"ए" डिभिजन लिग

  • साहुखलको उत्कृष्ट चार गोल

(3 Votes)

काठमाडौ, चैत्र ६ - सन्तोष साहुखल एक्लैले चार गोल गरेपछि सहिद स्मारक सानमिगेल 'ए' डिभिजन लिगमा बिहीबार नबिल थ्री-स्टारले एनआईबी फ्रेन्ड्समाथि ४-० को जित रचेको छ । अर्को खेलमा उमेश उप्रेतीले निर्णायक गोल गरे र एनआरटीले आर्मीविरुद्ध १-० को कठिन जित आत्मसात् गर्‍यो ।

पाँचौं जितसँगै एनआरटी धेरै गोल गरेको आधारमा मनाङ-मस्र्याङदीलाई पछि पारेर दोस्रो स्थानमा उक्लियो । एक स्थान फडको मारेर उसले मनाङ-मस्र्याङदी समान १७ अंक जोडेको थियो । मनाङले चार गोल खाएर नौ गोल गरेको छ । पाँच गोल खाएको एनआरटीले १० गोल गर्‍यो । नेपाली फुटबलमा गर्विलो इतिहास बोकेका दुई क्लब शीर्षस्थानमा रहेको डिफेन्डिङ च्याम्पियन पुलिससँग एक अंकको दूरीमा छन् ।

लिगमा खराब सुरुआत गरेको थ्री-स्टारले पनि चौथो जित दर्ता गर्दै उपाधि होडमा कायमै रहेको बलियो संकेत दिएको छ । तीन स्थानमाथि चौथोमा उक्लिएको दुईपल्टको लिग विजेताको खातामा १४ अंक भएको छ । शुक्रबार टुंगिने आठौं चरणको प्रतिस्पर्धासम्मका लागि शीर्ष सात स्थानमा कुनै परिवर्तन हुने छैन । पाँचौं फ्रेन्ड्स, छैटौं आर्मी र सातौंका मच्छिन्द्रले एक खेल कम खेलेका चारसहित पुच्छरका पाँच टिमभन्दा कम्तीमा चार अंक बढीको स्थितिमा रहेका छन् ।

दिनका पाँचै गोल उत्कृष्ट रहे । यो लिगमा साहुखल एकै खेलमा चार गोल गर्ने पहिलो खेलाडी बने । लिगको दोस्रो ह्याटि्रक आत्मसात् गरेका उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा उक्लिए । थ्री-स्टारले गरेका ११ मध्ये आठ गोल उनको नाममा रहेको छ । यसअघि लिगमा पहिलो ह्याटि्रक गरेका जावलाखेलमा योगेश श्रेष्ठ पाँच गोलसहित सर्वाधिक गोलकर्ता रहेका थिए ।

फ्रेन्ड्सविरुद्ध साहुखलले २१ औं मिनेटमा गोलको खाता खोलेका थिए । जोसलिन मोर्गानको क्रसमा फ्रेन्ड्सका डिफेन्डर दीपक गुरुङले चेस्ट गरेर क्लियर गर्न नसकेको बललाई दस यार्ड दूरीबाट साहुखलले गोलमा परिणत गरेका थिए । अफसाइड ट्रयाप बिट गर्दै उनले ३५ औं मिनेटमा दोस्रो गोल गरे ।

पेनाल्टीबाट ८६ औं मिनेटमा तेस्रो गोल गरेर साहुखलले ह्याटि्रक पूरा

गरे । उनले हेड गरेको बल फ्रेन्ड्स डिफेन्डर दीपक भुसालले गोल लाइनमा हातले रोकेपछि थ्री-स्टारलाई रेफ्री विकास महतले पेनाल्टीको मौका र दीपकलाई रातो कार्ड दिए ।  त्यसमा साहुखलले आकर्षक गोल गरे ।

इन्ज्युरी टाइमको दोस्रो मिनेटमा साहुखलले अर्को गोल थपे । एकल प्रयासमा उनले दायाँ खुट्टाले प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो । उनका थप दुई आक्रमण पनि अब्बल थिए ।

दोस्रो हाफमा प्रदीप महर्जनले हेड गरेको बल गोलपोस्टको खम्बामा लागेर फर्किएको थियो । तीन खेलमा जित हात पारेको फ्रेन्ड्सको बलियो मानिएको मिडफिल्ड जम्न नसकेपछि चौथो हार बेहोर्‍यो ।

'चारै गोल हाम्रो गल्तीले सम्भव भए,' फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले पोस्ट म्याच कन्फिडेन्समा खेलाडीसँग निराशा व्यक्त गरे । 'डिफेन्स कमजोर रह्यो,' उनले थपे, 'सिम्पल मिस्टेकले गोल खायौं । प्रदर्शन पनि राम्रो रहेन । मुभ बुन्न सकेनन् । एटेम्प पनि गरेनन् ।' थ्री-स्टारले स्ट्यान्डर्ड गेम खेलेको उनले बताए ।

लिगमा सर्वाधिक ठूलो अन्तरको जित सहज रहेको थ्री-स्टार प्रशिक्षक बालगोपाल महर्जनले बताए । 'यत्रो स्कोर सोचेका थिएनौं,' उनले भने, 'टिममा दैनिक सुधार हुँदैछ । टिम सेट बन्दै गएको छ । यो जितले कन्फिडेन्स बढाएको छ ।' उत्कृष्ट प्रदर्शन गरेका नयाँ खेलाडीमा पनि चाँडै परिपक्वता आउने उनमा आस छ ।

पन्ध्र वर्षपछि लिग जित्ने अभियानमा रहेको एनआरटीको सफलता ७४ औं मिनेटमा उमेश उप्रेतीले कोरेका थिए । उनले २१ यार्ड दूरीबाट बायाँ खुट्टाले हानेको फ्रि-किक सुन्दर ढंगले निर्णायक गोलमा परिणत भएको थियो । आर्मी दुई सुन्दर मौकामा चुक्यो ।

पहेंलो कार्ड देखाएकाले रेफ्री लव खत्रीलाई अपशब्द व्यक्त गरेका विराजले ९० औं मिनेटमा रातो कार्ड पाएका थिए । त्यसपछि चार मिनेटको इन्ज्युरी टाइममा एनआरटी दस खेलाडीमा सीमित रह्यो ।

थ्री-स्टार ४-० फ्रेन्ड्स

आर्मी ०-१ एनआरटी

आजका खेल

जावलाखेलविरुद्ध आरसीटी

संकटाविरुद्ध ब्वाइज युनियन

 

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।