सेन्ट्रल ओपन गल्फ/रूपक उपाधिनजिक
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र ६ - नम्बर-एक एमेच्योर रूपक आचार्य लगातार तीन दिन शीर्ष स्थानमा रहँदै सूर्य नेपाल सेन्ट्रल ओपन उपाधिको नजिक बिहीबार पुगेका छन् । चारदिने व्यावसायिक प्रतियोगिताको फाइनल चरणमा उनले ५ स्ट्रोकको अग्रताबाट सुरु गर्नेछन् ।
पार ७२ को गोकर्ण गल्फ क्लबमा तेस्रो दिन रूपकले ३ अन्डर ६९ को प्रदर्शन गरे । समग्रमा उनी ५ अन्डर २ सय ११ को स्थितिमा छन् । आठपल्ट एमेच्योर उपाधि जितेका २६ वर्षे व्यावसायिक प्रतियोगिताको पहिलोपल्ट उपाधिनजिक पुगेका हुन् ।
फाइनल चरणमा सफल रहे उनी सूर्य नेपाल गल्फ टुरका प्रतियोगिताको उपाधि जित्ने पहिलो एमेच्योर खेलाडी हुनेछन् । रूपकपछि पोखरेली प्रो दीपक न्यौपाने दास्रोमा छन् । तीन अन्डर ६९ को कार्ड बनाएका उनी कुल इभन पार २ सय १६ स्कोरमा रहे ।
आरएनजीसीका रवि खडका दोस्रोमा झरे । उनले दीपकभन्दा दुई स्ट्रोक बढी खेलेर १ अन्डर ७१ को प्रदर्शन गरे । दीपक र रवि दोस्रो चरणसम्म संयुक्त रूपमा दोस्रो स्थानमा थिए । दीपकले रविलाई तेस्रो दिन दुई शटले पछि पारे ।
एमेच्योर सुमन्द्र गिरी उत्कृष्ट प्रदर्शन गर्दै चौथोमा उक्लिए । दुई ओभर ७४ खेलेका उनी समग्रमा ६ ओभर २ सय २२ को स्थितिमा छन् । उनीभन्दा चार शटको अन्तरमा रहेका सञ्जय लामा शीर्ष पाँचमा रहेका छन् ।
सूर्य नेपाल गल्फ टुर-२००९/१० को छैटौं प्रतियोगितामा मणि राई र दीपक मगरले संयुक्त छैटौंबाट फाइनल चरण सुरु गर्नेछन् । राजन थापा र एमेच्योर रमेश अधिकारीले २ सय २८ स्कोरमा आठौं स्थान बाँडेका छन् । सीबी भण्डारी कुल २ सय ३० स्कोरसाथ शीर्ष दसमा रहे ।
प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००
















तपाईंको प्रतिकृया