राष्ट्रपतिले संविधान निर्माणबारे राजनीतिक भेटघाट थाले

दुर्गा खनाल

काठमाडौ, चैत्र २ - राष्ट्रपति डा. रामवरण यादवले संविधान निर्माणमा बढदै गएको अन्योलप्रति गहिरो चासो देखाउँदै राजनीतिक भेटघाट सुरु गरेका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधान निर्माणको समय नजिकिँदै जाँदा राजनीतिक वातावरण त्यसतर्फ केन्दि्रत नभएपछि उनले सरोकारवालाहरूसँगको छलफललाई तीव्रता दिएका हुन् ।

उनले सोमबार संविधानसभा अध्यक्ष सुवास नेम्बाङसँग संविधान निर्माणको अवस्थाबारे जानकारी लिए । झन्डै एक घन्टा लामो भेटघाटमा राष्ट्रपति यादवले समयमै संविधान बनाउने योजनाबारे सभामुखसँग जानकारी मागेका थिए । उनले समयमै संविधान बन्न सक्छ कि सक्दैन, बन्दैन भने के कारणले नबन्ने हो त्यसबारे सभामुखबाट जानकारी मागेको राष्ट्रपति कार्यालय स्रोतले जनायो ।

राजनीतिक दलहरूबीचका संवाद निष्कर्षमा पुग्नुको सट्टा सरकार परिवर्तन र टिकाउने विषयतर्फ केन्दि्रत भइरहेको अवस्थ्ाामा राष्ट्रपतिले संविधान निर्माणको मुद्दामा सरोकार देखाएका हुन् । संविधान जारी गर्ने अन्तिम सीमा अब ७३ दिन मात्र बाँकी रहेको अवस्थामा माओवादी सरकारविरुद्घ अविश्वास प्रस्ताव ल्याउन सकिन्छ कि भन्ने ध्याउन्नमा छ भने सत्तारूढ दलहरू गठबन्धन जोगाइराख्ने कसरतमा छन् ।

सभामुख नेम्बाङले संविधान निर्माणको अहिलेको अवस्थाबारे आफूले राष्ट्रपतिलाई विस्तृत जानकारी गराएको बताए  । 'राष्ट्राध्यक्षको चासो हुनु स्वाभाविक हो,' उनले कान्तिपुरसँग भने, 'मैले दलहरूसँग भइरहेको निरन्तर छलफल र अहिलेसम्मको प्रगतिबारे जानकारी गराएँ ।'

उनले शनिबार प्रधानमन्त्री माधवकुमार नेपाल र आइतबार संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यसँग आफ्नै कार्यालयमा छलफल गरेका थिए ।

राष्ट्रपति यादव संविधान निर्माणमा भइरहेको अन्योलताप्रति चिन्तित छन् । उनले संवैधानिक दायरा बाहिर नगई संविधान निर्माण अन्योलतालाई आफूले केही सघाउ पुर्‍याउन सकिन्छ कि भन्ने मनसाय नेताहरूलाई व्यक्त गरेका छन् । उनले अझै केही दिन राजनीतिक दलका नेताहरूसँगको भेटघाट जारी राख्ने स्रोतले बतायो ।

राष्ट्रपतिले सभामुखसँग यदि संविधान बन्न नसके त्यसको विकल्प के हुने भन्ने चासो पनि राखेका थिए । नेम्बाङले यस विषयमा खुलाउन चाहेनन् । 'तोकिएकै समयमा संविधान जारी गर्नु निर्विवाद विकल्प हो,' सभामुख नेम्बाङले भने, 'सहमतिका लागि अझै दलहरूबीच गम्भीरतापूर्वक छलफल भइरहेको मैले जानकारी गराएँ ।' उनले विषयगत समितिका प्रतिवेदन तयार भएर ऐतिहासिक चरण पूरा भए पनि संविधानसभाका ११ समितिमध्ये ९ वटाका विवादमा अझै मिल्न नसकेको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।

राष्ट्रपतिले आइतबार संवैधानिक समितिका सभापति आचार्यसँग पनि अहिलेको  जटिलताबारे जानकारी लिएका थिए । स्रोतका अनुसार संविधान निर्माणको कठिनाइपूर्ण अवस्थाबाट अब कसरी अगाडि बढ्न सकिन्छ भन्ने जिज्ञासा आचार्यसँग राखेका थिए । आचार्यले शासकीय स्वरूप, संघीयता, संविधानवादका सिद्घान्त अवलम्बन गर्ने/नगर्ने, शक्तिपृथकीकरणको सिद्घान्त लगायत केही महत्त्वपूर्ण विवादको निरूपण नहुन्जेल संविधान निर्माणको काम अघि बढ्न नसक्ने जानकारी गराएको स्रोतले जनायो । यसअघि संवैधानिक समितिको बैठकमा  पनि आचार्यले शीर्ष नेताहरूसँग संविधान समयमै जारी गर्नका लागि तत्काल केही महत्त्वपूर्ण र विवादित विषय तत्काल मिलाउनुपर्ने बताएका थिए ।

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]