चीनले छानेका सय जनामा दाहाल
काठमाडौ, चैत्र ३ - चीनले चर्चित 'सांघाई एक्स्पो' का अवसरमा विश्वभरिबाट छानेका सय व्यक्तित्वहरूमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि परेका छन् । आउँदो वैशाख १८ देखि कात्तिक १४ सम्म चल्ने यो विश्व प्रदर्शनीको एउटा विशिष्ट अन्तक्रिर्यामा भाग लिन उनलाई पनि आमन्त्रण गरिएको छ ।
विज्ञान प्रविधि, औद्योगिक उत्पादन, आर्थिक विकासलगायतको प्रदर्शनीका अवसरमा हुने अन्तक्रिर्यामा विश्वका चर्चित सय व्यक्तिसँगै माओवादी अध्यक्षले भाग लिन लागेका हुन् ।
'अध्यक्ष प्रचण्ड सांघाईमा विश्व प्रदर्शनीका अवसरमा हुने अन्तक्रिर्यामा सहभागी हुनु पार्टीका लागि मात्र होइन, देशका लागि पनि खुसी र गौरबको कुरा हो,' विदेश विभाग प्रमुख कृष्णबहादुर महराले कान्तिपुरसँग भने, 'अन्तक्रिर्याबाट आर्थिक, प्राविधिक आदि मुलुकको हितका लागि उपयोगी हुने विश्वास छ ।'
सांघाई एक्स्पोमा एक सय ९२ देश र ५० अन्तर्राष्ट्रिय संघसंस्था सहभागी हुँदैछन् । चीनले गत वर्षको ओलम्पिक खेल र ५० वर्ष पुगेका अवसरमा गरेको सैन्य परेडलाई शक्ति प्रदर्शनका रूपमा देखाएको थियो । सांघाई एक्स्पोलाई उसले आर्थिक, प्राविधिक, औद्योगिक र सांस्कृतिक शक्ति प्रदर्शनका रूपमा लिएको छ ।
अध्यक्ष दाहालले एक्स्पोलाई 'उदाउँदा देशहरूको नमुना' हुने भन्दै शुभकामनापत्र पठाएका छन् । 'यो पक्कै पनि नेपालजस्ता छिमेकी देशका लागि चासोको विषय हो,' उनले पत्रमा भनेका छन्, 'हामी चीनको आधुनिक विकासले नेपालजस्ता गरिब र छिमेकी देशको विकासमा सहयोग पुग्नेमा विश्वस्त छौं ।' उनले प्रदर्शनी 'एक्काइसौं शताब्दीमा चीनको शान्तिपूर्ण राजनीतिक र आर्थिक रूपमा उदाउँदो शक्तिशाली राष्ट्र' का रूपमा हुने उल्लेख गरेका छन् ।
एक्स्पो दुई सय देशका करिब सात करोडले अवलोकन गर्ने अनुमान छ । 'चीनको दिगो विकासका लागि गरेको कामले विशेष गरी दक्षिण एसियामा महत्त्व राख्नेछ,' दाहालको पत्रमा उल्लेख छ, 'हामी चिनियाँ साथीहरूसँग मिलेर यसलाई खुसीको एउटा अवसरसाथ मनाऔं ।'
सांघाई अन्तक्रिर्यामा सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान हु, जर्मनीका पूर्वचान्सलर ग्रेहार्ड स्रोडर, वातावरणविद् अछिम स्टेनर, अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुख ज्याकोब केलेनवर्गर, अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जर, लन्डनका मेयर बोरिस जोह्नसन, पाकिस्तानका पूर्वप्रधानमन्त्री सौकात अजिज, सान प|mान्सिस्कोका मेयर गेभिन न्युजन, सिटी बैंकका सल्लाहकार रोबर्ट लरेन्स कुह्न आदिसँगै माओवादी अध्यक्ष दाहाल अन्तक्रिर्यामा सहभागी हुनेछन् ।
त्यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पूर्वअध्यक्ष जुँवा अन्टोनियो सामारान्च, हंगेरीका पूर्वप्रधानमन्त्री पिटर मेडग्येसे, जापानका पूर्वविदेशमन्त्री कोमुरा मासाहिको, अमेरिकी कम्पोजर क्विन्सी
जोन्स, नोबल पुरस्कार बिजेता अर्थशास्त्री रोबर्ट जोन अउमान, अर्का नोबेल विजेता रसायनशास्त्री मारियो मोलिनालगायत प्रतिष्ठित व्यक्तिहरू त्यहाँ सहभागी हुने चीनले जनाएको छ ।
चीन सरकारले एक्स्पोलाई परम्परागत र भविष्यको परिदृश्यका रूपमा लिएको छ । 'आउँदो ६० वर्षको कुरा दिमागमा राखेर छ महिनामा तयारी गरेको' चिनिया अधिकारीहरूको भनाइ छ ।
प्रदर्शनीमा विश्वमा उत्पादन भएको वस्तु र प्रविधिहरू राखिन्छन् भने त्यहाँ अबौर्ं डलरको कारोबार हुन्छ ।
माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री हुनेबित्तिकै ओलम्पिक खेलमा भाग दिन चीन जाँदा भारतले 'आशंका' प्रकट गरेको थियो । त्यसपछि माओवादीतर्फबाट उनी र विदेश विभाग प्रमुख महराले केही महिनाअघि भ्रमण गरी राष्ट्रपति हु जिन्ताओलगायत चीनका उच्च नेताहरू पार्टी सम्बन्ध, दक्षिण एसियाको राजनीति आदि विषयमा एक साता लामो छलफल गरेका थिए ।
प्रकाशित मिति: २०६६ चैत्र ३ ०८:२१

















तपाईंको प्रतिकृया