कोइरालाको स्वास्थ्य फेरि बिग्रियो/अस्पतालमा भर्ना
काठमाडौं, चैत्र १ - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य फेरि बिग्रिएपछि आइतबार साँझ उपचारका लागि सहिद गंगालाल ह्रदय केन्द्रमा लगिएको छ ।
८६ बर्षिय कोइराला क्रनिक अब्सट्रक्टिभ पल्मोनरी डिजज (सीओपीडी) बाट पीडित छन् । दिउँसोदेखि उनको स्वास्थ्यमा जटिलता आएको थियो । घरमा उपचार सम्भव नभएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।
एकसाता अघि पनि समस्या भएपछि महाराजगञ्जस्थित निवासमै कोइरालाको स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्यमा खराबी देखिएपछि परिवारले विदेश लैजाने तयारी गरेपनि कोइरालाले त्यस्तो प्रस्तावलाई अस्वीकार गरेका थिए । स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार उनी आफ्नै छोरी तथा उपप्रधानमन्त्री सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा सरेका थिए ।
कोइरालाको फोक्सो धूमपानका कारण नराम्रो अवस्थामा रहेको चिकित्सकहरूले बताउँदै आएका छन् । क्रनिक अब्सट्रक्टिभ पल्मोनरी डिजजु (सीओपीडी) को जटिलताले गर्दा उनलाई हाल अक्सिजन छाड्नै नमिल्ने भएको छ । यो समस्यामा श्वासप्रश्वास बाधित हुन्छ । सीओपीडीका कारण फोक्सामा परेको असर निको पार्न सकिँदैन ।
चिकित्सकहरूले कोइरालालाई धूमपान नगर्न, बढी तरल पदार्थ सेवन गर्न र तनावमा नरहन सल्लाह दिँदै आएका थिए । चिकित्सकको परामर्शमा कोइरालाले इनहेलर, स्टेराइड, अक्सिजन थेरापी र एन्टिबायोटिक लिँदै आएका छन् । जनआन्दोलनताका दमलगायत समस्याले निकै च्यापेपछि कोइरालाले तीन वर्षयता चुरोट छाडेका छन् । एक वर्षअघि उनले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।
प्रकाशित मिति: २०६६ चैत्र १ ०६:५७

















तपाईंको प्रतिकृया