ब्वाइजको बहादुरीपूर्ण पुनरागमन

(1 Vote)

काठमाडौ, चैत्र १ - राम्रो खेल्न बिर्सेको थ्री-स्टारले शनिबार कम्तीमा जित हात पारेको छ । उसले त्यसका लागि छिमेकी जावलाखेलाई हरायो । राम्रो खेल्ने बानी सुरु गरेको ब्वाइज युनियनले भने उत्कृष्ट पुनरागमन रच्यो । उसले आर्मीविरुद्ध छ गोलको रोमाञ्चक खेलमा बराबरी निकाल्यो । आर्मीले दुईपल्ट दुई गोलको अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

आर्मी २-० र ३-१ को स्थितिमा रहेर पनि एक अंकमा चित्त बुझाउन बाध्य रहेको हो । सहिद स्मारक लिग 'ए' डिभिजनमा छैटौं चरणको समाप्तिमा थ्री-स्टार र आर्मीको आठ-आठ अंक

रह्यो । ब्वाइज युनियनको पाँच अंक भएको छ । यो पाँच अंक पछिल्ला तीन खेलमा प्राप्त भएको हो । जावलाखेल चार अंकमा सीमित रह्यो ।

ब्वाइज युनियनले राम्रो सुरुआत भने लिएन र पाँचौं मिनेटमा सागर घिमिरेले आत्मघाती गोल गरे । खेलले आधा घन्टा छुँदा राजु तामाङले दोस्रो गोल थपे र आर्मीले आरामदायी जित हात पार्ने संकेत देखापरेको थियो । यसबीच सुदीप लिम्बूले ४० औं मिनेटमा ब्वाइज युनियनका लागि र ७६ औं मिनेटमा बीबीराज लिम्बूले आर्मीका लागि गोल गरे ।

आर्मीको दुई गोलको अन्तर मेटिएको थिएन । यहाँबाट ब्वाइज युनियनको उत्कृष्ट पुनरागमन सुरु भयो । कमल श्रेष्ठले ७८ औं मिनेटमा गोल गरे । इन्ज्युरी समयमा असिम कार्कीले २५ यार्डबाट गरेको शक्तिशाली प्रहार सुन्दर गोलमा परिणत भएको थियो । मच्छिन्द्रलाई हराएयता मनाङ- मस्र्याङदीलाई पनि बराबरीमा रोकेका आफ्ना खेलाडीप्रति प्रशिक्षक प्रभावित रहे ।

कुमार कटुवालले भने, 'हाम्रा खेलाडीको प्रदर्शनमा म खुसी छु, प्रभावित छु ।' स्वाभाविक रूपमा आर्मी प्रशिक्षक राजु शाक्य निराश रहे । उपाधिको उद्देश्य साँचेको आर्मीलाई अब त्यहाँसम्म पुग्न गार्‍हो हुने उनले

स्वीकारे । शाक्यले भने, 'अब धेरै आस गर्न सकिन्न, गार्‍हो भएको छ ।' उनलाई आफ्ना खेलाडीले निर्देशनअनुसार नखेलेकामा गुनासो थियो ।

आर्मीले पछिल्ला चार खेलमा दुई अंकमात्र बटुलेको छ । चार खेलपछि पहिलो जित हात पारेको थ्री-स्टारका लागि भने सन्तोष साहुखलले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेट र अञ्जन केसीले ६४ औं मिनेटमा गोल

गरे । ७४ औं मिनेटमा जावलाखेलका योगेश श्रेष्ठले गोल गरे । यससँगै योगेशको लिगमा व्यक्तिगत गोल संख्या पाँच पुगेको छ ।

थ्री-स्टारले तान्जानियाली खेलाडी मोस्टोरो मुम्बारालाई मिडफिल्डमा उतारेको थियो र उनले आफ्नो पहिलो खेलमा प्रभावशाली प्रदर्शन गरे । टिमको प्रदर्शनमा प्रशिक्षक बालगोपाल महर्जन भने खुसी रहेनन् । उनले भने, 'अझै अपेक्षाअनुसार राम्रो खेल्न सकेको छैन तर जित र तीन अंक महत्त्वपूर्ण हो ।'

आर्मी ३-३ ब्वाइज युनियन

थ्री-स्टार २-१ जावलाखेल

 

प्रकाशित मिति: २०६६ चैत्र १ ०९:३४

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।