपी खरिद गर्ने प्रस्ताव गरेकी थिइन्, गृहमन्त्री भीम रावलले एकैचोटि त्यति धेरै किन ल्याउनुपर्‍यो भन्ने धारणा राखेपछि परराष्ट्रमन्त्रीले आक्रोश व्यक्त गरेकी थिइन् ।

गृहमन्त्रीले हाल दैनिक दुई हजार मात्र पासपोर्ट माग रहेकाले एकैपटक ४० लाख छपाइ गर्नु आवश्यक नभएको बताएपछि विवाद बढेको थियो । कोइरालाले ४० लाखै आवश्यक हुने अडान राखेकी थिइन् भने रावलले तत्काललाई १० लाखमात्र छापी काम चलाउन सकिने बताएका थिए । विवादपछि मन्त्रिपरिषदले संख्या नतोकी आवश्यकताअनुसार एमआरपी खरिद गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री कोइरालाले एमआरपीका विषयमा भएको बहसलाई अनावश्यक भन्दै आपत्ति जनाएकी थिइन् । एमआरपी खरिद गर्ने निर्णय गर्न भइरहेको ढिलाइ र अनावश्यक छलफलले आफू 'अपमानित भएको' भन्दै कोइराला बैठक बहिष्कार गरी बाहिरिएकी थिइन् । त्यसको केही मिनेटपछि आफ्नो छुटेको ब्याग लिन बैठक कक्षमा फर्किएकी थिइन् । उनी पुनः बाहिरिन लाग्दा श्रम तथा यातायातमन्त्री मोहम्मद आफ्ताव आलमले रोकेका थिए ।

त्यसलगत्तै भनाभन भएको हो । भनाभनका क्रममा चौधरीले पहिला 'तँ' को भाषामा गृहमन्त्रीलाई 'तैंले एमआरपीमा अनावश्यक बखेडा गर्न खोजेको ?' भन्दै आपत्ति जनाए । प्रत्युत्तरमा गृहमन्त्री पनि 'तँ चैं कुरै नबुझी विरोध गर्ने ?' भन्दै त्यस्तै तल्लो स्तरमा प्रस्तुत भए । त्यसपछि चौधरीले आवेशमा आएर गृहमन्त्रीलाई अश्लील शब्द प्रयोग गरी गाली गरेका हुन् । बीचैमा प्रधानमन्त्रीले रुलिङ गरेपछि भनाभन रोकिएको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को बाध्यकारी प्रावधान अनुसार अपि्रल १ (चैत १९) भित्र एमआरपी पासपोर्ट जारी गर्न थालिसक्नुपर्छ । 'उपप्रधानमन्त्री कोइरालाले यही अत्यावश्यक अवस्थालाई आधार बनाएर तत्काल भारतसित वार्ता गरी खरिद गर्ने निर्णय गर्नुपर्ने प्रस्ताव ल्याउनुभएको थियो,' मन्त्रिपरिषदका एक सदस्यले कान्तिपुरसँग भने, 'यसलाई सस्तो/महँगोका रूपमा नभई भारतसित सम्बन्धका रूपमा हेरिनुपर्ने उहाँको भनाइपछि विवाद बढेको हो ।'

ती सदस्यका अनुसार गृहमन्त्रीले एमआरपी जारी गर्न १६ दिन बाँकी रहेको अवस्थामा भारतमै छपाइ गर्दा पनि एमआरपी आइपुग्न असम्भवप्रायः भएको उल्लेख गर्दै आईकाओसँग थप समय माग गर्नुपर्ने धारणा राखेका थिए । उनले एमआरपी जारी गर्न मुलुकमा भइरहेको प्रगतिबारे जानकारी गराउँदै थप समय माग्ने हो भने आईकाओले सहमति दिने उल्लेख गरेका थिए ।

 

प्रकाशित मिति: २०६६ चैत्र ७ १२:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।