महिलाका लागि मात्र संचालित यातायात सेवा विस्तार हुँदै

(1 Vote)
गीता तिवारी

काठमाडौ, चैत्र ३ - कामकाजी महिलालाई केन्दि्रत गरेर कीर्तिपुर-रत्नपार्क बससेवा सञ्चालन गरिएको छ ।

कार्यालय समयमा सार्वजनिक यातायातका साधनमा यात्रा गर्न महिलाहरूलाई हम्मेहम्मे परेपछि उनीहरूको सुविधालाई ध्यानमा राख्दै मिनीबस व्यवसायी संघले सेवा सुरु गरेको हो ।

कार्यालय जाँदा र घरर्फकदा धक्कमधक्का र ठेलमठेलबाट आहत भएका महिलाले संघप्रति आभार व्यक्त गर्दै सेवा विस्तार गर्न आग्रह समेत गरेका छन् ।

महिलाहरू लागिमात्र सञ्चालन गरिएको बस सेवामा कलिला बालबालिकाबाहेक पुरुषका लागि  निषेधित छ ।

बिहान बेलुकी कार्यालयको समयमा अत्यन्त भीड हुने र महिला यात्रुलाई अन्य बसमा यात्रा गर्न निकै कठिन हुने गरेकाले सेवा सञ्चालन गरिएको सङ्घका अध्यक्ष सिद्धिमान महर्जन बताउछन् ।

उनका अनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म  सञ्चालन हुने सो सेवा उपभोग गर्नेले सार्वजनिक यातायातका अन्य सवारी साधनलाई दिने भाडाभन्दा एकपैसा पनि बढी तिर्नुपर्दैन । 

केही समयअघिसम्म तीनवटा बसबाट सेवा प्रदान हुदै आएकामा यात्रीको चापलाई दृष्टिगत गरी सङ्घले थप सातवटा बस सञ्चालन गर्दै आएको छ ।

नाफा कमाउने नभइ सेवा भावले बस सञ्चालन गरेको उल्लेख गर्दै अध्यक्ष महर्जनलेे भने, 'घाटा होस् या नाफा यसलाई निरन्तरता दिन्छौ'

बच्चासहित यात्रा गरिरहेकी कमला श्रेष्ठले बसमा आफूलाई सुरक्षित र सजिलो महसुस भएको बताउादै सङ्घले महिलाका समस्या बुझेकामा प्रसन्नता प्रकट गरिन ।

यसैगरी अर्की महिला यात्रु सिर्जना गौतमले सेवा विस्तारको कामना गर्दै त्यसले निरन्तरता पाउनुपर्नेमा जोड दिइन ।

अन्य यातायातका साधनलाई भन्दा दुईचार रुपैयाँ बढी तिर्नुपरे पनि आफूलाई उक्त सेवा भरपर्दो लागेको ठमेलकी माया नकर्मी बताउछिन । भाडा बढाएर सेवा सञ्चालन गरेपनि आफूहरूलाई आपत्ति नहुने उनको भनाई छ ।

महिलाहरूका लागि सञ्चालित सेवा भएकाले बस चालक र सहचालक पनि महिला नै राख्ने तयारी गरिरहेको संघले जनाएको छ ।

 

प्रकाशित मिति: २०६६ चैत्र ३ ०४:२३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।