अझै लागेन गभर्नरको टुंगो

(0 Votes)
गोकर्ण अवस्थी

११

काठमाडौ, चैत्र ५ - सत्तारूढ कांग्रेस-एमाले विवादका कारण बुधबारको मन्त्रिपरिषदले पनि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सकेन । करिब एक महिनाअघि गभर्नर पदका लागि तीन जनाको सिफारिस भए पनि दुई दलले एक /एक जनामा अडान राखेपछि केन्द्रीय बैंक दुई महिनादेखि गभर्नरविहीन छ ।

मन्त्रिपरिषदमा प्रधानमन्त्रीलगायत एमालेका मन्त्रीहरूले युवराज खतिवडालाई बनाउनुपर्नेमा जोड दिएका थिए भने कांग्रेसका मन्त्रीहरूले त्यसमा सहमति जनाएनन् । 'खतिवडा पार्टीकै मान्छे भएकाले उहाँबाहेक अन्य दुईमध्ये एक जना जो भए पनि हुने अडान कांग्रेसको रह्यो,' कांग्रेसका एक मन्त्रीले भने ।

बैठकपछि साँझ बालुवाटारमा रामचन्द्र पौडेलको नेतृत्वमा कांग्रेस नेताहरू र प्रधानमन्त्रीलगायत एमाले नेतृत्वबीच बेग्लै छलफल भयो । त्यसमा पनि गभर्नरबारे टुंगो लाग्न सकेन । सबै विषय प्याकेजमै टुंगाउनेबारे छलफल भएको बैठकमा सहभागी पूर्वअर्थमन्त्री रामशरण महतले बताए । गभर्नर सिफारिस समितिले खतिवडासँगै अर्थसचिव रामेश्वर खनाल र राष्ट्र बैंकका डेपुटी गभर्नर वीरविक्रम रायमाझीको नाम सिफारिस गरेको थियो । 'एमालेले भने वित्तीय संकटका बेलामा मौदि्रक अर्थशास्त्री खतिवडाले केन्द्रीय बैंक हाँक्न सक्ने दाबी गरेको छ,' ती मन्त्रीले भने । तर कांग्रेसले अन्य दुई अयोग्य भए 'किन सिफारिस गरिएको' भन्ने अडान राखेपछि बैठक बिनानिर्णय टुंगियो । यसअघिका गभर्नर विजयनाथ भट्टराईको कार्यकाल माघ १७ गते सकिएको हो । कांग्रेसले खनाल र रायमाझीमध्ये जो भए पनि हुने बताएको जानकारी ती मन्त्रीले दिए ।

राजनीतिक दलहरूको आआफ्नो स्वार्थका कारण सर्वोच्च  मौद्रिक निकायको प्रमुख नियुक्त हुन नसक्दा वित्तीय क्षेत्रमा अन्योल बढेको छ । वित्तीय परिसूचकहरूले एकपछि अर्को निराशाजनक तस्बिर देखाउँदा केन्द्रीय बैंक नेतृत्वविहीन जस्तै छ । 'अहिले धेरैजसो बैंकहरूले कर्जा दिन बन्द गर्नुपरेको छ,' बैंकर्स संघका उपाध्यक्ष एवं सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले भने, 'यसबारे नयाँ व्यवस्था गर्न पनि गभर्नर नहुँदा कठिन भइरहेको छ ।'

बजारमा खर्च गर्न योग्य रकम (तरलता) को अभाव चुलिँदै गएको छ भने सर्वसाधारणले बैंकहरूमा रकम जम्मा गर्न छोडेका छन् ।

यसले बैंकहरूसँग ऋण लगानी गर्ने पर्याप्त पुँजी छैन । पुसयता वाणिज्य बैंकहरूमा रकम थपिएको छैन । 'पुँजी पलायन पनि भएको हुनसक्छ,' भण्डारीले भने, 'यो अवस्थामा लगानीको वातावरण बनाउन र वित्तीय क्षेत्रको सुधारका नीतिगत व्यवस्था गर्न पनि गभर्नर आवश्यक हुन्छ ।'

इतिहासमै पहिलोपटक देश भित्रिनेभन्दा १९ अर्ब ८० करोड रुपैयाँ बढी बाहिरिएको छ । तरलताको चर्को अभाव भएका बेलामा बजार भाउ १२ प्रतिशतले बढेको छ । खर्चयोग्य रकमको अभाव भइरहेका बेलामा हुने उच्च मूल्यवृद्धि सरकार र मौदि्रक निकायका लागि चासोको विषय हो । गभर्नरविहीन भएकाले केन्द्रीय बैंकले यसबारे चासो लिएको छैन । 'हामीले त दोस्रो बैठकमै तीन जनाको नाम सिफारिस गरेका थियौं,' सिफारिस समितिका सदस्य चालिसेले भने, 'अहिलेसम्म नियुक्ति नहुँदा विशेषगरी तरलता लगायतका विषयहरू सम्बोधन हुन सकेका छैनन् ।'

लामो समय कार्यवाहक गभर्नरको जिम्मेवारीसमेत सम्हालेका र मौदि्रक व्यवस्थापनमा दख्खल राख्ने कामु गभर्नर कृष्णबहादुर मानन्धर पनि चैत ९ गतेदेखि अवकाश लिँदैछन् । मूल्य स्थायित्व र विदेशी विनिमय व्यवस्थापन राष्ट्र बैंकको प्रमुख काम हो । अहिले मूल्य अकासिँदै छ भने विदेशी मुद्राको सञ्चिति घटदै गइरहेको छ । शोधनान्तर घाटा पूर्ति गर्न खर्च भएको विदेशी मुद्राको सञ्चिति घटदै जानु मुलुकको अर्थतन्त्र नै टाट पल्टिने दिशामा अग्रसर हुनु हो ।

 

प्रकाशित मिति: २०६६ चैत्र ५ १२:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।