नेपाली सेनाको सुरक्षा लिने कुवेती राजाको योजना स्थगित
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र ६ - कुवेतका राजा (अमिर) सबाह अल अहमद अल जबार अल सबाहले संसद्को विरोधपछि सुरक्षाका लागि नेपाली सेना लिने निर्णय स्थगित गरेका छन् । दरबार र आफ्नो व्यक्तिगत सुरक्षाका लागि नेपाली सेना राख्ने योजनासाथ राजा सबाहले कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलमार्फत गत पुसमा सरकारसमक्ष दुई सय सैनिक पठाइदिन आग्रह गरेका थिए ।
राजदूत पौडेलले त्यहाँको सरकारसँग छलफल गरी परराष्ट्र मन्त्रालयमार्फत इमेलबाट पत्राचार गरेपछि रक्षा मन्त्रालय र जंगीअड्डाले समेत प्रक्रिया अगाडि बढाएको थियो । बीचमै प्रस्ताव सार्वजनिक भएपछि त्यहाँको संसद्मा चर्को बहस भएकाले कुवेती राजाले प्रक्रिया स्थगित गरेको स्रोतले बतायो ।
परराष्ट्र स्रोतका अनुसार कुवेती सांसदहरूले नेपाली सेना मगाउने विषयले जनतामाझ र विश्वभर कुवेतका राजा असुरक्षित रहेको चर्चा हुनुका साथै कुवेती सेना आफ्ना राजाको सुरक्षामा असमर्थ रहेको अर्थ लाग्ने भन्दै विरोध जनाएका थिए ।
'योजनाअनुसार अहिलेसम्म कुवेत पठाइने सैनिकको छनोट भइसक्नुपथ्र्यो । उताबाट तत्कालका लागि योजना स्थगित भएको खबर आएकाले प्रक्रिया रोकिएको हो,' रक्षा मन्त्रालयका एक उच्च अधिकृतले भने । टेलिफोन सम्पर्क गर्दा राजदूत पौडेलले भने यससम्बन्धमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।
कुवेती राजाको प्रस्तावमा प्रतिव्यक्ति मासिक दुई लाख रुपैयाँ तलब दिने गरी १० देखि १५ वर्ष अनुभव भएका सैनिक पठाइदिन आग्रह गरिएको थियो । सेनाले पनि त्यसैबमोजिम पेन्सन पाकेका सैनिकलाई अवकाश दिई पठाउने तयारी गरेको स्रोतले बतायो । सेनाले यसअघि संयुक्त अरब इमिरेटका सेख खालिफा बिन जायद अल नाहयनको आग्रहमा ५५ सैनिकलाई अवकाश दिएर सुरक्षाका लागि खटाइसकेको छ ।
'यसले नेपाली सेनाको प्रतिष्ठा र विश्वसनीयता झनै बढाउने थियो । सैनिकहरू पनि लाभान्वित हुन्थे तर विषय बीचमै सूचना चुहिएकाले सबै भताभुंग भयो,' एक उच्च सैनिक अधिकृतले भने । रक्षामन्त्री विद्या भण्डारीले हालै सूचना चुहिएकोबारे उपरथीभन्दा माथिका सैनिक अधिकृत र रक्षाका अधिकृतभन्दा माथिका अधिकारी राखेर स्पष्टीकरणसमेत लिएको उनीनिकट स्रोतले बतायो । विश्वमै ठूलो पेट्रोलियम भण्डार भएको मुलुक कुवेतको प्रतिव्यक्ति आय झन्डै ३९ हजार अमेरिकी डलर छ ।
प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००
















तपाईंको प्रतिकृया