रकम असुल्ने प्रहरी जवान पक्राउ
सहयोगी लिङ्कहरू
काठमाडौं, चैत्र १ - प्रहरीमा आएको सूचनाका आधारमा रकम असुल्ने एक प्रहरी जवान आइतवार पक्राउ परेका छन ।
प्रहरी जवान महेश पाण्डेलाई नक्कली रक्सी बनाउने दुई जनाको समूहलाई धम्क्याएर रकम असुल्ने क्रममा कोटेश्वरको प्रहरीले पक्राउ गरेको थियो । कोटेश्वरले थप अनुसन्धानका लागि वानेश्वर वृत्तमा बुझाएको पाण्डे र शंकास्पद दुई जनालाई अनुसन्धानका लागि आइतवार राती नै हनुमानढोका पठाइएको छ । प्रहरीका अनुसार नक्कली रक्सी बनाउने अभियोग लागेकाहरु बुद्ध दराई र यज्ञनाथ श्रेष्ठ हुन । उनीहरुका साथबाट प्रहरीले नक्कली रक्सी सम्बन्धी केही बरामद भने गरेको छैन ।
अभियुक्त पाण्डेले उनीहरुलाई नियन्त्रणमा लिई पचास हजार नगद असुलेका थिए भने थप ७० हजार लिनका लागी कागज गराएका थिए । असुल्न बाकी ७० हजारका लागी पाण्डेले ती दुई जनाबाट एउटा मोटरसाइकल पनि जबरजस्ती खोसेर नियन्त्रणमा लिएको कोटेश्वरका सई प्रकाशबहादुर सिंहले बताए ।
सूचनाका आधारमा 'सादा पोशाकका घुमुवा प्रहरीले' नगद र मोटरसाइकल लिइसकेको सूचना पाएपछि वानेश्वर र कोटेश्वरका वरिष्ठ अधिकृतहरु ती फरार प्रहरीलाई पक्राउ गर्न सक्रिय भएका थिए ।
'उसैले भनेको एक दर्जन भन्दा बढी स्थानमा पछ्याउदै जानेक्रममा मात्रै पाण्डेलाई पक्राउ गर्न सकियो,' वानेश्वर वृत्तको डिएसपी गणेश एैरले भने, 'बौद्ध, दक्षिणढोका, वानेश्वर, बागबजार लगायतका अनेक स्थानमा बोलाउदै जादा अन्तमा पाण्डे मोटरसाइकल सहित तीनकुनेबाटै पक्राउ परे ।' पाण्डेले अन्य तीन सहयोगीसग मिलेर पैसा असुलेको प्रहरीलाई बताएका छन ।
पक्राउ परेको पाण्डेको साथबाट प्रहरी कर्मचारी भएको कुनै कागजात नभेटिएपनि उनले आफू प्रहरी जवान भएको बताएका छन । पाण्डेले दिएको बयान अनुसार उनको दरबन्दी पर्सा जिल्ला हो, हाल उनी काठमाडौमै घुमुवाको रुपमा कार्यरत छन । उनी कसको मातहत कार्यरत थिए भन्ने हालसम्म खुल्न सकेको छैन । घुमुवा प्रहरी उच्च अधिकृतको निर्देशनमा सूचना संकलनमा परिचालित हुन्छन् ।
प्रकाशित मिति: २०६६ चैत्र १ ०९:२८
















तपाईंको प्रतिकृया