पूर्वाञ्चलका नौ जिल्ला बन्द

(0 Votes)
कान्तिपुर संवाददाता

दमक, चैत्र ६ - सहकर्मीलाई शहीद घोषणा गरी क्षतिपुर्ति दिनुपर्ने माग राख्दै संघीय विद्यार्थी युनियनले गराएको बन्दका कारण पूर्वका नौ जिल्लामा सवारी साधन तथा बजार पसल बन्द रहेका छन् ।

गत वर्ष आजकै दिन झापाको धुलाबारीमा प्रहरीको गोली लागि मारिएका मनिल तामाङलाई शहीद घोषणा गरि १० लाख क्षतिपुर्ति दिनु पर्ने माग राख्दै युनियनले पूर्वका नौ जिल्ला बन्द गराएको हो । स्ववियु निर्वाचनको विषयमा भएको झडपमा तामाङको मृत्यु भएको थियो । बन्दका कारण कोशी राजमार्गको धरान धनकुटा हुँदै तेह्रथुम, भोजपुर, संखुवासभा जिल्ला तर्फ चल्ने सम्पूर्ण सवारी साधन बिहानैदेखि ठप्प रहेको छ ।बन्दका कारण झापाका दमक,बिर्तामोड,भद्रपुर काँकडभिटा लगायतका बजारहरु बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन सञ्चालन भएका छैनन् ।

सरकारले तामाङलाई शहीद घोषणा गर्ने र क्षतीपूर्ति दिने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नगरेकोले दबाबका लागि बन्द आयोजना गरिएको परिषदका झापा अध्यक्ष मनकुमार साम्बाले बताए ।

घाइतेलाई उपचार र हत्यारालाई कारवाहि गर्न समेत माग राख्दै यसअघि प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्री समक्ष् अल्टिमेटम दिए पनि माग पूरा नभएपछि बन्द गराउनु परेको परिषदका केन्द्रीय अध्यक्ष जेन्टल लावतीले जानकारी दिए । परिषदले धनकुटामा गरेको पत्रकार भेलामा उक्त जानकारी दिईएको हो ।

पत्रकार भेलामा वितरित विज्ञप्ति अनुसार अरुण पुर्वका धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ्ग, ताप्लेजुङ्ग, संखुवासभामा बन्द गरिएको छ । माग पुरा नभए चैत ८ गतेदेखि अनिश्चितकालिन बन्द गर्ने चेतावनी दिईएको छ । यसै सातादेखि सञ्चालन हुने  यसयलसी परिक्षालाई समेत अवरोध गर्ने परिषदका केन्द्रीय सचिव दिनेश तुम्वापोले बताए ।

सोहि माग राख्दै विगत एक सातादेखि संघीय लिम्बुवान राज्य परिषद (पालुङ्वा) निकट संघीय विद्यार्थी युनियनले गराएको बन्दका कारण पुर्वका नौ जिल्लाका शिक्षण संस्था पनि प्रभावित बन्दै आएको छ ।

यता संघीय लिम्बूवान राज्य परिषद पालुङ्गा समूहको भातृसंगठन लिम्बूवान बिद्यार्थी परिषदले पनि तामाङ्गका बिषयमा सरकारले गरेको प्रतिबद्धता कार्यनवयन माग गर्दै साता देखि झापाका क्याम्पसहरु बन्द गराएको छ । जसका कारण हजारौं बिद्यार्थीहरु पठनपाठनबाट बञ्चित रहेका छन् ।

इलाममा बन्दका कारण कक्षा आठको जिल्ला स्तरीय परिक्षा प्रभावित भएको छ । मेची राजमार्ग र स्थानीय सडकहरुमा मोटर चलेका छैनन् । सदरमुकाम र प्रमुख व्यपारिक केन्द्र ठप्प रहेका छन् । आज हुने पूर्व व्यवसायीक शिक्षाको परीक्षा भोलि शनिवारलाई सारिएको छ भने पर्सी हुने नैतिक विषयको परिक्षा पनि भोलि नै हुने छ । युनियनले चैत ८ गतेदखि थप शसक्त आन्दोलन गर्ने चेतावनी दिएपछि परिक्षा अघि सार्नु परेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यता मनिल तामाङलाई सहिद घोषणा गर्नु पर्ने माग गर्दै संघीय लिम्वुवान विद्यार्थी परिषदले एक सतादेखि गराएको उच्च मावि र क्याम्पस बन्द अझै जारी छ । बन्दका कारण हजारौं विद्यार्थी पठनपाठन प्रभावित भएको छ ।

 तेह्रथुममा मञ्च सम्वद्ध संघिय विद्यार्थी युनियनले आमह्वान गरेको आम हड्तालका  कारण तेह्रथुमको जनजीवन प्रभावित भएको छ । आम हड्तालका कारण जिल्लामा कुनै पनि सवारीका साधन चलेका छैनन भने जिल्लाभरका सम्पुर्ण शैक्षिक संस्थाहरु वन्द रहेका छन । अधिकांश विद्यालयमा यो वर्षको वाषिर्क परीक्षा चलिरहेकाले सम्पुर्ण परीक्षा प्रभावित भएको छ ।                        

 

 

 

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।