चिया समुद्रपार निकासी बढ्दो
विराटनगर, चैत्र ५ - अन्तर्राष्ट्रिय बजारमा मौलिक पहिचान कायम गर्न संघर्षरत नेपाली चियाको समुद्रपार निर्यातमा यो आर्थिक वर्षको ६ महिनामा उल्लेख्य वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको आधा अवधिमा करिब २ करोड ५ लाख रुपैयाँको चिया समुद्रपार निकासी भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । यसमा पूर्वी पहाडी जिल्लामा उत्पादित अर्थोडक्स र तराईमा उत्पादित सिटिसी चिया छन् । अघिल्लो वर्षको यही अवधिमा करिब १ करोड ७६ लाख रुपैयाँको चिया समुद्रपार निर्यात भएको थियो ।
नेपाली चिया लैजानेमा दक्षिण कोरिया अग्रपंक्तिमा छ । उसले यो ६ महिनाको अवधिमा २५ हजार ७ सय ५० किलो चिया आयात गरेको छ । यसैगरी जर्मनी, संयुक्त अधिराज्य, चेक रिपब्लिक तथा जापानमा पनि नेपाली चिया जाने गरेको केन्द्रले जनाएको छ । यसैगरी कहिलेकाहीँ दुबई, पाकिस्तान, युएई तथा अमेरिकाले पनि नेपाली चिया लिने गरेको तथ्यांक छ ।
'अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको मौलिक ब्रान्ड इमेज नभएको अवस्था छ,' केन्द्रका क्षेत्रीय प्रबन्धक गौरवकुमार कार्की भन्छन्, 'तैपनि यो अवधिमा नेपाली चिया उल्लेख्य रूपमा समुद्रपारका मुलुकमा निर्यात भएको छ ।'
प्राविधिक कठिनाइ अनि बजारमा उत्पादकको पहुँच कमीले नेपाली चियाले गुणस्तरयुक्त हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा पकड जमाउन समस्या पर्ने गरेको विज्ञहरूको भनाइ छ । यसले गर्दा उत्पादक महत्त्वपूर्ण बजारबाटलिन सकिने अधिकतम लाभबाट टाढै छन् ।
एसियामै सबैभन्दा बढी चिया निर्यात गर्ने मुलुक श्रीलंका र दोस्रोमा पर्ने चीनको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा रहेको नेपाली चिया सोझै तेस्रो मुलुकको बजार पुग्न सके उल्लेख्य फाइदा हुने कृषिजन्य उत्पादनबारे काम गर्ने इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्राइजका कार्यक्रम संयोजक तथा चियाविज्ञ चन्द्रभूषण सुब्बाको भनाइ छ । संसारमै सबैभन्दा बढी चिया आयात गर्ने मुलुक रुसमा नेपाली चिया पुग्न सकेको छैन ।
ताजा तथ्यांकअनुसार नेपालमा १६ हजार ७ सय १८ हेक्टर क्षेत्रमा चिया खेती हुने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार यसमा करिब ९ हजार साना किसान संलग्न छन् ।
निजी स्तरमा गरिएको खेतीबाट ९९ लाख किलो उत्पादन हुने गरेको छ भने साना किसानले ६२ लाख किलो चिया उत्पादन गर्ने गरेको पछिल्लो तथ्यांक छ । इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापालगायत जिल्लामा चिया खेती बढी हुने गरेको छ ।
चियाविज्ञ सुब्बाका अनुसार खरिदकर्ताले उच्च गुणस्तरको माग गर्ने तर निकासी प्रक्रियाका कारण गुणस्तर खस्कने गर्छ । पूर्वी नाकाबाट चिया निर्यात गर्दा भारतको कोलकातामा चिया परीक्षण गराएर रासायनिक पदार्थ एवं विषादी प्रयोगको मात्रा हेरिने गरेको छ । नाकामै परीक्षण सुविधा भए तुरुन्तै रिपोर्ट आएर निर्यात सजिलो हुने सुब्बाको भनाइ छ ।
चियामा विषादी प्रयोगले गुणस्तरसँगै बजार प्रभावित हुने जानकारी किसानस्तरमा पुर्याइँदै गरेको चियाविज्ञ सुब्बाको भनाइ छ । युरोपेली चिया संघले चियालगायत विभिन्न बालीमा प्रयोग हुने डेढ सयभन्दा बढी विषादी प्रयोगमा प्रतिबन्ध लगाउने तयारीस्वरूप कारखाना तथा सम्बद्ध संस्थाहरूलाई पटकपटक सचेत गराइसकेको छ । संघले १ सय ५७ वटा विभिन्न विषादीको नाम उल्लेख गर्दै तिनको प्रयोगको अति न्यून मात्रासमेत खुलाएर नेपालका प्रमुख चिया एवं कृषिबालीसम्बन्धी संस्थालाई केही समयअघि पत्रमार्फत सचेत गराएको थियो ।
प्रकाशित मिति: २०६६ चैत्र ५ १२:००

















तपाईंको प्रतिकृया