रेफ्रीमाथि व्यापक असन्तोष
काठमाडौ, चैत्र २ - 'रेफ्रीको निर्णयले मलाई दुखित बनाएको छ । नेपाली रेफ्रीले धेरै सिक्न बाँकी छ । यस्तोले लिग चल्दैन,' मच्छिन्द्र प्रशिक्षक ध्रुव केसीको भनाइ । पुलिस प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पनि माने, 'नेपाली रेफ्रीमा पि्रजेन्स अफ माइन्ड छैन ।' अझ एपीएफ प्रशिक्षक महेश्वर मुल्मीले थपे, 'अहिले रेफ्रीको एकल निर्णय चलिरहेको छ, यसले टिमको मिहिनेत डुबाउँछ ।'
सहिद स्मारक सानमिगेल लिग 'ए' डिभिजनमा आइतबारका खेलमा रेफ्रीमाथि व्यापक असन्तोष देखा पर्यो । पुलिस र मच्छिन्द्रको गोलरहित बराबरीमा रेफ्रीको निर्णयमा असहमतिपछि दर्शकले उपद्रो पनि मच्चाए । यसले पश्चिमतर्फको दर्शकदीर्घा लामो समय तनावपूर्ण रह्यो । दोस्रो हाफमा मच्छिन्द्रको निश्चित देखिएको गोललाई अफसाइड दिएपछि असन्तोष छाएको हो ।
कर्ण लिम्बूले सुरुमा गरेको प्रहार पुलिस गोलरक्षक रितेश थापाले जोगाएपछि फर्केको बलमा विशाल राईले प्रहार गरेका हुन् । त्यसले पोस्टका दिशा तय गरेपछि लाइन्सम्यान नानीराम थापाले त्यसलाई अफसाइड दिए । मच्छिन्द्रको दाबी रिबाउन्डमा अफसाइड नहुने थियो । विशाल अफसाइड स्थितिमा थिएनन् र उनले रिबाउन्डमा अगाडि बढेर प्रहार गरेका हुन् ।
बराबरीपछि पुलिसले शीर्ष स्थान कब्जा गर्ने मौका गुमायो । पुलिसको १५ अंक भएको छ भने मच्छिन्द्रको १० अंक पुगेको छ । त्यसमा मच्छिन्द्रका रोहित चन्द 'सानमिगेल मोस्ट भ्यालुएबल प्लेयर' भए । अर्कोतर्फ सुरुआती दुई खेल गुमाएको फ्रेन्ड्सको लिगमा उत्कृष्ट पुनरागमन कायम रह्यो । उसले चौथो जितका लागि एपीएफलाई ३-१ ले हरायो ।
फ्रेन्ड्सको १२ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । यो खेलका विशेषता सुरुआती दुई 'फ्लुक' गोल रहे । एपीएफका टंक लामाले आठौं मिनेटमा गरेको
प्रहार दीपक थापाको खुट्टामा डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो । पुकार गहतराजले १९ औं मिनेटमा गरेको प्रहार एपीएफ गोलरक्षक सविन रेग्मीले ठीक अनुमान लगाउन सकेनन् र बल उनलाई नाघेर पोस्टतर्फ लागेको थियो ।
त्यसयता ५२ औं मिनेटमा अजाद प्रधान र ७२ औं मिनेटमा भरत खवासले पेनाल्टीबाट गोल गरे । फ्रेन्ड्सका सुशील केसी 'सानमिगेल मोस्ट भ्यालुएबल प्लेयर' भए । एपीएफको यो चौथो हार हो र टिम सात अंकमै सीमित रह्यो ।
फ्रेन्ड्स प्रशिक्षक मृगेन्द्र मिश्र जितमा खुसी रहे । 'हाम्रा लागि तीन अंक महत्त्वपूर्ण थियो, त्यो अनुसारको नतिजा आयो । हाम्रो टिम युवा छ, यसका बावजुत टिम राम्रो छ,' उनले भने ।
पुलिस ०-० मच्छिन्द्र
फ्रेन्ड्स ३-१ एपीएफ
प्रकाशित मिति: २०६६ चैत्र २ ०९:५२

















तपाईंको प्रतिकृया