पुलिसले उछिन्यो मनाङलाई
मनाङ, चैत्र ५ - मस्र्याङदीले बुधबार दोहोरो धक्का बेहोर्यो । मच्छिन्द्रसँग बराबरी खेलेयता उसको प्रमुख प्रतिद्वन्द्वी निस्केको पुलिस शीर्ष स्थानमा उक्लिन सफल रह्यो । डिफेन्डिङ च्याम्पियन पुलिस १८ अंक जोडेर सहिद स्मारक सानमिगेल लिग 'ए' डिभिजन लिगमा अगाडि बढ्यो । उसलाई आठौं चरणको समाप्तिसम्म कसैले उछिन्ने छैनन् ।
मनाङ भने दोस्रोमा झर्यो र पुलिससँग एक अंकको दूरीमा रह्यो । 'डिफेन्डिङ च्याम्पियनका रूपमा त्यसको छवि कायम राख्ने दबाब हामीमा थियो र त्यो रहने छ,' पुलिस प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने, 'यसबीच पुलिसको प्रदर्शनमा सुधार आइरहेको छ ।' मनाङले भने पछिल्ला दुई खेलबाट एक अंकमात्र बटुलेको छ । अरू टिमको तुलनामा मनाङले कम दिन अन्तरमा बढी खेल्नुपरेको आरोप प्रशिक्षक छिरिङ लोप्साङले लगाए । 'पुलिसको तुलनामा हामीले कम समयमा बढी खेल्नुपरेको छ,' उनको भनाइ
थियो । बराबरीका बावजुत मनाङ आठौं चरणको पहिलो खेलमा पनि भाग्यमानी रह्यो । मनाङले २२ औं मिनेटमा अग्रता लिएको थियो र त्यो मच्छिन्द्रको आत्मघाती गोलले सम्भव भएको थियो । किम नामले गरेको प्रहारलाई विक्रम लिम्बूले पोस्टको दिशा दिए । दोस्रो हाफको पहिलो मिनेटमै मच्छिन्द्रले बराबरी गोल फर्कायो । विशाल राईले निकालेको पासलाई कर्ण लिम्बूले गोल गरे ।
'आज हामीलाई भाग्यले साथ दिएन र आत्मघाती गोलले पछाडि रह्यौं,' मच्छिन्द्रका सहायक प्रशिक्षक नरोत्तम शाक्यले भने, 'यसका बावजुत टिमको प्रदर्शन उत्साहजनक थियो ।' विशाल 'सानमिगेल मोस्ट भ्यालुएबल' खेलाडी भए । मच्छिन्द्रको ११ अंक भएको छ ।
उसले मनाङलाई छाडेर थ्री-स्टार, एनआरटी र पुलिससँग बराबरी खेलेको थियो । पुलिसको जितमा भने पर्वत पाण्डेले २५ र जुमनु राईले ८४ औं मिनेटमा गोल गरे । पर्वतले ३५ यार्डबाट गरेको फ्रि-किक प्रहार सुन्दर गोलमा परिणत भएको थियो । जुमनुले पेनाल्टीबाट गोल गरे ।
विशाल श्रेष्ठले रमेश कटुवाललाई लडाएपछि पुलिसले पेनाल्टीको अवसर पाएको थियो । पुलिसका भोला सिलवाल 'सानमिगेल मोस्ट भ्यालुएबल' रहे । लिगमा एपीएफको उतारचढावपूर्ण प्रदर्शन कायम रह्यो । आठ खेलबाट उसको सात अंकमात्र रह्यो । उसले पछिल्ला दुई खेल गुमाएको छ ।
प्रकाशित मिति: २०६६ चैत्र ५ १२:००

















तपाईंको प्रतिकृया