सेन्ट्रल ओपन गल्फ
रूपकलाई सुरुआती अग्रता
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र ४ - नम्बर-एक एमेच्योर रूपक आचार्यले दुई अन्डर ७० स्कोर गर्दै सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन मंगलबार अग्रता लिएका छन् । यो सिजन उत्कृष्ट र्फममा रहेका व्यावसायिक खेलाडी रवि खडका उनीभन्दा एक स्ट्रोक पछि दोस्रोमा छन् ।
पार ७२ को गोकर्ण गल्फ क्लबमा रूपकले फ्रन्ट नाइनमा इभन पार ३६ को कार्ड बनाए । ब्याक नाइनमा उनी २ अन्डरमा रहे । 'हिटिङ राम्रो रह्यो,' रूपकले भने, 'दोस्रो दिन अझ राम्रो नतिजा निकाल्ने प्रयास गर्नेछु ।' एक वर्षयता एसियालीस्तरका ५ एमेच्योर च्याम्पियनसिपको अनुभवले पनि उनको प्रदर्शन निखारिएको थियो ।
सात, ९, १५, १७ र १८ औं होलमा पटिङ मिस गरेकाले फराकिलो अग्रता लिने मौका चुकाए । सेकेन्ड शट होलको १० फिट दूरीमा राखेका रूपकले पार ५ को १२ औं होलमा इगल आत्मसात् गरे । आठ एमेच्योर उपाधि जितेका उनी तेस्रो होलमा बर्डी गरे पनि चौथोमा पट मिस गर्दै बोगीमा परे ।
सूर्य नेपाल गल्फ टुर-२००९/१० को पाँचमध्ये दुई प्रतियोगिता जितेका रविले १ अन्डर ७१ को कार्ड बनाए । बोगीबाट खेल सुरु गरेका रविले फ्रन्ट नाइनमा इभन पार र ब्याक नाइनमा १ अन्डर खेले । दस र १२ औं होलमा बर्डी गरे पनि अन्तिममा बोगी बेहोरेकाले उनले शीर्षस्थानमा रहने मौका चुकाए ।
कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कारको चारदिने प्रतियोगितामा पहिलो दिन समान एक ओभर ७३ खेलेका पोखराका दीपक न्यौपाने र धरानका मणि राई संयुक्त तेस्रोमा छन् । प्रो कार्ड लिएर व्यावसायिक गल्फमा डेब्यु गरेका यलम्बर सिंह अधिकारी र राजन थापा दुई ओभरको स्थितिमा संयुक्त पाँचौंमा छन् । उनीहरूभन्दा एक स्ट्रोक पछि एमेच्योर समुद्र गिरी रहे ।
सूर्य शर्मा, सञ्जय लामा र धन थापा समान ४ ओभर ७६ स्कोरमा संयुक्त आठौंमा छन् । तेइस प्रोसँगै उत्कृष्ट १२ एमेच्योर सेन्ट्रल ओपनमा सहभागी
छन् । दोस्रो दिन तीन एमेच्योर हुने छैनन् । गलत बल खेलेकाले दिनेश प्रजापति अयोग्य ठहरिए । निर्धारित २८ ओभरभन्दा बढी खेलेकाले सूर्य दुलाल र अनिल तामाङले निरन्तर खेल्ने मौका चुकाए ।
प्रकाशित मिति: २०६६ चैत्र ४ ०९:४६
















तपाईंको प्रतिकृया