सहयोग प्रभावित हुने दाताको चेतावनी

(1 Vote)
बलराम बानियाँ

काठमाडौ, चैत्र ५ -  विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) ले आफ्नो लगानीमा सञ्चालित सडक तथा खानेपानी आयोजनामा छिटोछिटो प्रमुख परिवर्तन गरेकामा गम्भीर आपत्ति जनाउँदै त्यस्ता प्रवृत्ति नसच्चिए नेपालले पाउँदै आएको सहयोग प्रभावित हुने चेतावनी दिएका छन् ।

विश्व बैंकका स्थानीय अधिकारी र एडीबीबाट आएको नेपाल मिसनले सरुवाको निर्णय भएको भोलिपल्टै भौतिक योजना तथा निर्माण सचिव पूर्ण कडरिया, अर्थसचिव रामेश्वर खनाललगायत उच्च अधिकारीलाई भेटी त्यस्तो चेतावनी दिएका हुन् ।

भौतिक योजना मन्त्रालयका एक उच्च अधिकारीका अनुसार ती दुई बैंकका अधिकारीले भौतिक योजनामा दर्जन सहसचिवको हेरफेर भएकामध्ये सडक विभागको वैदेशिक सहयोग महाशाखा प्रमुख ध्रुवराज रेग्मी र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कृष्ण आचार्यको छोटो समयमै भएको सरुवाप्रति बढी आक्रोश व्यक्त गरेका हुन् ।

अघिल्लो साता सरकारले भौतिक योजनामन्त्री विजयकुमार गच्छदारको सिफारिसमा रेग्मी र आचार्यलगायतको सरुवा गर्दा एडीबीका जोङसिङको नेतृत्वमा आएको मिसन नेपालमै थियो । एडीबीको मिसन र विश्व बैंकका नेपाल प्रमुख सुसन गोल्डमार्कले भौतिक योजना र अर्थसचिवलाई भेटी आपत्ति जनाएका हुन् ।

उनीहरूले आफ्नो सहयोगमा सञ्चालित ठूलो लगानीका महत्त्वपूर्ण आयोजनामा अनुभवी र सक्षमलाई पन्छाएर मन्त्री या कसैको स्वार्थमा कनिष्ठलाई जिम्मेवारी दिने हो भने सहयोग नै प्रभावित हुने चेतावनी दिएका थिए ।

विश्व बैंकका अधिकारीले आफ्नो अनुदान सहयोगको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टको पहिलो चरणको आयोजना सम्पन्न हुने लागेको र दोस्रो चरणको प्लानिङ भइरहेको महत्त्वपूर्ण समयमा त्यसको नेतृत्व गरिरहेका सडक विभागको वैदेशिक सहयोग महाशाखाका अनुभवी, सक्षम र वरिष्ठ प्रमुखलाई हटाएर किन कनिष्ठ र अनुभवहीनलाई ल्याएको भन्दै उनीहरूले विरोध जनाएका थिए ।'

भौतिक योजना निर्माण मन्त्रालयले सडक विभागको वैदेशिक सहयोग महाशाखा प्रमुख ध्रुवराज रेग्मीलाई सतर्कता केन्द्रमा सरुवा गरेको छ । सडक विभागमा महानिर्देशकपछिको आकर्षक पद मानिने वैदेशिक सहयोग महाशाखा प्रमुखमा भालुवाङ-प्यूठान सडक आयोजनाका इन्दु ढकाललाई ल्याइएको छ ।

एडीबीको मिसनले काठमाडौं उपत्यकामा खानेपानी व्यवस्थापन गर्ने आयोजनाले गति लिन लागेको र धेरैवटा थन्किएका काम सुरु गरिरहेका बेला अनुभवी आयोजना प्रमुखलाई सरुवा गरेर अर्कोलाई किन लगेको भन्दै विरोध जनाएका थिए । एडीबी काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापन तथा मेलम्ची खानेपानी आयोजनाको सबभन्दा ठूलो दाता हो । उसले उपत्यकाको खानेपानी व्यवस्थापनमा ३० मिलियन तथा मेलम्ची खानेपानी आयोजनामा २२ मिलियन अमेरिकी डलर सहयोग गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कृष्ण आचार्यलाई मन्त्रालयको खानेपानी महाशाखा प्रमुखमा सरुवा गरिएको छ । मन्त्रालयको खानेपानी महाशाखा प्रमुख सुमनराज शर्मालाई आचार्यको ठाउँमा सरुवा गरिएको छ ।

