औद्योगिक क्षेत्र उद्योगविहीन
सहयोगी लिङ्कहरू
राजविराज, चैत्र ६ - उद्योगी पलायन भएपछि सप्तरीको मलेठस्थित गजेन्द्रनारायण औद्यौगिक क्षेत्र उद्योगविहीन भएको छ । विगतको माओवादी द्वन्द्व र अहिले बढ्दै गएको असुरक्षाका कारण उद्योगी पलायन भएकाले औद्यौगिक क्षेत्र सुनसान बनेको हो । उद्योगहरू बन्द भएपछि त्यहाँका संरचनासमेत जीर्ण बन्दै गएका छन् ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको राजविराज औद्योगिक क्षेत्रलाई ०६३ सालमा सरकारले गजेन्द्रनारायण सिंहको नाममा नामकरण गरेको थियो । २ सय ९४ रोपनी (२२ बिघा) क्षेत्रफलमा फैलिएको उक्त क्षेत्र निर्माणमा भारतले करिब ६० करोड रुपैयाँ खर्च गरेको थियो । २०५० सालमा निर्माण पूरा भई ०५१ सालमा सरकारलाई हस्तान्तरण गरिएको यो क्षेत्र १२ वटा उद्योग सञ्चालन क्षमताको छ । यस क्षेत्रमा २०५८ सम्म १० वटा उद्योग सञ्चालनमा थिए । माओवादी जनयुद्ध विस्तारसँगै उद्योग पलायन हुने क्रम सुरु भएको औद्योगिक क्षेत्रका निमित्त प्रमुख मो. बसिर हुसेनले बताए ।
माओवादी जनयुद्धको प्रभाव सप्तरीमा पर्नुअघि ०५८ सम्म यहाँ बुन्दा तथा अल्मुनियमको भाँडा उद्योग, बाँसका सामग्री बनाउने उद्योग, बेल्डिङ रड बनाउने, प्लास्टिक उद्योगलगायत सञ्चालनमा थिए । जनयुद्ध उत्कर्षमा पुग्नलाग्दा असुरक्षा बढेपछि ती उद्योग पलायन भएको निमित्त प्रमुख बसिरले बताए । असुरक्षाकै कारण देखाउँदै पछिल्लोपटक ०६५ फागुन १ गतेबाट दीपक पोलिमर्स उद्योग बन्द भएको थियो । हाल सञ्चालनमा रहेको एक मात्र उद्योग दीपक प्लास्टिक पनि बन्द हुने तरखरमा छ ।
असुरक्षाका कारण त्यहाँ कर्मचारीसमेत बस्न छाडेका छन् । कार्यालय प्रमुखसहित १० जना कर्मचारीको दरबन्दी रहेको औद्योगिक क्षेत्रमा हाल तीन जना मात्र कर्मचारी बस्ने गरेका छन् । सुरक्षाको प्रत्याभूति नहुँदा कार्यालय प्रमुखसमेत बस्न छाडेपछि आफूले निमित्तको जिम्मेवारी सम्हालेको बसिरले बताए ।
तराईमा बिग्रँदै गएको सुरक्षा अवस्थाका कारण विगत दुई वर्षयता सप्तरीबाट ४८ वटा विभिन्न उद्योग पलायन भएको सप्तरी उद्योग वाणिज्य संघका महासचिव सुरेश सिंहले बताए । उनका अनुसार राइस मिल सबैभन्दा बढी पलायन भएका छन् । अपराधी समूहबारे प्रहरीलाई जानकारी दिँदा त्यो सूचना ती समूहमा पुग्ने गरेको र व्यापारी झन् पीडित हुने अवस्था रहेको उनले गुनासो गरे ।
केही महिनाअघिसम्म सप्तरीमा ३२ वटा राइस मिल सञ्चालनमा थिए । असुक्षाका कारण यसै वर्ष मात्र २० वटा पलायन भइसकेका छन् । 'मिल बन्द हुँदा करिब ३ हजार कामदार बेरोजगार भएका छन्,' सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीराम काबराले भने, 'सुरक्षा अवस्थामा सुधार नआए जसोतसो सञ्चालनमा रहेका उद्योग पनि पलायन हुनेछन् ।'
मागेजति चन्दा नदिएपछि सप्तरीको कल्याणपुरस्थित गिरधारी खाद्य उद्योगका सञ्चालक लालबाबु अग्रवालका एक मात्र छोराको हत्या भएपछि सप्तरीमा उद्योगी व्यापारी त्रसित भई पलायन हुन थालेका हुन् । चन्दा नदिएको झोंकमा जय कृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाका कार्यकर्ताले २०६४ जेठमा अग्रवालका छोरा रिंकुलाई मिल परिसरमै हत्या गरेका थिए ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले व्यापारीहरूलाई जस्तोसुकै अवस्थामा पनि सुरक्षा दिन तयार रहेको बताउँछन् । उनले भने, 'आन्तरिकसँगै भारतीय सीमावर्ती क्षेत्रका आपराधिक गिरोह यहाँ सक्रिय छन् । सुरक्षा व्यवस्था मिलाउन विशेष योजना तयारी भइरहेको छ ।'
प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००
















तपाईंको प्रतिकृया