सेयरमा जोखिम घट्यो
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र १ - सेयर बजार उतारचढावको अनुपात हेर्दा अहिले सेयर खरिद गर्दा लगानी डुब्ने जोखिम गत वर्षभन्दा कम देखिन्छ । १२ महिनाको रोलिङ स्ट्यान्डर्ड डेभिएसन गत पुस मसान्तमा ६६ दशमलव ७ रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्ष सोही अवधिमा उक्त सूचक १ सय २८ दशमलव २ रहेको थियो ।
स्ट्यान्डर्ड डेभिएसनले सेयरबजारको जोखिम मापन गर्छ । यो सूचक जति धेरै भयो त्यति नै बढी जोखिम रहन्छ । पछिल्लो समयमा सेयर बजारमा कम उतारचढाव भएकाले यो कम भएको छ । 'अन्तर्राष्ट्रिय रूपमै स्ट्यान्डर्ड डेभिएसनलाई बजार विश्लेषण गर्न आधार मानिन्छ,' सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले भने ।
स्ट्यान्डर्ड डेभिएसनलाई आधार मानेर जोखिम मापन गरिने भट्टराई बताउँछन् । 'अहिले तथ्यांकलाई हेर्दा जोखिम कम भएको देखिन्छ,' उनले भने, 'जोखिम कम हुँदा सेयर खरिद गर्ने धेरै हुन्छन् ।' लगानी गर्दा यसले धेरै मद्दत गर्ने उनी बताउँछन् । 'छोटो समयमा धेरै फाइदा लिनेहरू स्ट्यान्डर्ड डेभिएसन धेरै भएको सेयरमा लगानी गर्छन्,' उनले भने । तर लामो समयमा लगानी गरेर फाइदा लिनेले भने यो कम भएको बेला लगानी गर्नु उपयुक्त हुन्छ ।
बजार निरन्तर ओरालो वा उकालो लागेपछि भने स्ट्यान्डर्ड डेभिएसन कम हुने बताइन्छ । तर स्वभाविक वृद्धि वा गिरावट नभई छोटो समयमै बजारमा उतारचढाव भए यो धेरै हुन्छ ।
बजार घट्ने क्रममा रहेर अधिकांश कम्पनीको सेयर कम भएको समयमा खरिद गर्न उपयुक्त हुने बताइन्छ । 'अहिले लामो समयका लागि लगानी गर्न उपयुक्त छ,' भट्टराईले भने, 'तर सेयर खरिद गरेर होल्ड गर्न सक्नुपर्छ ।'
अहिले सेयर खरिद गर्ने समय भएको र उपत्यकाबाहिरबाट पनि सेयर कारोबार सुरु भएकाले बजारमा दिगो सुधार हुने विश्वास धितोपत्र दलालहरूको छ । पाँच धितोपत्र दलालले उपत्यका बाहिरबाट काम सुरु गरिसकेका छन् । 'बिस्तारै २३ वटै कम्पनी बाहिर जाँदै छन्,' दलाल संघका अध्यक्ष नन्दकिशोर मुन्दडाले भने । उपत्यकाबाहिर सबैभन्दा धेरै विराटनगरबाट कारोबार हुने गरेको उनी बताउँछन् । 'पोखरा र नारायणगढमा पनि बिस्तारै सुधार हुन्छ होला,' उनले भने ।
सेयर बजारमा खरिद गर्ने समय भए पनि ब्याजदरका कारण लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा रहेको बताइन्छ । 'बैंकले दिने लाभांशभन्दा ब्याजदर बढी भएपछि लगानीकर्ताले खुलेर लगानी गर्न सकेका छैनन्,' मुन्दडाले भने ।
पछिल्लो समयमा सेयर संख्याको वृद्धि धेरै भएको र सेयर बजारको कारोबार क्षेत्र बढ्न नसकेकाले नकारात्मक असर भएको बताइँदै आएको थियो । २०६६ पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएका कम्पनीहरूको संख्या १ सय ६५ पुगेको छ । २०६५ पुस मसान्तमा यो संख्या १ सय ४९ थियो । अर्थिक वर्षको पहिलो सात महिनामा ७६ करोड २९ लाख सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका छन् ।
पुस मसान्तसम्ममा ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँ बराबरको साधारण सेयर, २ अर्ब १७ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर, ३ अर्ब ७७ करोड ४६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर र ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको सरकारी ऋणपत्र गरी कुल १५ अर्ब ३ करोड २१ लाख रुपैयाँको थप धितोपत्र सूचीकृत छ ।
सेयर बजारमा वित्तीय संख्याकै आधिपत्य छ । बिमा कम्पनीसहित सेयर बजारमा सूचीकृत वित्तीय संस्थाको संख्या १ सय ३३ छ । यसबाहेक १८ उत्पादन र प्रशोधन उद्योग, ४ होटल, ४ व्यापारिक संस्था, ४ जलविद्युत् कम्पनी र २ कम्पनी अन्य समूहमा छन् ।
प्रकाशित मिति: २०६६ चैत्र १ ०९:२८
















तपाईंको प्रतिकृया