अविश्वास प्रस्तावले अस्थिरताः गृहमन्त्री
नेपालगन्ज, चैत्र ३ - गृहमन्त्री भीम रावलले सरकारविरुद्ध माओवादीले ल्याउने भनेको अविश्वास प्रस्तावले राजनीतिक अस्थिरतामात्र निम्त्याउने बताएका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार आयोजना गरेको पत्रकारसम्मेलनमा उनले माओवादीले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा आˆनो पार्टीले त्यसको डटेर सामना गर्ने बताए ।
विशेष सुरक्षा योजना लागू भएपछि मुलुकको शान्तिसुरक्षा सुदृढ हुँदै गएको दाबी गर्दै गृहमन्त्री रावलले सुरक्षा निकायमा रहेर अपराधीसँग साँठगाँठ गर्ने प्रहरीलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने चेतावनी दिए ।
निर्धारित मितिमा संविधान जारी गर्न तथा शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन माओवादी कार्यशैली बाधक भएकाले मुलुक राजनीतिक अस्थिरताको भूमरीमा फस्दै गएको उनको तर्क थियो ।
उनले माओवादी लडाकूलाई परिचयपत्रका आधारमा मात्र भत्ता दिनुपर्ने विचार व्यक्त गर्दै अनमिनसँग उनीहरूको यथार्थ विवरण माग गरिएको स्पष्ट पारे ।
यसैबीच एमाले नेता बामदेव गौतमले तोकिएको मितिमा संविधान जारी नभए मुलुक गृहयुद्धमा फस्ने आशङ्का व्यक्त गरे ।
उनले मंगलबार यहाँ आयोजित एक कार्यक्रममा आगामी जेठ १४ मा संविधान घोषणा नभए हतियार हुनेको हातमा सत्ताको साँचो पुग्ने ठोकुवा गरे ।
एमाले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने पक्षमा रहेको बताउादै उनले माओवादीले आफूलाई नागरिक पार्टीका रुपमा रुपान्तरण गरेमा उसलाई सरकारको नेतृत्व दिन सकिने बताए ।
समयमा संविधान जारी गर्न दलहरू साझा सहमतिमा पुग्नुबाहेक अरु विकल्प नरहेको बताउँदै उनले संविधान निर्माणसँगै माओवादी लडाकूको समायोजनलाई पनि टुङ्गोमा पुर्याउनु आवश्यक भएको उल्लेख गरे ।
प्रकाशित मिति: २०६६ चैत्र ३ १२:५१

















तपाईंको प्रतिकृया