पर्यटकका लागि नयाँ गन्तव्यको खोजी
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र १ - पर्यटन वर्षको राष्ट्रिय संयोजन समिति अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि नयाँ गन्तव्यको मूल्यांकन कार्यमा जुटेको छ । प्रचलित गन्तव्यमा प्रवर्द्धन नगरे पनि पर्यटक पुग्ने भएकाले नयाँको खोजीमा लागेको नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स
(नाटा) का अध्यक्ष तथा समितिका सदस्य अजुर्नप्रसाद शर्माले बताए । 'सम्भाव्य नयाँ गन्तव्यमध्ये प्रवर्द्धनका लागि कुन उचित छ, त्यसबारे खोज्दैछौं,' उनले भने, 'त्यसपछि स्थानीय बासिन्दालगायत व्यवसायीमा पनि सचेतना ल्याउने अभियानमा लाग्नुपर्छ ।'
पुराना र चर्चित गन्तव्यबाहेक विभिन्न जिल्लाबाट पर्यटकीय गन्तव्यबारे समितिलाई जानकारी आइरहेको छ । तर ती स्थानमध्ये न्यूनतम आवश्यक पूर्वाधार भएका क्षेत्र छनोट हुनेछ । त्यस्तै कुनै स्थानमा पूर्वाधार नभएको अवस्थामा सरकारले त्यसको व्यवस्थाका लागि प्रतिबद्धता जनाएपछि छनोट गरिने शर्माले बताए । उनका अनुसार नयाँ गन्तव्यमा विशेष गरी तराई क्षेत्रका धार्मिक र रमणीय स्थलहरू रहेका छन् ।
छानिएका गन्तव्यको प्रवर्द्धनका लागि एसोसिएसनले त्यसको जिम्मेवारी भ्रमण सञ्चालकलाई दिनेछ । 'गन्तव्य भ्रमण सञ्चालक, स्थानीय र पर्यटक तीनै पक्षलाई फाइदा पुग्ने हुनुपर्छ,' उनले थपे, 'पूर्वाधार भए पनि नाफा हुने अवस्था नभई प्याकेजमा राख्नुको औचित्य हुँदैन ।'
पर्यटन वर्ष अनपेक्षित रूपमा घोषणा भएकाले यसका लागि तयारीको अवधि अपुग भएको हो । जसका कारण हालसम्म थोरै मात्र काम हुन सकेको उनले बताए । 'विमानस्थल सुधारदेखि गन्तव्य छनोट लगायत धेरै काम गर्नुछ,' उनले भने, 'सरकारले निर्देशिका मात्र तयार पार्ने हो, अरू सबै जिम्मा निजी क्षेत्रको भएकाले समन्वय गर्दै अघि बढ्न पनि समय लाग्छ ।'
तर शुभारम्भपछि २०११ लाई लक्षित गरी सकारात्मक समाचारहरू प्रवाह भएकाले प्रवर्द्धनमा समस्या नआउने समिति सम्बद्ध सदस्यहरूको भनाइ छ । अघिल्लो साता इटाली र बैंककमा गएको प्रवर्द्धन टोलीका अनुसार राजनीतिक दलको प्रतिबद्धताले मुख्य भूमिका निर्वाह गरेको छ ।
त्यस्तै २०११ को सुरुवातदेखि विभिन्न जिल्लामा पर्यटन वर्ष अभियान गर्ने तयारीमा समिति जुटेको छ । 'क्रस बोर्डर' प्रवर्द्धनका लागि छुट्टै मूल समितिअन्तर्गत अर्को कमिटी पनि बनेको छ । समितिले पर्यटन वर्षका लागि आफ्नोतर्फबाट पूर्ण रूपमा काम गरिरहेको दाबी गरे पनि अन्य पक्ष -पर्यटन व्यवसायीसमेत) ले भने खासै प्रगति नभएको टिप्पणी गरेका छन् । 'तत्काल यी कामको परिणाम देखिँदैन,' शर्माले थपे, '२०११ को कुल पर्यटक आगमनले अहिलेको तयारीलाई पुष्टि गर्नेछ ।'
अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि आक्रमक रूपमा लाग्नुपर्ने अवस्थामा समिति सुस्त रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल -टान) का महासचिव राजेन्द्र बजगाईंले बताए । 'शुभारम्भपछि के गर्ने भनेर पर्यटन सम्बद्ध सबै संघसंस्थालाई एकै ठाउँ राखेर छलफलसमेत भएको छैन,' उनले भने । त्यस्तै पर्यटन वर्षलाई जागरण अभियानका रूपमा मनाउनुपर्ने पर्यटन व्यवसायी ज्योति अधिकारीको भनाइ छ । 'नयाँ गन्तव्य छान्दैमा समय जान्छ,' उनले भने, 'तर दिगो रूपमा प्रभाव पार्नेखाले कामको गन्धसमेत आएको छैन ।' उनका अनुसार गृहकार्य नगरी घोषणा गरिएकाले पनि २०११ को तयारीमा समस्या आएको हो । 'अहिलेको प्रवर्द्धनले संख्या वृद्धि भए पनि बसाइ अवधि थप छोट्टनिे छ ।'
एकमुष्ट कार्यक्रमको तयारी
काठमाडौं -कास)- सन् २०११ लाई नेपाल पर्यटन वर्षका रूपमा सफल बनाउन आवश्यक पूर्वाधार र तयारीका लागि आगामी बजेटमा एकमुष्ट कार्यक्रम बनाउनुपर्ने प्रस्ताव पर्यटन मन्त्रालयले गरेको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको र सम्बन्धित मन्त्रालयहरूमा प्रस्ताव राखिसकेको जानकारी पर्यटन सचिव नगेन्द्रप्रसाद घिमिरेले दिए । 'राष्ट्रिय कार्यक्रम भएको र विभिन्न मन्त्रालयसँग सहकार्य गर्नुपर्ने भएकाले आगामी बजेटमा प्याकेजमै कार्यक्रम छुट्याउनुपर्ने प्रस्ताव गरेका हौं,' पर्यटन वर्षका सम्बन्धमा शुक्रबार 'नलेज' मासिक पत्रिकाले आयोजना गरेको अन्तरक्रियामा घिमिरेले बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठले १० लाख विदेशी पर्यटक भित्र्याउनका लागि परिणाममुखी कार्यक्रम तय गरिने जानकारी दिए । पर्यटन वर्ष राष्ट्रिय कार्यान्वयन समितिका संयोजक योगेन्द्र शाक्यले राजनीतिक दलले उक्त अवधिमा बन्द, हडताल नगर्ने घोषणा गरेर सकारात्मक थालनी गरेको बताए ।
प्रकाशित मिति: २०६६ चैत्र १ ०९:३१
















तपाईंको प्रतिकृया