भुटानसँग द्विपक्षीय व्यापार सम्झौता तयारी

(0 Votes)

काठमाडौ, चैत्र ५ - नेपालले भुटानसँग द्विपक्षीय व्यापार सम्झौता गर्नेबारे बुधबार छलफल भएको छ । केही वर्षअघि नै तयार भएको सम्झौताको मस्यौदामा बुधबार छलफल भएको थियो ।

'मस्यौदामा छलफल भयो,' वार्तामा सहभागी वाणिज्य मन्त्रालयका उपसचिव विनोद आचार्यले भने । वार्तामा भुटान पक्षको नेतृत्व त्यहाँका वाणिज्य मन्त्रालयका सहसचिव सोनाम पी वाग्डे र नेपाल पक्षको सहसचिव सूर्य सिलवालले गरेका थिए ।

पछिल्लो समयमा दक्षिण एसियामा सबैभन्द तीव्र गतिले आर्थिक गतिविधि विस्तार गरिरहेको भुटानसँग नेपालले यो सम्झौता गर्दैछ । सन् २००६ देखि यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र भारतसँग पछिल्लो ३ वर्षदेखि व्यापार नाफा छ । २००८ मा भुटानले २१ अर्ब भुटानी मुद्रा बराबरको निर्यात गरेको छ भने १७ अर्बको आयात गरेको छ ।

भुटानको अर्थतन्त्र पछिल्लो समयमा जलविद्युत् निर्माणसँगै तीव्र गतिमा विस्तार भइरहेको छ । सन् २००२ को तुलनामा भुटानको अन्तर्राष्ट्रिय व्यापार ५ गुणा विस्तार भएको छ । कुल निर्यातमा ५१ प्रतिशत हिस्सा जलविद्युत् छ । त्यसपछि भारतीय बजारमा पुग्ने भुटानी उत्पादन मेटल हो । कुल निर्यातमा मेटलको हिस्सा २४ प्रतिशत छ । भारतीय मुद्रासँग बराबर दरमा स्थायी विनिमय दर कायम गरिनुले पनि भुटानको व्यापार विस्तारमा सहयोग पुगेको छ ।

भुटानी जलविद्युत्को बजार भारत हो । जलविद्युत्ले भुटानको कुल गार्हस्थ्य उत्पादनको १२ प्रतिशत हिस्सा राख्छ भने सरकारी राजस्वमा ४५ प्रतिशत योगदान छ ।  

दक्षिण एसियामा भुटान नेपालको तेस्रो ठूलो साझेदार हो । व्यापार प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०६४/६५ मा नेपालले करिब १४ करोड रुपैयाँ बराबरका वस्तुहरू भुटान निर्यात गरेको छ । नेपालले मुख्यतया ट्रान्सफरमर, चाउचाउ र बिस्कुट निर्यात गर्छ । यस अवधिमा आयात भने १३ करोड रुपैयाँको भएको छ ।

 

प्रकाशित मिति: २०६६ चैत्र ५ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।