मनाङमस्र्याङदीको पहिलो हार
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र ३ - शीर्षस्थानको मनाङमस्र्याङदीले सहिद स्मारक सानमिगेल 'ए' डिभिजन लिगमा पहिलो हार सोमबार बेहोरेको छ । कीर्तिमान ६ पल्टको लिग च्याम्पियनलाई एनआरटीले २-० ले हराएको हो ।
संकटामाथि २-१ को कठिन जित हासिल गर्दै नबिल थ्री-स्टारले पनि उपाधिको दौडमा र्फकने संकेत गरेको छ । लगातार दोस्रो जितले पाटनको क्लब पहिलोपल्ट शीर्ष पाँचमा पुगेको छ । जम्मा तीन जित, उति नै बराबरी र दुई हारको नतिजा बेहोर्दै ११ अंक बनाएको उसले दुई स्थानको फड्को मार्यो ।
एक खेल जितेर पाँच हार खेपेको संकटा तीन अंकमा पुछारमा रहेको छ । एनआरटीको जितले मनाङमस्र्याङदीलाई फरकिलो अग्रता लिनबाट रोकेर उपाधिको होडलाई खुकुलो बनाएको छ । सातौं चरणमा बेहोरेको हारका बाबजुद पनि मनाङमस्र्याङदी १६ अंकमा लिगको शीर्ष स्थानमा यथावत् रहेको छ । चौध वर्षपछि लिग जित्ने योजना बुनेको एनआरटी महत्त्वपूर्ण जितसँगै १४ अंक जोडेर तेस्रो स्थानमा उक्लियो । डिफेन्डिङ च्याम्पियन पुलिस १५ अंकमा दोस्रोमा छ । मनाङमस्र्याङदीको हारले पुलिस लिगमा अपराजित एक्लो टिम रहेको छ ।
एनआरटीले दुवै हाफमा एक-एक गोल गर्यो । रोशन लामिछानेले ३९ औं मिनेटमा उत्कृष्ट गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । सब्स्िटच्युट सुवास गुरुङको ब्याक पास सदुपयोग गर्दै रोशनले १५ यार्ड दूरीबाट सशक्त रूपमा बायाँ खुट्टाले प्रहार गरेको बल सुन्दर गोलमा परिणत भएको थियो ।
हेड गर्ने क्रममा पाल्साङ लामासँग ठोक्किएर टाउको फुटेपछि अस्पताल लगिएका सुवास राईको स्थानमा ३२ औं मिनेटमा मैदान प्रवेश गरेका सुवास गुरुङले दोस्रो गोल गरे । जम्मा ४७ मिनेट मैदानमा रहेका सुवासले जीवन सिन्केमानको पासमा नजिकबाट हेड गर्दै बललाई जाली चुमाएर एनआरटीको जित निश्चित गरेका थिए । घाइते सुवास काटिएको टाउकोमा टाका लगाएर अस्पतालबाट फर्केका छन् ।
लगातार दुई खेलमा पहेंलो कार्ड पाएका जगजित श्रेष्ठ, गणेश खड्का र कोरियाली ली जी ह्योनको अनुपस्थितिमा मनाङमस्र्याङदीको प्रदर्शन फितलो रह्यो । गोल गर्ने तीन सुन्दर अवसरमा उसका खेलाडी चुके । उनीहरू गतिलो आक्रमण गर्न पनि असफल रहे । एनआरटीले भने थप तीन आक्रमण गर्यो र दुई गोलका मौका पनि चुकायो ।
'पहिलो रोजाइका तीन खेलाडीको अनुपस्थितिको फाइदा एनआरटीले उठायो,' हारमा निराश मनाङमस्र्याङदीका प्रशिक्षक छिरिङ लोप्साङले भने, 'खेलेका चार खेलाडी पनि घाइते स्थितिमा थिए ।' बेञ्चमा राम्रा खेलाडी नभएकाले घाइतेलाई खेलाउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।'तीन अंक महत्त्वपूर्ण हो,' एनआरटी प्रशिक्षक डिकेन सुवालले भने, 'बि्रफिङ गरे अनुसारकै खेल खेलेकाले प्रदर्शन राम्रो रह्यो ।'
एक गोलले पछि परेको स्थिति उल्टाएर थ्री-स्टारले संकटाको चुनौती पन्छाएको थियो । निराजन मल्लको लोभ लाग्दो गोलको सहयोगमा १४ औं मिनेटमै संकटा अघि बढेको थियो । उच्च प्रदर्शनको आश गरिएको निराजनको लिगमा यो पहिलो गोल हो । विजय गुरुङले २३ यार्ड दूरीबाट पि|m-किकमा बायाँ खुट्टाले प्रहार गरेको बलले आकर्षक रूपमा जाली चुमेपछि थ्री-स्टार २८ औं मिनेटमा १-१ को बराबरीमा पुगेको थियो ।
दोस्रो गोलको पनि विजयकै प्रयासमा सम्भव भयो । उनले ४७ औं मिनेटमा प्रहार गरेको कर्नर किकमा हेड गर्दै सन्तोष साहुखलले निणर्ायक गोल गरेका थिए । योसँगै लिगमा उनको गोल संख्या ४ पुगेको छ । कठिन समयमा निणर्ायक गोल लिगमा उनले थ्री-स्टारलाई अंक दिलाउँदै आएका छन् ।
सुरुको २० मिनेट यू-१९ को खेलाडीले भरिएको संकटा हावी भएको थियो । अञ्जान केसीले २५ औं मिनेटमा प्रहार गरेको बल क्रसबारमा लागेर बाहिरिएसँगै थ्री-स्टार उत्कृष्ट लयमा फर्केको थियो ।
कप्तान कैलास डंगोलले ७५ औं मिनेटमा दोहोरो पहेंलो कार्ड अर्थात् रातो कार्ड पाएर मैदान छाडेपछि संकटा दस खेलाडीमा सीमित रह्यो । फउल खेलेकाले चार मिनेट अघिमात्र पहेंलो कार्ड पाएका कैलासले रेप|mी सुदीश पाण्डेविरुद्ध आक्रामक रूप देखाएपछि रातो कार्ड पाएका थिए । संकटाका कमल विष्टले पनि पहेंलो कार्ड पाए । सानमिगेल म्यान अफ द म्याच एनआरटीका रन्जित श्रेष्ठ र थ्री-स्टारका रिपेश अग्रवाल भए ।
एनआरटी २-० मनाङमस्र्याङदी
थ्री-स्टार २-१ संकटा
प्रकाशित मिति: २०६६ चैत्र ३ ०९:४१
















तपाईंको प्रतिकृया