सीबी र रमेशलाई अग्रता
काठमाडौ, फाल्गुन ५ - दोस्रो दिन मंगलबार तीन स्थान फडको मार्दै सीबी भण्डारी एनपीजीए प्रेसिडेन्ट्स कप गल्फमा रमेश नगरकोटीसँगै शीर्षस्थानमा उक्लिएका छन् ।
अघिल्लो दिन चौथो स्थानमा रहेका सीबीले पार ६७ को रोयल नेपाल गल्फ कोर्समा इभन पार खेले । पहिलो दिनका लिडर रमेशले २ ओभर ६९ स्कोर गरे । समग्रमा दुवै गल्फर २ ओभर १ सय ३६ को स्थितिमा छन् । पार ४ को पहिलो होलमा डबल बोगीबाट दुवैले खेल सुरु गरेका थिए ।
रमेशले ११ र १४ औं बोगी खेल्दै १३ र १८ औंमा बर्डी प्रहार गरे । ४, ८, १७ र १८ औं होलमा बर्डी आत्मसात् गरेका सीबी ७ र नवौंमा बोगीमा परेका थिए । 'पटिङ र चिपिङ राम्रो गरे', उनले भने, 'अन्तिम दिन यही प्रदर्शन दोहोर्याउने प्रयास गर्नेछु ।' इभन पार खेल्न सके व्यावसायिक करिअरको पहिलो उपाधि जित्नेमा उनी ढुक्क छन् । तीन वर्षअघि प्रो टर्न भएका उनी पहिलोपल्ट फाइनल ग्रुपमा बुधबार खेल्दैछन् ।
'दोस्रो दिन संघर्षमय रह्यो', ४० वर्षे रमेशले भने, 'ड्राइभ राम्रो गर्न सकिनँ । पटिङ ठीकै रह्यो ।' अनुभवी गल्फर लामो समयपछि उपाधि जित्ने मौकामा नचुक्ने दाउमा छन् । सन् २००२ मा वेस्टर्न ओपन जितेयता उपाधिविहीन उनी अन्तिम दिनका लागि निक्कै उत्साहित छन् । राम्रो खेलेर जित्ने प्रयास गर्ने उनले बताए ।
रमेश र सीबीभन्दा २ स्ट्रोकपछि रहेका राजन थापा एक बर्डी प्रहार गरेर ३ बोगी खेले । समग्रमा ५ ओभर १ सय ३९ मा दीपक न्यौपाने चौथो स्थानमा छन् । उनले मंगलबार ३ ओभर खेले । ३-३ बर्डी र बोगी प्रहार गर्दै इभन पार खेलेका रवि खडकाले ५ स्थान फडको मारे । कृष्णहरि मिजारसँगै उनी कुल ७ ओभर खेल्दै संयुक्त पाँचौंमा रहे ।
दुई ओभर ६९ स्कोर गर्दै दीपक थापामगर ४ स्थान उक्लँदै कुल ९ ओभरको स्थितिमा छैटौंमा रहे । दस ओभरमा रूपक आचार्य, १२ ओभरमा राम थापा, १३ ओभरमा पशुपति शर्मा, सचिन भट्टराई र धन थापा शीर्ष दसमा छन् ।
तीनदिने प्रतियोगितामा ३६ होलको समाप्तिपछि २५ ओभरसम्मका १८ व्यावसायिक गल्फर अन्तिम दिनका लागि छनोट भए । सुमन सापकोटा, थामबहादुर राई, जयराम श्रेष्ठ र गोपाल नगरकोटीले भने कट मिस गरे । एमेच्योरतर्फ अघिल्ला ६ स्थानमा रहेकाले पनि अन्तिम दिन अवसर पाउनेछन् ।
प्रकाशित मिति: २०६६ फाल्गुन ५ १०:२५

















तपाईंको प्रतिकृया