विश्व बैंकका अधिकारीले आफ्नो ५० मिलियन अमेरिकी डलर अनुदान सहयोगमा सञ्चालित रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टको प्रथम चरणको आयोजना सम्पन्न हुन लागेको र ९५ लाख मिलियन डलरको दोस्रो चरणको आयोजना सुरु गर्ने तयारी भइरहेका बेला त्यसको नेतृत्व गरिरहेका सडकका वैदेशिक सहयोग महाशाखा प्रमुख परिवर्तन गरेकामा आपत्ति जनाएका हुन् ।

विश्व बैंकको सहयोगमा रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टअन्तर्गत तीन वर्षदेखि सुदूर र मध्यपश्चिममा पाँचवटा सडकमा ३ सय किमिभन्दा बढी सडकमा पिच हुँदैछ । उक्त प्रोजेक्टअन्तर्गत सतबााझबाट दार्चुलाको गोकुलेश्वर ४५ किमि, सतबाँझबाट बैतडी सदरमुकाम ५० किमि, तल्लो ढुंगोश्वरदेखि दैलेख सदरमुकाम ३० किमि, सुर्खेतदेखि खिडीझुला १ सय २६ किमि तथा डँडेल्धुराको खोडपेबाट बझाङ ५५ किमि सडक पिच हुँदैछ । पाँचवटै सडकको पिच आउँदो वर्ष पूरा हँुदैछ ।

विश्व बैंकले नेपालसित रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टको दोस्रो चरणको आयोजना कार्यान्वयन गर्न ७० मिलियन डलर अनुदान दिने समझदारी गरिसकेको छ । दोस्रो चरणको आयोजनामा नेपालले २५ मिलियन डलर खर्च गर्दैछ । आगामी वर्ष सुरु हुने दोस्रो चरणमा गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम ७३ किमि, खोडपेबाट बझाङ सदरमुकाम पुग्ने सडकको बाँकी भाग, खिडी-जुम्ला १ सय ४ किमि, शीतलपाटीदेखि मुसिकोट ८६ किमि, छिन्चु-जाजरकोट ९५ किमि सडक पिच गरिनेछ । दोस्रो चरणको आयोजनासमेत तीन वर्षमा पूरा हुने जानकारी भौतिक योजनाका एक अधिकारीले दिए ।

रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टको दोस्रो चरण मुलुकको सबभन्दा बढी बजेट भएको सडक आयोजना हुनेछ । 'दुवै बैंकले महत्त्वपूर्ण आयोजनाका जिम्मेवार पदमा छिटोछिटो सरुवा गरेकामा गम्भीर आपत्ति जनाए,' भौतिक योजनाका उच्च स्रोतले बैंकका अधिकारीहरूको भनाइ उद्धृत गर्दै कान्तिपुरसित भन्यो, 'विश्व बैंकका अधिकारीले रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टको पहिलो चरण सम्पन्न हुन लागेको र दोस्रो चरणको प्लानिङ भइरहेका बेला अनुभवी, सक्षम र वरिष्ठ रेग्मीलाई हटाएर किन कनिष्ठ र अनुभवहीनलाई ल्याएको भन्दै विरोध जनाए ।'

स्रोतका अनुसार दुवै बैंकका अधिकारीले भौतिक र अर्थसचिवलाई छिटोछिटो परियोजना प्रमुख परिवर्तन गर्ने, अनुभवी र सक्षमलाई भन्दा कनिष्ठलाई पठाउने कार्यले आफ्नो बैंकको सहयोगमा सञ्चालित आयोजनाको काम प्रभावित हुने उल्लेख गर्दै यस्तो प्रवृत्ति नरोक्ने हो भने आफूहरूले दिने सहयोग नै प्रभावित हुने चेतावनी दिएका थिए ।

भौतिक योजना सचिव कडरियाले बैंकका अधिकारीसित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयमा भएको सरुवा छिटो भए पनि त्यहाँ गएका नयाँ योजना प्रमुख अनुभवी र वरिष्ठ रहेको भनेर बचाउ गरेका थिए । आचार्यभन्दा शर्मा वरिष्ठ हुन् । तर सडक विभागका वैदेशिक महाशाखा प्रमुख सरुवाको भने कडरियाले बचाउ गर्न सकेनन् ।

 

प्रकाशित मिति: २०६६ चैत्र ५ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।