कामदार बोक्ने विमानलाई क्षेत्रीय विमानस्थल पठाइने

(0 Votes)

काठमाडौ, चैत्र ६ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साघुँरिदै गएका बेला पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कामदार बोक्ने विमान कम्पनीहरूलाई क्षेत्रीय विमानस्थलबाट सेवा सञ्चालन गराउने तयारी गरेको छ ।

पर्यटन वर्षमा आउने पर्यटक संख्यालाई लक्षित गरी यात्रुलाई सहज सेवा दिनका लागि क्षेत्रय विमानस्थल प्रयोग गर्ने सोच बनाइएको पर्यटन सचिव नगेन्द्र घिमिरेले बताए । 'यसबारे छलफल गरिरहेका छौं,' उनले भने, 'तत्काल अन्तर्राष्ट्रिय विमास्थलको भीड कम गर्नका लागि विकल्प खोजिएको हो ।' अहिले त्रिभुवन विमानस्थलबाट २६ अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान गरिरहेका छन् । मन्त्रालयका अनुसार पर्यटन वर्ष २०११ सम्म यो संख्या ३२ पुग्नेछ ।

पर्यटन वर्षमा अहिलेभन्दा दुई गुना बढी पर्यटक ल्याउने लक्ष्य लिएको सरकारले विशेष गरी मध्यपूर्वका र खाडी क्षेत्रका सस्तो भाडादरमा उडान गर्ने (लो कस्ट) कम्पनीलाई अन्यत्रबाट सेवा सञ्चालन गर्न आग्रह गर्ने भएको हो । 'वैदेशिक रोजगारीमा जानेहरू बाहिरी जिल्लाका बढी हुने भएकाले सरकारले कामदार बोक्ने हवाई कम्पनीलाई क्षेत्रीयमा सार्नु यहाँको भीड कम गर्ने महत्त्वपूर्ण उपाय हो,' प्रसिडेन्ट ट्राभल्स एन्ड टुर्सका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले भने ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिघन्टा ७ सय यात्रु धान्ने क्षमता भए पनि ३ हजार ५ सय यात्रुको आवागमन हुने गरेको छ । सन् २००९ मा विमानस्थलबाट कुल ५ लाख ८३ हजार १ सय ३९ नेपाली बाहिर गएका छन् भने ३ लाख ७८ हजार ७ सय १२ बाह्य पर्यटक नेपाल आएका छन् ।

तराईमा रहेका क्षेत्रीय विमानस्थलमध्ये भैरहवा, जनकपुर लगायत अन्य केहीलाई यसका लागि प्रयोग गर्न सकिने सम्भावना रहेको छ । तर त्यसका लागि उडान अवतरणका लागि पर्याप्त धावन मार्ग, नेभिगेसन उपकरण, अध्यागमन काउन्टरलगायत पूर्वाधार आवश्यक पर्छ । त्यसका लागि क्षेत्रीय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार पूर्वाधार विस्तार गर्नुपर्ने बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले बताए ।

'ती विमानस्थलको स्तरोन्नति गरी सुविधा थप गर्नैर् लामो समय लाग्छ,' उनले भने 'सरकारले तत्काल यस्तो व्यवस्था गर्छु भन्नु अर्थपूर्ण हुँदैन ।'

 

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।